बाढीले छेक्यो बाटो

‘गाडीको बाटो खुल्ला भनेर पर्खेका छौं’ बिरामी भाउजूको उपचारका लागि धनगढी हिंडेका जयपृथ्वी नगरपालिकाका पुष्कर सिंहले भने, ‘आठ घण्टा भइसक्यो, कतिबेला खुल्ने हो, पत्तो छैन ।’
वसन्तप्रताप सिंह

बझाङ — बिहान ७ बजे बझाङ सदरमुकाम चैनपुर बसपार्कबाट हिंडेको सुदूरपश्चिम यातायातको बस ८ नबज्दै केदारस्यु गाउँपालिकामा पर्ने नारुगाड खोलामा पुगिसकेको थियो ।

बझाङको नारुगाड खोलामा आएको बाढी पछि अलपत्र परेका सवारी साधन र यात्रु । तस्विर : बसन्तप्रताप

वर्षा भएकाले खोलामा गाडी तर्न सक्ने अवस्था भएन । एक एक गर्दै गाडीको खोला वारिपारि लाइन लाग्न थाल्यो । दिउँसोको ३ बजिसक्दा पनि वर्षा नरोकिँदा बाढी घट्ने छाँट थिएन ।

बिहानैदेखि बाढी रोकिने र गाडी खुल्ने आशामा बसेका सयौं यात्रुको अनुहार भोक र प्यासले मलिन भइसकेको थियो । गाडीमा कतिपय बिरामी र उनका आफन्त पनि थिए । उनीहरूको छटपटी हेरिनसक्नुको थियो । ‘गाडीको बाटो खुल्ला भनेर पर्खेका छौं,’ बिरामी भाउजूको उपचारका लागि धनगढी हिंडेका जयपृथ्वी नगरपालिकाका पुष्कर सिंहले भने, ‘आठ घण्टा भइसक्यो, कतिबेला खुल्ने हो पत्तो छैन ।’

Yamaha

‘गाडी नरोकिएको भए साँझ चाँडै धनगढी पुगिन्थ्यो,’ यात्रु सरस्वती थापाले भनिन्, ‘डे बसमा आए पनि अब नाइटकै यात्रा हुने भयो ।’ हुन पनि सोही दिन चैनपुर बसपार्कबाट ३ बजे दिउँसो छुटेका रात्रि बसहरू पनि नारुगौडाको खोलामा लागेको गाडीहरूको लाममा लामबद्ध भइसकेका थिए । शुक्रबार नारुगाड खोलामा आएको बाढी अलिक कम भएपछि दिउँसो ४ बजेतिर आएको स्काभेटरले खोलाले बिगारेको बाटो २ घण्टा लगाएर बनाएपछि बल्ल गाडी पास भए ।

नारुगाड यस्तो खोला हो । यस खोलामा बाढी आउन वर्षा कुर्नै पर्दैन । ठूलो पानी पर्दा जुनसुकै बेला पनि लेदोसहितको बाढी आउने यस खोलामा न पुल छ, न त कल्र्भट नै । बझाङको लाइफलाइनको रुपमा रहेको जयपृथ्वी राजमार्गमा पर्ने यो खोलाले बर्खायाममा दैनिक १ घण्टादेखि १०/१२ घण्टासम्म यातायात अवरुद्ध नगरेको कुनै दिन खाली हुँदैन । सुदूरपश्मि यातायातका जीवन खड्का भन्छन्, ‘बर्खाको बेला त कतिबेला गन्तव्यमा पुगिन्छ भनेर टुंगो नै हुँदैन । खोलाले कतिबेला चक्काजाम गर्छ, त्यो पनि अनुमान हुन्न ।’

उनले असार यता यो खोलामा आएको बाढीले यातायात अवरुद्ध नगरेको कुनै दिन खाली नभएको बताए । यो समस्या अहिलेको भने हैन । जयपृथ्वी राजमार्ग सञ्चालनमा आएदेखि यो समस्या सुरु भएको हो । केदारस्युँ गाउँपालिकाका नायब सुब्बा जयराज पाध्या भन्छन्, ‘ठूलाबडा नेताहरू पनि यही बाटो हिंड्छन् । तर खोला तरेपछि लौरो बिर्से झैं यो समस्या बिर्संदा रहेछन् ।’

नारुगौडा खोलाको जलाधार क्षेत्रमा रहेको साबिक रायल गाविस वडा नं ५ र ७ का काट्खेत, तल्बाडा र मैतोली गाउँको तलतिर ठूलो पहिरो लागेको छ । यो पहिरो सुक्खायाममा समेत बगेर नारुगाडमा मिसिने गर्छ जसले गर्दा सामान्य वर्षा हुँदा पनि खोलामा बाढी आउँछ ।

४ वर्षअघि सडक कालोपत्रे गर्दा पनि यो खोलामा निरन्तर गाडी चल्ने विकल्पको बारेमा केही नसोचेको स्थानीयको आरोप छ । देउराका उत्तम भण्डारी भन्छन् । ‘त्यतिबेला यहाँको समस्या हेरिएन । ठेकदारले आफ्नो सजिलो हुने टालटुले काम गरेर सडक पास गराए । अहिले हामीलाई दु:ख भयो ।’ यता सडक डिभिजन कार्यालय बैतडीका इन्जिनियर सागर कार्कीले भने नारुगौडा खोलामा पक्की पुल निर्माणका लागि टेन्डर प्रक्रिया भइरहेको बताए । उनले एक दुई महिनाभित्र नै ठेक्का सम्झौता हुने जानकारी दिए । दुई वर्ष अघिदेखि नै यस खोलामा पुल निर्माणका लागि ठेक्का भइसकेको र निर्माणको काम सुरु हुने भनेर तत्कालीन सांसद र नेताहरूले जिल्लावासीलाई ढाँट्दै आएका छन् ।

प्रकाशित : भाद्र ४, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भित्रिए अवैध कुखुरा

दैनिक ६० क्विन्टल कुखुरा चोरीपैठारी
कान्तिपुर संवाददाता

धनगढी — सशस्त्र प्रहरी बलको त्रिनगरस्थित बोर्डर आउट पोस्ट टोलीले आइतबार बिहान भारतीय बजारबाट धनगढी ल्याउँदै गरेको एक मोटरसाइकलसहित एक क्विन्टल कुखुरा जफत गर्‍यो ।

दैनिकजसो अवैध कुखुरा बरामद गरिरहेको सशस्त्रको टोलीले शनिबार बिहान पनि दुईवटा मोटरसाइकलसहित डेढ क्विन्टल कुखुरा बरामद गरेको थियो । सशस्त्रले दैनिक कुखुरा बरामद गरे पनि भारतीय बजारबाट अवैध रूपमा दैनिक ६० क्विन्टल कुखुरा यहाँको बजारमा चोरी पैठारी बढेर व्यवसाय चौपट हुन थालेपछि स्थानीय कुखुरा व्यवसायी निराश छन् ।

धनगढीलगायत बजार क्षेत्रमा कुखुराको ठूलो खपत छ । पोल्ट्री तथा माछामासु व्यवसायी संघका अनुसार कैलालीमा दैनिक ५ सय क्विन्टल कखुराको खपत छ । त्योमध्ये आधा बढी कैलाली कञ्चनपुरमै खपत हुन्छ । ‘प्रदेश ७ को बजारमा एक हप्तामा ४ लाख किलो कुखुरा खपत हुन्छ,’ फारवेस्ट पोल्टी फर्मका व्यवसायी विक्रम सिंहले भने, ‘चोरीपैठारीको कुखुराका कारण यहाँका किसान तथा व्यवसायी धरापमा छन् ।’ जिउँदै र काटेर प्याक गरेर पनि यहाँको बजारमा भारतीय कुखुरा आउने गरेको सिंहले बताए ।

फराकिलो खपत बजार भएकाले यो व्यवसायमा लगानीकर्ताको संख्या बढ्दै गएको छ । संघका अनुसार कैलालीमा मात्र १५ सय बढी कुखुरा उत्पादन फार्म छन् । संघका सचिव विश्व जंगबहादुर सिंह भन्छन्, ‘कुखुरा उत्पादनका क्षेत्रमा ५ अर्ब हाराहारीको लगानी छ ।’ व्यवसायीहरूका अनुसार २ अर्ब लगानीमा ४ वटा दाना उद्योग छन् । ६ वटा चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग सञ्चालनमा छन् ।

यति ठूलो बजार रहेको कुखुरा व्यवसायमा भारतीय बजारबाट चोरीपैठारी भई आउने कुखुरा स्थानीय किसानहरूका लागि मुख्य समस्या भएको छ । ‘भारतको हरियाणादेखि सिधै गाडी लोड भएर त्यहाँका कुखुरा यहाँ आइपुग्छन्,’ फारवेस्ट पोल्ट्री सप्लायर्सका विक्रम सिंहले भने ‘दैनिक ६० क्विन्टल भारतीय कुखुरा यहाँको बजारमा चोरीपैठारी भएर आउँछन् ।’

यहाँ उत्पादित कुखुराको बिक्री मूल्यभन्दा भारतीय बजारबाट चोरीपैठारी गरेर ल्याएका कुखुरा सस्तोमा उपलब्ध हुन्छन् । चोरीपैठारीका कुखुरा स्थानीय उत्पादनभन्दा प्रतिकिलो ५० रुपैयाँ सस्तो हुन्छ । ‘होटल व्यवसायीले सकभर सस्तो मूल्यकै कुखुरा रोज्ने भएकाले यहाँका व्यवसायीहरूको टाउको दुखाइ हुँदै आएको छ।’

 भारतीय बजारबाट अवैध रूपमा पैठारी हुने कुखुरा मरेको अवस्थामा समेत यहाँका होटेलमा बिक्री हुने गरेको छ । कुखुरामा देखिने रोग बर्ड फ्लुको रोकथामका लागि सरकारले कुखुरा आयातमा रोक लगाएको हो ।

प्रकाशित : भाद्र ४, २०७५ १०:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT