कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पुरातात्त्विक मन्दिर सिमेन्टमा परिणत

मन्दिर चारैतिर सिमेन्टको प्रयोग गरी डेढ दर्जन संरचना निर्माण
डीआर पन्त

डडेलधुरा — यहाँको कलात्मक उग्रतारा मन्दिर क्षेत्र बिस्तारै सिमेन्ट र कंक्रिटमा परिणत हुन थालेको छ । उग्रतारा मन्दिर पौराणिक तथा प्रमुख शक्तिपीठ मध्ये प्रदेश ७ मा रहेको प्रमुख धार्मिक तथा पर्यटन केन्द्र हो ।

पुरातात्त्विक मन्दिर सिमेन्टमा परिणत

०३४ मा विश्व सम्पदा सूचिमा सूचिकृत उग्रतारा मन्दिर ढुंगैढुंगाले कुँदेर कलात्मक शैलीमा निर्माण भएको थियो । ०५० सालतिर पुर्ननिर्माणका नाममा प्राचिन मन्दिरको स्वरुप पुरै फेरेर सिमेन्टको प्रयोग गरी नयाँ मन्दिर निर्माण भयो । लगत्तै मन्दिरको प्राचिन शैली र मौलिकता विगारिएका कारण युनेस्कोले ०५४ सालमा उग्रतारा मन्दिरलाई सम्पदा सूचीबाट हटाएको थियो ।

पुराणहरूमा समेत उल्लिखित उग्रतारा मन्दिर डोटी राज्यका तत्कालीन राजा नागी मल्लले एक हजार वर्षअघि निर्माण गरेको विभिन्न डोटेली लोककाव्यमा उल्लेख गरिएको छ । इतिहासकार योगी नरहरि नाथले सुदूरपश्चिम दिग्दर्शनमा उग्रतारा मन्दिर १३ सय वर्ष पुरानो भएको उल्लेख थिए तर ०५० सालमा पुनर्निर्माण हुनुअघिको प्राचीन मन्दिर कहिले निर्माण भयो भन्ने यकिन तथ्य भने भेटिँदैन ।

तत्कालीन मन्दिर निर्माण समितिलाई पुरातत्त्व विभागले कारबाही सिफारिससमेत गरेको थियो । त्यस बेलाको मन्दिर निर्माण समितिका अध्यक्ष दीर्घराज भट्टको मृत्युसमेत भइसकेको छ । विश्व सम्पदा सूचीबाट हटाएपछि पनि त्यसबारे कसैले चासो राखेनन् । मन्दिरको ऐतिहासिक स्वरूप बिगार्ने क्रम चलिरह्यो । त्यो सँगसँगै मन्दिरको चारैतिर सिमेन्टको प्रयोग गर्दै थुप्रै भवन निर्माण भइसकेका छन् ।

प्राचीन मन्दिरको भित्री भाग स्थानीय भाषामा (गाथ) को माथि तामाको छानो भएको र चारैतिर कलात्मक ढुंगाले कुँदिएको मन्दिरको अहिले कुनै अवशेषसमेत बाँकी छैन । मन्दिरसँग जोडिएको हवनकुण्ड पनि कलात्मक पलेटा ढुंगाले कुँदेर निर्माण गरिएको थियो । ‘एक हजार वर्षभन्दा पुरानो प्राचीन मन्दिरलाई सिमेन्टको प्रयोग गरी आधुनिक बनाइएपछि विश्व सम्पदा सूचीबाट हटाइएको हो,’ उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले भने । यसअघि ०३८ सालमा जीर्ण भएको मन्दिरलाई तत्कालीन राजा वीरेन्द्रको आदेशमा पुरातत्त्व विभागको रेखदेखमा मन्दिरको जीर्णोद्धार गरिएको थियो ।

‘मन्दिरलाई विश्व सम्पदा सूचीबाट हटाएपछि पनि यस विषयमा कसैले सोधखोज नै गरेन,’ अध्यक्ष साँकीले भने, ‘सम्पदा सूचीबाट हटाएको १३ वर्षपछि म अध्यक्ष भएको हुँ ।’ आफू अध्यक्ष भएपछि पुरातत्त्व विभागका अधिकारी मन्दिर क्षेत्रमा पुगेको बताउँदै उनले भने, ‘त्यसपछि यस विषयमा कसैले सोधखोज नै नगरेका कारण हामीले आवश्यकताअनुसार मन्दिर क्षेत्रमा संरचना बनाउन थालेका हौं ।’

पछिल्लो समय मन्दिरका चारैतिर सिमेन्टको प्रयोग गरी डेढ दर्जन संरचना निर्माण भएका छन् । २ वटा धर्मशाला, वेद विद्यालय, विवाहमण्डप, प्रवचन भवन, भजनकीर्तन हललगायत संरचनाले मन्दिरलाई अत्याधुनिक बनाइदिएको छ ।

मन्दिरको मुख्य भागसम्म जाने सिमेन्ट प्रयोग गरी बनाएको सडक र सडकका दुवैतिर ऋषिमुनीहरूका मूर्तिले मन्दिर क्षेत्रलाई आर्कषक बनाए पनि प्राचीन मौलिकता भने कतै बाँकी देखिँदैन । ‘उग्रतारा मन्दिर क्षेत्र पुरै आधुनिक भइसक्यो,’ स्थानीय समाजसेवी भोजराज भट्टराईले भने, ‘प्राचीन शैलीको झलकसमेत मन्दिर क्षेत्रमा बाँकी रहेन ।’

प्रकाशित : भाद्र १, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?