मानव–चितुवा द्वन्द्व : ६ वर्षमा २३ जनाको ज्यान गयो

जिल्ला वन कार्यालय वन्यजन्तु र मानवबीच बढेको द्वन्द्व घटाउन सफल हुन सकेको छैन ।
डीआर पन्त

मेलौली (बैतडी) — ६ वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रका युवाहरूले चितुवा आतंकका कारण सुरु गरेको गस्ती अहिले पनि कायम छ । ६ वर्षअघि पहिलो पटक चितुवाले विशालपुर र शर्मालीमा २ जनाको ज्यान लिएपछि युवाहरूले चितुवा आतंक रोक्न गाउँबस्तीमा गस्ती सुरु गरेका हुन ।

शनिबार बैतडीको पाटन–५ मा पासोमा पारेर मारिएको चितुवा ।तस्बिर : डीआर

युवाहरूले गस्ती गरे पनि उक्त क्षेत्रमा चितुवाले मान्छे मार्ने र मान्छेले चितुवा मार्न छोडेका छैनन् ।
चिुतुवा आतंक कम गर्न जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पनि ६ वर्षदेखि निरन्तर गरिरहेको निगरानी अहिलेसम्म पनि निरन्तर छ ।

Yamaha


तर बैतडीको तल्लो स्वराड क्षेत्रमा नत अहिलेसम्म चितुवा आतंक कम भएको छ, न चितुवा मारिने क्रम नै रोकिएको छ । बैतडीको पाटन नगरपालिका–५ र पञ्चेश्वर गाउँपालिका–६ मा २ वटा चितुवा शुक्रबार मृत अवस्थामा फेला परे । गत महिना मेलौलीमा दुम्सीका लागि थापेको पासोमा परेको वयस्क पोथी चितुवालाई ४ दिनपछि उद्धार गरेर बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको थियो । दुई दिनअघि पञ्चेश्वरको बिजुली गाउँमा पुन पासोमा परेर एक चितुवाको ज्यान गएको छ । तीन महिनाअघि विशालपुरमा पनि बँदेल मार्न थापेको पासोमा एक चितुवाको ज्यान गएको थियो ।

प्रहरी, वनकर्मी र स्थानीय युवाहरूको निरन्तर निगरानी र गस्तीका कारण गत वर्षदेखि चितुवाको आक्रमणमा परेर कसैको मृत्यु भएको छैन । ६ वर्षमा चितुवाको आक्रमणमा परी बैतडीको तल्लो स्वराड क्षेत्रमा २३ जनाले ज्यान गुमाइसकेका छन् । अन्य ११ जना आक्रमणबाट गम्भीर घाइते भइसकेका छन् ।
चितुवाको आक्रमणमा परेर ज्यान गुमाउनेमा अधिकांश बालबालिका छन् । प्रहरीको तथ्यांकअनुसार हालसम्म मृत्यु भएका २३ मध्ये १६ जना बालबालिकाले चितुवाको आक्रमणमा ज्यान गुमाएका हुन् ।

पासोमा परेर यस अवधिमा १० वटा चितुवा पनि मारिएका छन् । वन्यजन्तु र मानवबीच बढेको द्वन्द्वका कारण बैतडीको तल्लो स्वराड क्षेत्र चितुवा र बँदेल आतंकवाट त्रसित छ । जिल्ला वन कार्यालयले वन्यजन्तु र मानवबीच बढेको द्वन्द्व घटाउन धेरै प्रयास गर्दा पनि सफल हुन सकेको छैन ।

जिल्ला वनको तथ्यांकमा १० वटा चितुवा मारिएको बताइए पनि हालसम्म तल्लो स्वराड र पाटन क्षेत्रमा दुई दर्जन बढी चितुवा मारिइसकेका छन् । वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत वन विभागका पूर्वअधिकृत धर्म चन्द भन्छन्, ‘चितुवा मार्ने बहानामा बैतडीका जंगलमा रहेका दुर्लभ वन्यजन्तुको निरन्तर चोरी सिकार भइरहेको छ ।’ बहाना चितुवा मार्ने हुन्छ, तर संगठित रूपमा वन्यजन्तुको चोरी सिकारी भइरहेको चन्दले बताए । ‘जलवायु परिवर्तनको असरले मानव र वन्यजन्तुबीच बढेको द्वन्द्वको यो उदाहरण हो,’ जिल्ला वन कार्यालय बैतडीका अधिकृत रामचन्द्र लामाले भने, ‘विभिन्न खाले जनचेतना कार्यक्रम सञ्चालन गर्दागर्दै पनि समस्या समाधान हुन सकेको छैन ।’

मानव बस्तीमा छिरेर चितुवाले लगातार मान्छेको सिकार गर्न थालेपछि पासो थापेर चितुवासहित वन्यजन्तु मार्ने क्रम पनि बढेको उनले बताए । लामाले भने, ‘जिल्ला वन कार्यालयको जानकारीमा आएकोभन्दा निकै बढी वन्यजन्तु मारिएको आशंका छ ।’ वन्यजन्तुका कारण मानवीय क्षति भएको तत्काल जानकारीमा आउने भए पनि वन्यजन्तु मारिएको विषयमा धेरै जानकारी सम्बन्धित कार्यालयलाई आउँदैन । उनले भने ‘वन कार्यालयले निरन्तर वन्यजन्तु र मानवबीच बढेको द्वन्द्व कम गर्ने प्रयास गरिरहेको छ ।’

वन विनाशले वन्यजन्तु मानव बस्तीमा
गत शनिवार पञ्चेश्वरमा चितुवा पासोमा फसेको प्रहरीले खबर गरेपछि अधिकृत लामा सहितको टोली त्यसतर्फ गएको छ । हरेक तेस्रो दिन बैतडीको तल्लो स्वराड क्षेत्रमा वन्यजन्तु पासोमा परेको खबर आउने गरेको वनकर्मीले बताएका छन् । जिल्ला वन कार्यालयका प्रमुख वन अधिकृत प्रभात सापकोटा अनियन्त्रित वनजंगल विनाशका कारण वन्यजन्तु मानव बस्तीमा आउन थालेको बताउँछन् । वन अधिकृत सापकोटाले भने, ‘चितुवा प्रभावित क्षेत्रमा नि:शुल्क सोलार वितरण, जडीबुटी खेती, वनमा आधारित विविध आयआर्जनका कार्यक्रम सञ्चालन गरिएको छ ।’

३ सय ५२ सामुदायिक वन रहेको बैतडीका अधिकांश सामुदायिक वन फँडानीका कारण उजाड भइसकेका छन् । पानीको चरम संकट रहेको जिल्लाको तल्लो स्वराड क्षेत्रमा पनि वन फँडानीका कारण जंगल क्षेत्र उजाड भइसकेकाले वन्यजन्तु मानव बस्तीमा आउन थालेको मेलौलीका धर्म नायकले बताए । उनले भने, ‘जंगल समाप्त भयो, जंगलमा रहेका पानीका मुहान सुकिसकेपछि वन्यजन्तु आहारको खोजीमा मानव बस्तीमा आउन थालेका हुन् ।’

प्रकाशित : भाद्र ५, २०७५ ०९:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पुलमै पहिरो

अविरल वर्षाले आधा दर्जन घरमा क्षति
मनोज बडू

दार्चुला — व्यास गाउँपालिका–५ तिग्रममा दुई वर्षअघि निर्मित नेपाल–भारत जोड्ने झोलुंगे पुल माथिबाट पहिरो खसेको छ । जोखिम बढेको भन्दै पुलमा आवतजावत बन्द गरिएको छ ।

दार्चुलाको व्यास गाउँपालिका–५ तिग्रममा नेपाल–भारत जोड्ने झोलुंगे पुलमाथिबाट आएको पहिरो । तस्बिर : कान्तिपुर

शुक्रबार देखिको वर्षाले नेपालतर्फको पिलरको साइडमा पहिरो खस्दा पुलमा जोखिम बढेपछि आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ ।

पुल नजिकै रहेको नेपाल प्रहरीको चेकपोस्ट पहिरोले पुरिएको छ । झोलुंगे पुलमाथिका घरहरू पनि पहिरोको उच्च जोखिममा छन् । तिग्रम पुल छेउबाट व्यास गाउँपालिका ६ बसेडी, खातीगाउँ र बाननी जाने बाटोसमेत भत्काएको स्थानीय दीपक खातीले बताए । पुल व्यास गाउँपालिकाको १० लाख लागतमा बनेको थियो । अविरल वर्षाले आइतबार बिहान इलाका प्रहरी कार्यालय हुतीको पर्खाल भत्किँदा कार्यालय भवन जोखिममा रहेको इलाका प्रहरी कार्यालय हुतीले जनाएको छ ।

पहिरो पन्छाउने र पुल जोगाउनका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग समन्वय भइरहेको जिल्ला प्रशासनले जनाएको छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले केन्द्रबाट बजेट विनियोजन गर्दासम्म ढिलाइ हुने भन्दै जिल्ला स्तरबाटै पुल संरक्षणका लागि पहल गर्न अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । महाकाली नदी नियन्त्रण आयोजना लगायतका अन्य कार्यालयहरूसँग समन्वय गरी तारजाली लगाएर पुल जोगाउने पहल भइरहेको छ ।

उक्त क्षेत्रमा झोलुंगे पुल निर्माणले व्यास गाउँपालिका र दुहुका स्थानीयलाई आवतजावत गर्नमा सहज भएको थियो । पहिरोका कारण उक्त पुल बन्द गरिएपछि यहाँका स्थानीयले तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । स्वदेशबाट जिल्ला सदरमुकामसम्म आउने भरपर्दो बाटो नहँुदा यहाँका स्थानीयहरू भारतीय बाटो प्रयोग गर्ने गरेका छन् । अहिले पुलमा आवतजावत बन्द गरिएपछि तुइन तर्न ज्यादै कठिनाइ हुने व्यास ५ स्याकुका स्थानीय हरकसिंहधामीले बताए ।

भदौको सुरुमै जिल्लाका विभिन्न ठाउँमा आएको पहिरोका कारण ठूलो क्षति पुर्‍याएको छ । आइतबारको अविरल वर्षाका कारण दुहु गाउँपालिका–३ तिमुरपाटाका सुनादेवी बमको दुई तले घर भत्केको छ । पहिले घर भत्किँदा पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
त्यस्तै, नौगाड गाउँपालिका–१साङपाङमा आइतबार घर माथिबाट पहिरो खसेर वीरेन्द्र महताको घर
भत्किएको छ ।

पहिरोले घर भत्किँदा दुई भैंसी र दुई गाई मरेको प्रहरीले जनाएको छ । उक्त पहिरोका कारण दुई/तीन घर पूर्ण जोखिममा रहेकाले परिवार विस्थापित भएको स्थानीय करन बडालले जानकारी दिए । सोही ठाउँका विक्रमसिंह ओरेको घरमा पनि क्षति पुर्‍याएको छ । नजिकैको भवानी आधारभूत विद्यालयकोखेल मैदान र शौचालयमा पहिरोले क्षति पुर्‍याएको जिल्ला प्रहरीले जनाएको छ ।

शनिबारकै वर्षाले पहिरो खस्दा व्यास गाउँपालिका–५ तिग्रमका भूपसिंह कुँवरको जस्ताले छाएको घरमा क्षति पुर्‍याएको छ । महाकाली नगरपालिका–४ की शान्ति भुलको घर भत्केको प्रहरीले जनाएको छ ।
यो साताको सुरुमै जिल्लाका विभिन्न ठाउँमा आएको पहिरोका कारण मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताए ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT