स्वास्थ्य बिमामा छ हजार आवद्ध

रासस

बैतडी — सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका छन् । 

स्वास्थ्य बिमामा छ हजार आवद्ध

जिल्लामा एक हजार १ सय ७९ परिवारका पाँच हजार ८ सय ६१ जना स्वास्थ्य बिमामा आवद्ध भएको स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी बिष्णु जोशीले जानकारी दिए । हालसम्म यस कार्यक्रमबाट रु ३४ लाख २९ हजार २९० रकम सङ्कलन भएको उनले बताए ।


अघिल्लो आर्थिक वर्षमा ६ सय ४३ परिवारले बिमा गरेकामा १ सय ७५ परिवारले मात्रै नवीकरण गरेका छन् । जिल्लामा ०७३ पुस ७ देखि यो कार्यक्रम सुरु भएको हो ।

उपचारक्रममा भोग्नुपर्ने कठिनाइ, जनचेतनाको कमी, भौगोलिक विकटता, स्वास्थ्य सेवा अभावलगायतका कारणले सोचेअनुरुपको काम हुन नसकेको उक्त बोर्डले जनाएको छ । जिल्लामा ८४ दर्ता सहयोगी परिचालित छन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत् स्वास्थ्य बिमा गराउन सकिन्छ ।


पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार दुई हजार ५ सय तिर्नुपर्ने र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य ४ सय २५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आवद्ध हुन सक्नेछन् । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी भएमा एक लाखसम्मको सेवा पाइने प्रावधान छ ।


कार्यक्रमबाट बिमाकर्ताले बहिरङ्ग, प्रसुति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका लगाउने, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा पैसाको अभावमा उपचार नपाउने गरीब, विपन्न नागरिकका लागि सरकारले विसं २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बिमा सुरु गरेको हो ।

प्रकाशित : श्रावण ३१, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?