चमेलिया बाँधले भत्कायो सडक

बिटुले बजार नजिकै ड्यामसाइटमा सडक भाँसिएको दुई साता नाघ्यो ।
मनोज बडू

दार्चुला — शैल्यशिखर नगरपालिका–१ बलाचस्थित चमेलिया जलविद्युत आयोजनाको ड्याम साइटमा सडक भत्किन थालेको छ । चमेलियाको ड्याममा पानीको सतह बढेसंगै आसपास क्षेत्रमा पहिरो खस्न थालेको हो । पहिरोले बनेका संरचना भत्किन थालेको स्थानीयले बताएका छन् ।

चमेलिया बाँधले भत्कायो सडक

ड्यामकै कारण बिटुले–पारिबगड सडक खण्ड दुई सातादेखि अवरुद्ध छ । सडक खण्डको चमेलिया जलविद्युत आयोजनाको ड्याम साइट नजिकै ठुलो पहिरो खस्दा सडक अवरुद्ध भएको लटिनाथका स्थानीय दिनेशबहादुर सिंहले बताए । गत वर्ष निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको ड्याम साइटतिर सडक लगायतका संरचनाहरू भत्किन थालेका हुन् ।


मार्मा गाउँपालिका–३ बिटुले बजार नजिकै ड्यामसाइटमा सडक भाँसिएको दुई साता नाघ्यो । ‘सडक अवरुद्ध भएको झण्डै दुई हप्ताभन्दा बढी भयो’ सिंहले भने, ‘सडक सुचारु गर्न कसैले चासो देखाएको छैन् ।’ सडक सुचारु गर्न कडा चट्टान भएकाले खसेको पहिरो हटाउन ठूलो चुनौती रहेको स्थानीय बासिन्दाहरू बताउँछन् । ‘सडक पुरै भासिएको छ, सडक विस्तार गर्नलाई कडा चट्टान तोड्नुको विकल्प छैन्’ उनले भने । यस्त,ै ड्याममा पानी जम्मा गरेपछि डुबानमा परेको बिटुले–पारिबगड सडक खण्डको विटुले क्षेत्रमा तारजाली लगाएर सडक माथि उठाइएको क्षेत्रमासमेत सडक भाँसिएको छ ।

आयोजनाकै लागतमा ठेकेदार मार्फत तारजाली लगाएर सडक माथि उठाइएको स्थानमा सडकको पर्खालसमेत पछिल्लो समय धस्सिएर सवारी साधनहरू सञ्चालन गर्न असहज भएको गाडी चालकहरूले बताएका छन् । ड्यामसाईटमा भत्किन थालेपछि यहाँका स्थानीय त्रसित हुन थालेका छन् । आयोजनास्थल रहेको चमेलिया जलविद्युत आयोजनाको विद्युत् प्रयोग गर्न नपाएका स्थानीय दोहोरो तनावमा छन् । ‘एकातिर उनीहरूले बिजुली बाल्न पाएका छैनन्, अर्कोतिर त्यही आयोजनाका कारण बाढीको त्रास छ’ स्थानीय बिरे बिष्टले भने ।


ड्याम छेउमै बिटुले बजार र नदीको वारिपारि दुवैतर्फ बस्ती छ’ विष्टले भने, ‘ड्यामका कारण संरचना भत्किन र पहिरो खस्दा बढेको जोखिमले चिन्तित बनाएको छ ।’ नदीले किनारका खेतवारी कटान गरेको छ । ड्यामको सतह बढ्दा पानीको बहावले जमिन कटान गर्ने त्रास स्थानीयमा बढ्दै गएको सिंह बताउँछन् । ड्याम साइटको किनार कमजोर खालको भएकाले पनि कटान गर्ने डर थपिएको बिष्ट बताउँछन् । प्रदेशकै ठूलो जलविद्युत् आयोजनाबाट उत्पादन गरेको विद्युत् दार्चुलाबासीले प्रयोग गर्न पाएका छैनन् । आयोजनाको उद्घाटन गर्ने बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावित क्षेत्रमा तत्काल विद्युतीकरण गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । तर, स्थानीयलाई सरकारले विद्युतको सट्टा बाढीको त्रास दिएकोमा बिष्टले आक्रोस पोखे ।


तत्कालीन समयमा एक महिनाभित्र स्थानीयस्तरमा विद्युत् विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन गरेपनि काम भने भएन् । नेतृत्वको कमजोरीका स्थानीयले जिल्लामै उत्पादन भएको विद्युतसमेत प्रयोग गर्नबाट बञ्चित हुनुपरेको शैल्यशिखर–२ का स्थानीय विक्रम पाल बताउँछन् ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?