वेद विद्याश्रममा विद्यार्थी बढ्दै

अछाम — नेपालका ४ धाममध्येको एक अछामको बैजनाथ धाममा सञ्चालित वेद विद्याश्रममा विद्यार्थी संख्या बढ्न थालेको छ । यस विद्याश्रममा हाल ३७ जना विद्यार्थी अध्ययनरत छन् ।

वेद विद्याश्रममा विद्यार्थी बढ्दै

विद्याश्रममा यसअघि अछामको साबिकको ७ गाविसका १४ विद्यार्थी थिए । अहिले अछामबाहेक बझाङबाट ५, बाजुराका ४ र कालिकोटबाट ३ जना विद्यार्थी विद्याश्रममा अध्ययनरत रहेका शिक्षक भोजराज भण्डारीले बताए । यहाँ ६ देखि ८ कक्षासम्मको पढाइ हुन्छ । संस्कृत पढाइ हुने यस शिक्षालयमा ६ कक्षामा १८, कक्षा ७ मा ८ जना र ८ कक्षामा ८ जना विद्यार्थी अध्ययनरत छन् ।

द्वन्द्वकालीन समयमा जिल्लाका धेरै संरचना ध्वस्त भए पनि यहाँ भने कुनै असर परेको थिएन । साबिकको एउटा गाविसबाट २ हजार सहयोग मागेर विद्याश्रम सञ्चालन गरिंदै आएको बैजनाथ विकास संस्थाका संस्थापक अध्यक्ष नरबहादुर कँुवरले बताए । विद्याश्रममा ५ जना गुरुले पढाउने गरेका छन् । ‘संस्कृतले आचरण, व्यवहार, अनुशासन, संस्कार सिकाउँछ । त्यसैले पनि विद्यार्थी आउने क्रम बढिरहेको छ,’ शिक्षक भण्डारीले भने ।

आठ कक्षा माथि अध्ययन गर्न अन्य विद्यालयमा जानुपर्ने भएकाले यहाँ पढेका विद्यार्थीहरूलाई अन्यत्रको वातावरणमा घुलमिल हुन कठिनाइ हुने गरेको शिक्षकहरूले बताए । सामुदायिक विद्यालयका नेपाली, अंग्रेजी, गणित र सामाजिक पाठ्यपुस्तकसँगै अन्य चार वटा वेद, व्याकरण, संस्कृतलगायत आठ वटा विषयमा अध्यापन हुने गरेको विद्याश्रमका प्रधानाध्यापक देवराज उपाध्याले बताए । निमावि तहसम्म पढाइ हुने यो विद्याश्रम प्रदेश ७ को एउटा मात्रै शिक्षालय हो ।

विद्याश्रममा अझै पनि ब्राह्मणका छोराबाहेक अन्यलाई भर्ना गरिंदैन । क्षेत्री, दलित र ब्राह्मण समुदायका छोरीले विद्याश्रममा पढ्न पाएका छैनन् । विद्याश्रममा धार्मिक विषयको जानकारी दिइने र छोरी महिनावारी हुँदा ‘अशुद्ध मानिने’ भएकाले छात्रालाई भर्ना नगरिएको स्थानीयको भनाइ छ । हिन्दु धर्मको जगेर्ना गर्ने उद्देश्यले ०५५ सालमा यो विद्याश्रम स्थापना गरिएको थियो ।

प्रकाशित : भाद्र ३, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?