१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

छाडा बस्तु छाडै भए

स्थानीय तहले सरकार सञ्चालन गरेको वर्ष दिनभन्दा बढी भए पनि गाईगोरुको व्यवस्थापन भएको छैन ।
गणेश चौधरी

टीकापुर — टीकापुरमा अझै छाडा गाइगोरुको व्यवस्थापन हुन सकेको छैन । स्थानीय तह चुनावको मुख्य एजेन्डा छाडा गाइगोरुको व्यवस्थापन थियो । तर स्थानीय तहले सरकार सञ्चालन गरेको वर्ष दिनभन्दा बढी भए पनि गाईगोरुको व्यवस्थापन भएको छैन । 

छाडा बस्तु छाडै भए

टीकापुर नगरपालिकाले करिब ६ सयभन्दा बढी गाईगोरु भुराखानी सामुदायिक वनमा ३ बिघा क्षेत्रफलमा तारबार घेरेर राख्यो । थुनिएका गाइगोरुलाई आहारा दिन नसक्ने भएपछि ट्रकमा राखेर पहाडी जिल्ला पनि पठायो । तर नगरपालिकामा छाडा गाईगोरुको संख्या खासै घटेन । ‘धेरै गाइगोरु पहाडी जिल्ला पनि पठायौं, तर कताबाट आउँछन् फेरि उत्ति नै भइहाल्छन्,’ टीकापुर नगरपालिकाका प्रवक्ता वडाध्यक्ष दीर्घ ठकुल्लाले भने, ‘तारबार गरेर गाईगोरु थुन्न नगरपालिकाले लगानी गर्‍यो । पाल्न समस्या भयो । पहाडी जिल्ला लग्छौं भनेर नगरपालिकाबाट ढुवानी खर्च पनि लगे । समस्या अझै टरेन ।’


छाडा पशु व्यवस्थापनका लागि नगर कार्यपालिकाका सदस्य अक्कल माफीको संयोजकत्वमा एक समिति पनि बनाइएको छ । संयोजक माझीले भने, ‘गाईले दूध दिउन्जेल घरमा राख्छन् । दूध दिन छोडेपछि घरबाट खेद्छन् । अनि त छाडा गाईगोरु बढेको बढ्यै हुन थाले । अहिले पनि करिब साढे ३ सय गोरु तारबार लाएर राखेका छौं । ‘छाडा पशु अछाम, सुर्खेत, दैलेख, कालीकोट लगायतका पहाडी जिल्लामा पठाइएको स्थानीय तहका जनप्रतिनिधिले दाबी गरे । टीकापुर नगरपालिकाले ९ सय ८३ गोरु पहाडी जिल्ला पठाएको जनाएको छ । पहाडी जिल्लामा गाईगोरु लैजानेहरूलाई प्रतिगोटा एक हजार रुपैयाँसम्म पारिश्रमिकको व्यवस्था स्थानीय तहले गरे ।


पहाडी जिल्लामा गाईगोरु लैजान नगरपालिकाबाट नगद लिएका व्यक्तिले पहाडी जिल्ला नपुर्‍याई आधा बाटोमा छोड्दा गाई गोरु फेरि फर्केर आएका स्थानीय बताउँछन् ।


टीकापुर नगरपालिकाले छाडा पशु नियन्त्रणमा सघाउ पुग्ने भन्दै पशु बिमा कार्यक्रम पनि लागू गर्‍यो । छाडा गाईगोरु पहाडी जिल्ला पनि पठायो । काँडेतार लगाएर पनि राख्यो । तर तर छाडा पशु अझै पूर्ण नियन्त्रण हुन सकेको छैन । छाडा गाइगोरुका कारण यहाँका किसान आक्रान्त बनेपछि स्थानीय चुनावमा यसको नियन्त्रण प्रमुख चुनावी मुद्दा बनेको थियो ।


छाडा गाइगोरुले किसानका बालीनाली सखाप बनाउनुका साथै राजमार्ग तथा बजारमा ट्राफिक समस्या भएपछि स्थानीय तहको चुनावमा दलका उम्मेदवारले छाडा गाईगोरु व्यवस्थापनको नारा ल्याएका थिए ।


रानी जमरा कुलरिया कुलो सिँचाइ आयोजनाअन्तर्गत खेतीपाती बढ्दै गए पनि छाडा पशुले हैरान बनाएको किसानहरू बताउँछन् । टीकापुर नगरपालिका १ वनगाउँका चमन चौधरीले भने, ‘खेती गर्ने कि नगर्ने भइसक्यो । कि गाईगोरु नियन्त्रण हुनुपर्‍यो कि क्षतिपूर्ति दिनुपर्‍यो ।’

प्रकाशित : भाद्र ५, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?