कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विशेष समितिले प्रतिवेदन बुझायो

धनगढी — प्रदेश ७ को नामांकन र स्थायी राजधानी तोक्न प्रदेशसभाद्वारा गठित विशेष सुझाव समितिले मंगलबार सभामुख अर्जुनबहादुर थापासमक्ष सुझाव प्रतिवेदन बुझाएको छ ।

विशेष समितिले प्रतिवेदन बुझायो

प्रदेशसभामा पेस हुनुअघि समितिले प्रतिवेदनमा उल्लेख गरेको नाम र स्थायी राजधानी सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार समितिले प्रदेशको नाम ‘खप्तड’ र स्थायी राजधानी ‘गोदावरी’ उपयुक्त हुने सुझाव दिएको बुझिएको छ ।


सभामुख थापाले प्रतिवेदन बुझ्दै चाँडै प्रदेशसभामा छलफल गराउने बताएका छन् । कार्यव्यवस्था परामर्श समिति बैठकद्वारा उक्त विषय प्रदेशसभामा कहिले प्रवेश गराउने भन्ने तय हुने जनाइएको छ । प्रदेशसभामा पेस भएपछि सुझावमाथि छलफल सुरु हुनेछ । सर्वसम्मत हुन नसके दुई तिहाइ बहुमतबाट पास गर्नुपर्ने प्रावधान छ ।


सुझाव पेस गर्ने क्रममा संघीय संसद्मा प्रतिनिधित्व गर्ने यो प्रदेशसभा सदस्यहरू, यस प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न दलका केन्द्रीय सदस्य, प्रदेश सरकार, प्रदेशका सबै संसदीय दलसँग सुझाव लिइएको समिति सदस्य बलदेव रेग्मीले बताए । यसअघि राजधानी माग गर्दै आन्दोलन गरेको डोटीस्थित जिल्ला समन्वय समितिको संयोजकत्वमा गठित माग समिति, त्यहाँस्थित उद्योग वाणिज्य संघका प्रतिनिधिसँग पनि परामर्श गरेको समितिले जनाएको छ ।


नेकपाका प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा गठित समितिमा चुनकुमारी चौधरी, बलदेव रेग्मी, श्यामलाल राना र प्रेमप्रकाश भट्ट सदस्य थिए । साउन १४ मा गठित समितिलाई सुरुमा एक साताको म्याद दिइए पनि पछि दुईपटक थप गरिएको थियो ।


प्रकाशित : भाद्र ६, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?