कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहिल्यै बाढीको त्रास

‘बयलबन्दको बाँध निकै जीर्ण भइसक्यो,’ महाकाली नगरपालिका १ का वडाध्यक्ष अर्जुनदत्त भट्टले भने, ‘निर्माण भएदेखि यसको मर्मत पनि भएको छैन ।’
भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीको बाढीले बयलबन्दको बाँध कटान गर्न थालेपछि स्थानीय परमानन्द भट्टलाई रातभरि निद्रा लागेको छैन । उनी ५ वर्षअघि बाढीले दिएको दु:ख सम्झेर चिन्तित छन् । फेरि पुरानै दिन फर्किने हुन् कि भन्ने चिन्ताले पिरोलिए ।

जहिल्यै बाढीको त्रास

महाकालीमा बाढी आउनेबित्तिकै धेरैलाई यस्तै चिन्ताले सताउँछ । यसपालि बाँध नै कटान हुन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । २०२८ मा बैतडीको पुर्चाैडी क्षेत्रबाट बसाइँ सरेर आएका भट्ट तटबन्ध निर्माण हुनुअघिको अवस्था अझै बिर्सेका छैनन् । वर्षायाम सुरु हुनेबित्तिकै बाढी बस्तीमा पसेर अग्लो ठाउँ र रूखमा चढेर ज्यान जोगाउनुपथ्र्याे । यो पीडा बिर्सिनै लाग्दा ०७० को बाढीले फेरि उस्तै वितण्डा मचायो ।

‘०७० को बाढी पनि यही ठाउँबाट बस्तीमा पसेको हो,’ भट्टले भने, ‘त्यतिबेला खेतमा भरिएकोबालुवा अझै हटाउन सकेका छैनौं ।’ ०७० मा आएको महाकालीको भीषण बाढीले बयलबन्दको बाँध नेपाल–भारत सीमाको जिरो प्वाइन्ट नजिक भत्काएर बस्तीमा पसेको हो ।

त्यति बेलाको बाढीले तत्कालीन चाँदनी र दोधारा गाविसको अधिकांश भाग प्रभावित भएको थियो । सीमावर्ती भारतीय क्षेत्रमा समेत बाढी पसेको स्थानीय बताउँछन् । बयलबन्दबाट बस्तीमा पसेको बाढी मलेरिया नाला हुँदै महाकाली नगरपालिकाका अधिकांश वडाहरूमा क्षति पुर्‍याएको भट्टले बताए । ‘अहिले पनि यहाँबाट बाढी भित्र पस्यो भने नगरपालिकाका अधिकांश वडा प्रभावित हुन्छन्,’ उनले भने, ‘बाढी आउने बित्तिकै यही चिन्ताले सताउँछ ।’

दोधारा चाँदनी (महाकाली नगरपालिका) बयलबन्दको तटबन्ध निर्माण हुनुअघिसम्म बर्सेनि बाढीले सताउँथ्यो । ०४८ मा जाइकाले तटबन्ध निर्माण गरेपछि केही नियन्त्रण भएको हो । त्यसपछि यहाँ बाढीको समस्या केही कम भएको थियो । तर अहिले उक्त तटबन्ध जीर्ण भइसकेकाले फेरि स्थानीय त्रसित बनेका छन् । जीर्ण भएकै कारण सामान्य बाढीले समेत कटान गर्न थालेको स्थानीय बताउँछन् ।

‘बयलबन्दको बाँध निकै जीर्ण भइसक्यो,’ महाकाली नगरपालिका १ का वडाध्यक्ष अर्जुनदत्त भट्टले भने, ‘निर्माण भएदेखि यसको मर्मत पनि भएको छैन ।’ उनका अनुसार ५ वर्षअघि बाढीले भत्काएको ठाउँमा पुनर्निर्माण भए पनि त्यो दिगो हुन नसक्दा फेरि सोही ठाउँमा समस्या आएको हो ।

पछिल्लो पटक महाकालीमा आएको बाढीले कटान गरेको ठाउँमा स्थानीय र सुरक्षाकर्मी मिलेर नियन्त्रणका लागि जालीमा ढुंगा भरान गरिए पनि भरपर्दो नभएको उनले बताए । ‘अहिले त तटबन्ध जीर्ण भएर एक/डेढ लाख क्युसेक बहाव पनि धान्न नसक्ने अवस्था आएको छ,’ अध्यक्ष भट्टले भने, ‘५ वर्षअघि साढे चार लाख क्युसेक पुगेको थियो ।’ उनका अनुसार वडा नं. ४ चाँदनीबजार क्षेत्रबाहेक अन्त कतै पनि तटबन्ध मर्मत भएको छैन । अधिकांश ठाउँमा जीर्ण भएकाले जोखिम रहेको उनले बताए । ५ वर्षअघि पुनर्निर्माण भएको तटबन्ध पनि अहिले कटान हुन थालेको छ ।

गतवर्ष सम्पन्न तीन तहका निर्वाचनमा यहाँका स्थानीयको पहिलो मुद्दा नै महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण हुनुपर्ने थियो । उम्मेदवारहरूले पनि यसैलाई आफ्नो घोषणापत्र र चुनावी प्रचारको मुख्य एजेन्डा बनाएका थिए । ‘यहाँ ढुक्कसँग बस्न सक्ने वातावरण बनाउन दुवै नदीमा पक्की तटबन्ध निर्माण गरिनुपर्छ,’ चाँदनीका स्थानीय मोहन चन्दले भने, ‘कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाएर काम सुरु गरिनुपर्छ ।’

महाकाली र जोगबुढा नदी किनारका बासिन्दा बर्सेनि बाढी र डुबानको समस्या खेप्दै आएका छन् । दुवै नदीमा पक्की तटबन्ध निर्माण भए कटान र डुबानको समस्या कम हुने यहाँका स्थानीयको समस्या छ । शनिबारदेखि सोमबारसम्म परेको अविरल वर्षाका कारण महाकालीमा आएको बाढीले जोगबुढा र अन्य साना नदीनालाको बहाव रोकिँदा नदी किनारका आधा दर्जन बस्ती डुबानमा परे । ३० परिवार विस्थापित भए । उनीहरू डुबान कम भएपछि दोस्रो दिन घर फर्किए ।

‘यहाँ जहिल्यै बर्खामा बाढीको समस्याले सताउँछ,’ महाकाली नगरपालिका–७ का वडाध्यक्ष ज्ञानेन्द्र क्षत्रीले भने, ‘यसको समाधानका लागि छिट्टै काम गरिनुपर्छ ।’ उसो त गत वर्षदेखि जोगबुढामा तटबन्ध निर्माणको काम सुरु भएको छ । तर कच्ची भएकाले त्यो पनि दिगो नहुने स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?