भित्रिए अवैध कुखुरा

दैनिक ६० क्विन्टल कुखुरा चोरीपैठारी

धनगढी — सशस्त्र प्रहरी बलको त्रिनगरस्थित बोर्डर आउट पोस्ट टोलीले आइतबार बिहान भारतीय बजारबाट धनगढी ल्याउँदै गरेको एक मोटरसाइकलसहित एक क्विन्टल कुखुरा जफत गर्‍यो ।

भित्रिए अवैध कुखुरा

दैनिकजसो अवैध कुखुरा बरामद गरिरहेको सशस्त्रको टोलीले शनिबार बिहान पनि दुईवटा मोटरसाइकलसहित डेढ क्विन्टल कुखुरा बरामद गरेको थियो । सशस्त्रले दैनिक कुखुरा बरामद गरे पनि भारतीय बजारबाट अवैध रूपमा दैनिक ६० क्विन्टल कुखुरा यहाँको बजारमा चोरी पैठारी बढेर व्यवसाय चौपट हुन थालेपछि स्थानीय कुखुरा व्यवसायी निराश छन् ।

धनगढीलगायत बजार क्षेत्रमा कुखुराको ठूलो खपत छ । पोल्ट्री तथा माछामासु व्यवसायी संघका अनुसार कैलालीमा दैनिक ५ सय क्विन्टल कखुराको खपत छ । त्योमध्ये आधा बढी कैलाली कञ्चनपुरमै खपत हुन्छ । ‘प्रदेश ७ को बजारमा एक हप्तामा ४ लाख किलो कुखुरा खपत हुन्छ,’ फारवेस्ट पोल्टी फर्मका व्यवसायी विक्रम सिंहले भने, ‘चोरीपैठारीको कुखुराका कारण यहाँका किसान तथा व्यवसायी धरापमा छन् ।’ जिउँदै र काटेर प्याक गरेर पनि यहाँको बजारमा भारतीय कुखुरा आउने गरेको सिंहले बताए ।

फराकिलो खपत बजार भएकाले यो व्यवसायमा लगानीकर्ताको संख्या बढ्दै गएको छ । संघका अनुसार कैलालीमा मात्र १५ सय बढी कुखुरा उत्पादन फार्म छन् । संघका सचिव विश्व जंगबहादुर सिंह भन्छन्, ‘कुखुरा उत्पादनका क्षेत्रमा ५ अर्ब हाराहारीको लगानी छ ।’ व्यवसायीहरूका अनुसार २ अर्ब लगानीमा ४ वटा दाना उद्योग छन् । ६ वटा चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग सञ्चालनमा छन् ।

यति ठूलो बजार रहेको कुखुरा व्यवसायमा भारतीय बजारबाट चोरीपैठारी भई आउने कुखुरा स्थानीय किसानहरूका लागि मुख्य समस्या भएको छ । ‘भारतको हरियाणादेखि सिधै गाडी लोड भएर त्यहाँका कुखुरा यहाँ आइपुग्छन्,’ फारवेस्ट पोल्ट्री सप्लायर्सका विक्रम सिंहले भने ‘दैनिक ६० क्विन्टल भारतीय कुखुरा यहाँको बजारमा चोरीपैठारी भएर आउँछन् ।’

यहाँ उत्पादित कुखुराको बिक्री मूल्यभन्दा भारतीय बजारबाट चोरीपैठारी गरेर ल्याएका कुखुरा सस्तोमा उपलब्ध हुन्छन् । चोरीपैठारीका कुखुरा स्थानीय उत्पादनभन्दा प्रतिकिलो ५० रुपैयाँ सस्तो हुन्छ । ‘होटल व्यवसायीले सकभर सस्तो मूल्यकै कुखुरा रोज्ने भएकाले यहाँका व्यवसायीहरूको टाउको दुखाइ हुँदै आएको छ ।’

 भारतीय बजारबाट अवैध रूपमा पैठारी हुने कुखुरा मरेको अवस्थामा समेत यहाँका होटेलमा बिक्री हुने गरेको छ । कुखुरामा देखिने रोग बर्ड फ्लुको रोकथामका लागि सरकारले कुखुरा आयातमा रोक लगाएको हो ।

प्रकाशित : भाद्र ४, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?