कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतमा साहुले खोसे कामदारका नागरिकता

रोजगारदाताले कामदारको सक्कली नागरिकता आफूसँगै राख्छन् ।
नागरिकताको प्रतिलिपि लिनेको संख्या बढ्यो
बझाङबाट हरेक वर्ष २० हजारभन्दा बढी युवा रोजगारीका लागि भारत जाने गरेका छन् ।
वसन्तप्रताप सिंह

बझाङ — जयपृथ्वी नगरपालिका–१ कैलाशका गोपाल बिस्ट दुई बर्षअघि रोजगारीको लागि भारतको बैंगलोर पुगे । उनले त्यहाँ एक ब्यापारीको घरमा चौकीदारको काम पाए । काम दिनुभन्दा पहिला साहुले उनको सक्कल नागरिकता मागे ।

भारतमा साहुले खोसे कामदारका नागरिकता

काम सुरु गरेको ३ महिनामै साहुको घरमा चोरी भयो । घरमा चोरी हुँदा सुरक्षा दिन नसकेको भनेर उनलाई दुई महिनाको तलब नदिएर हटाइयो । गोपालले नागरिकता फिर्ता मागे । घटनाको अनुसन्धान हुँदै गरेकोले चोर पक्राउ नपरेसम्म नागरिकता फिर्ता पाउदैंनौ भनेर उनलाई हप्काइयो ।


भारतको नियम कानुनबारे केही थाहा नपाएका उनले २ महिनासम्म आफन्तको डेरामा बसेर अरु जागिरको खोजी गरे । तर नागरिकता फिर्ता पाएनन् । ‘जागिर त थुप्रै पाइन्थ्यो, जहाँ पनि पहिले नै सक्कल नागरिकता बुझाउनु पर्ने रहेछ’ उनले भने, ‘सक्कल नागरिकता त पहिलेकै साहुले कब्जा गरेको थियो ।’ नागरिकता नभई काम नपाइने भएपछि उनी आफन्तबाट ऋण काढेर घर फर्किए ।


सात हजार ऋण काढेर भारत गएका उनलाई घरबाट भारत जाने बेलादेखि बैंगलोरमा चार महिना बेरोजगार बस्दा र घर फर्किंदासम्म ३४ हजार ऋण लागिसकेको थियो । त्यत्रो रकम तिर्न फेरी भारत जानु बाहेक उनिसंग विकल्प थिएन् । घर आएको केही दिनमै नागरिकताको प्रतिलिपि बनाएर बिष्ट फेरी बैंगलोर हिँडे । यसपाला पनि ७ हजार ऋण थपियो ।


अर्काे पटक उनले बैंगलोर कै मलेश्वरम भन्ने ठाउँमा रहेको टुर म्यान सेक्युरिटीमा सुरक्षा गार्डको काम पाए । उनीसंगै उनकै गाउँका सागर शाही, झरेन्द्र सिंह र दिपक खड्का पनि थिए । पहिलको व्यक्तिको घरमा काम गर्दा धोका पाएका गोपाल यो पाला भने ढुक्क थिए । किनभने कम्पनीको जागिर थियो । आफुभन्दा पहिला भारत आइसकेका गाउँकै साथीहरू
पनि सँगै थिए ।


फेरी पनि उनी धोकामा परे । कम्पनीले ३ महिनासम्म तलब दिएन् । तलब आउने आशामा आफन्तको ऋणको भरमा ३ महिना गुजारा चलाएका गोपाल र उनका साथीहरूले यो जागिर छोड्ने निर्णय गरे । ‘तलब माग्दामाग्दा हामी थाकिसकेका थियौं । जहिले पनि हेड अफिसबाट निकासा भएको छैन भन्ने जवाफ आउथ्यो’ उनीसंगै जागिर छोडेका सागर शाहीले भन,े ‘हामी ऋणले डुबिसकेका थियौं । क्रृण दिने आफन्तहरू पनि तर्किन थालिसकेका थिए ।’


त्यो काम छोडेर अर्काे काम गर्ने सोचमा जागिर छोड्ने निर्णय गरेका उनीहरू त्यसबेला छाँगाबाट खसेजस्तै भए, जब मेनेजरले उनीहरूको नागरिकता फिर्ता दिन मानेन । ‘क्रृणले थिचिसकेको थियो । नागरिकता फिर्ता देउ भनेर मेनेजरको अगाडी रोएँ’ गोपालले भने, ‘तिमीहरूको सक्कल नागरिकता हेड अफिस मुम्बईमा छ । त्यहाँबाट आउन समय लाग्छ भन्यो ।’


नागरिकता आउने आशमा झण्डै एक महिना जति कम्पनीको कार्यालय धाएका उनले नागरिकता फिर्ता पाएनन् । बरु १० महिनाको अवधीमा एक लाखभन्दा बढी ऋण बोकेर आफै घर फिर्ता भए । भारतमा काम गरेर लागेको ऋण तिर्ने र श्रीमती छोराछोरीको एकसरो लुगा फेर्ने उनको चाहाना पुरा भएन । तर पनि उनी थाकेका छैनन् ।


जिल्ला प्रशासन कार्यालयमा नागरिकताको तेस्रो प्रतिलिपी बनाउँदै गर्दा भेटिएका उनले गाउँमा रोजगारीको कुनै पनि माध्यम नभएका कारण ऋण तिर्न फेरी भारत जानुको विकल्प नभएको बताए । उनले भन,े ‘एउटा खेत बेचेर आधा जति ऋण तिरिसके । बाँकी क्रृण तिर्ने उपाय केही छैन ।’


यसरी नागरिकता लुटाउदै क्रृणको भारी बोकेर फर्किने गोपाल र उनका साथीहरू प्रतिनिधी युवा मात्र हुन् । बझाङबाट भारत जाने अधिकांश युवाहरू घर फर्किदा नागरिकताको प्रमाणपत्रविहीन हुुनु परेको धेरैको भनाई छ । जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेहरूको लाममा पनि अधिकांश भारतबाटै फर्केका र नागरिकताको उतै लुटिएकाहरू नै भेटिन्छन् । कसैकसैले त ७/८ पटकसम्म प्रतिलिपि लिने गरेको नागरिकता फाँटका कर्मचारीहरू बताउँछन् ।


हुन पनि जिल्लाबाट वितरण हुने नागरिकताको झण्डै आधा जसो प्रतिलिपी मात्र वितरण भएको जिल्ला प्रशासन कार्यालयको रेर्कडमा छ । ०७४ बैशाखदेखि चैतसम्म बझाङको जिल्ला प्रशासन कार्यालयबाट ५ हजार १ सय ६६ नयाँ नागरिकता जारी भएका थिए । जसमध्ये १ हजार ७ सय ८२ वटा नागरिकताको प्रतिलिपी मात्र वितरण गरिएका थिए ।


‘प्रतिलिपी लिनेमा धेरैजसो भारतबाट फर्किएकाहरू नै हुन्छन्’ प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले भने, ‘भारत मात्र हैन तेस्रो मुलक जानेहरू पनि म्यानपावर कम्पनी र काम गरेको कम्पनीले डकुमेन्ट गायब पार्दियो भन्दै प्रतिलिपी लिन आउने गर्छन् ।’ प्रजिअ कुँवरले यो समस्याका कारणले धेरै मानिसहरूले दुख पाएको बताउँदै यस्ता समस्या समाधान गर्नका लागि केन्द्रिय स्तरबाट पहल हुनुपर्ने औल्याए । उनले भने, ‘यो दुई देश बीचको मामला भएका कारण उच्च स्तरमै छलफल भयो भने मात्र केही होला । हामीले त आएकालाई प्रतिलिपी मात्र दिन सक्छौ ।’


बझाङबाट हरेक बर्ष २० हजारभन्दा बढी युवा रोजगारीको लागि भारत जाने गरेका छन् । उनीहरूमध्ये धेरैजसो भारत जाने क्रममा सीमा क्षेत्र, बस तथा रेल स्टेसन लगायतका विभिन्न ठाउँमा आफुमाथि भारतीय प्रहरीबाटै दुब्र्यवहार हुने गरेको बताउँछन् । कतिपयले महिनौ रोजगारी गरेर ल्याएको रकम फर्कदा बाटो मै लुटिने गरेको बताउँछन् ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?