कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पुलमै पहिरो

अविरल वर्षाले आधा दर्जन घरमा क्षति
मनोज बडू

दार्चुला — व्यास गाउँपालिका–५ तिग्रममा दुई वर्षअघि निर्मित नेपाल–भारत जोड्ने झोलुंगे पुल माथिबाट पहिरो खसेको छ । जोखिम बढेको भन्दै पुलमा आवतजावत बन्द गरिएको छ ।

पुलमै पहिरो

शुक्रबार देखिको वर्षाले नेपालतर्फको पिलरको साइडमा पहिरो खस्दा पुलमा जोखिम बढेपछि आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ ।


पुल नजिकै रहेको नेपाल प्रहरीको चेकपोस्ट पहिरोले पुरिएको छ । झोलुंगे पुलमाथिका घरहरू पनि पहिरोको उच्च जोखिममा छन् । तिग्रम पुल छेउबाट व्यास गाउँपालिका ६ बसेडी, खातीगाउँ र बाननी जाने बाटोसमेत भत्काएको स्थानीय दीपक खातीले बताए । पुल व्यास गाउँपालिकाको १० लाख लागतमा बनेको थियो । अविरल वर्षाले आइतबार बिहान इलाका प्रहरी कार्यालय हुतीको पर्खाल भत्किँदा कार्यालय भवन जोखिममा रहेको इलाका प्रहरी कार्यालय हुतीले जनाएको छ ।


पहिरो पन्छाउने र पुल जोगाउनका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग समन्वय भइरहेको जिल्ला प्रशासनले जनाएको छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले केन्द्रबाट बजेट विनियोजन गर्दासम्म ढिलाइ हुने भन्दै जिल्ला स्तरबाटै पुल संरक्षणका लागि पहल गर्न अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । महाकाली नदी नियन्त्रण आयोजना लगायतका अन्य कार्यालयहरूसँग समन्वय गरी तारजाली लगाएर पुल जोगाउने पहल भइरहेको छ ।


उक्त क्षेत्रमा झोलुंगे पुल निर्माणले व्यास गाउँपालिका र दुहुका स्थानीयलाई आवतजावत गर्नमा सहज भएको थियो । पहिरोका कारण उक्त पुल बन्द गरिएपछि यहाँका स्थानीयले तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । स्वदेशबाट जिल्ला सदरमुकामसम्म आउने भरपर्दो बाटो नहँुदा यहाँका स्थानीयहरू भारतीय बाटो प्रयोग गर्ने गरेका छन् । अहिले पुलमा आवतजावत बन्द गरिएपछि तुइन तर्न ज्यादै कठिनाइ हुने व्यास ५ स्याकुका स्थानीय हरकसिंह धामीले बताए ।


भदौको सुरुमै जिल्लाका विभिन्न ठाउँमा आएको पहिरोका कारण ठूलो क्षति पुर्‍याएको छ । आइतबारको अविरल वर्षाका कारण दुहु गाउँपालिका–३ तिमुरपाटाका सुनादेवी बमको दुई तले घर भत्केको छ । पहिले घर भत्किँदा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै, नौगाड गाउँपालिका–१ साङपाङमा आइतबार घर माथिबाट पहिरो खसेर वीरेन्द्र महताको घर

भत्किएको छ ।


पहिरोले घर भत्किँदा दुई भैंसी र दुई गाई मरेको प्रहरीले जनाएको छ । उक्त पहिरोका कारण दुई/तीन घर पूर्ण जोखिममा रहेकाले परिवार विस्थापित भएको स्थानीय करन बडालले जानकारी दिए । सोही ठाउँका विक्रमसिंह ओरेको घरमा पनि क्षति पुर्‍याएको छ । नजिकैको भवानी आधारभूत विद्यालयको खेल मैदान र शौचालयमा पहिरोले क्षति पुर्‍याएको जिल्ला प्रहरीले जनाएको छ ।


शनिबारकै वर्षाले पहिरो खस्दा व्यास गाउँपालिका–५ तिग्रमका भूपसिंह कुँवरको जस्ताले छाएको घरमा क्षति पुर्‍याएको छ । महाकाली नगरपालिका–४ की शान्ति भुलको घर भत्केको प्रहरीले जनाएको छ ।

यो साताको सुरुमै जिल्लाका विभिन्न ठाउँमा आएको पहिरोका कारण मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?