१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दुर्गममा पुग्दै इन्टरनेट

जिल्लाका सुर्मा, खप्तड छान्ना, छविस पाथीभेरा, मस्टा, दुर्गाथली र जयपृथ्वी नगरपालिकामा गरी ७० ठाउँमा इन्टरनेट जडान
वसन्तप्रताप सिंह

बझाङ — इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले यहाँका विकट बस्तीमा इन्टरनेट सेवा विस्तार गर्न थालेका छन् । निजी क्षेत्रका सेवा प्रदायक कम्पनीहरूले ग्रामीण क्षेत्रमा इन्टरनेटको सुविधा दिन थालेपछि सेवा प्रदायक र सेवाग्राही दुवैलाई सहज भएको छ ।

दुर्गममा पुग्दै इन्टरनेट

मोबाइल नेटवर्कसमेत प्रभावकारी भएका गाउँहरूमा इन्टरनेटको सुविधा पाएपछि कार्यालयका काममा निकै सहजता आएको सेवाग्राहीहरू बताउँछन् । सरकारी तथा गैरसरकारी निकायलाई इन्टरनेटले सेवा प्रवाहमा सहजता ल्याएको बताएका छन् ।


‘पहिला कुनै सूचना वा चिठीपत्र लिनका लागि दैनिक भ्रमण भत्ता दिएर कार्यालय सहयोगी नै सदरमुकाम पठाउनुपथ्र्याे,’ जिल्लाको दुर्गम छविस पाथीभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास अयडीले भने, ‘इन्टरनेट जडान भएपछि यो समस्या हटेको छ ।’ उनको वडा सदरमुकाम चैनपुरभन्दा बाहिर रहेका स्थानीय तहमध्ये इन्टरनेट जडान गर्नेमा पहिलो हो ।


कार्यालयमा इन्टरनेटको सुविधा उपलब्ध भएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गर्ने नियम, विनियम र परिपत्रहरू समयमै प्राप्त हुने हुँदा काम छिटोछरितो भएको छविस पाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए । ‘महिना दिनअघि नै मन्त्रालयले नियम बनाइसकेको हुन्थ्यो तर हामीलाई ढिलो थाहा हुन्थ्यो,’ उनले भने, ‘हामीले जानकारी पाउन्जेलसम्म धेरै काम बिग्रिसकेको हुन्थ्यो ।’


कार्यालयमा इन्टरनेट जडान भएपछि अहिले मन्त्रालयले जारी गर्ने सूचना तथा विनियमहरू तुरुन्तै हेरेर कार्यान्वयन गर्न सजिलो भएको उनले बताए । वडा कार्यालयमा इन्टरनेट सुविधा पुगेपछि पञ्जीकरणको काम अनलाइन प्रणालीमा गर्न थालिएको जयपृथ्वी नगरपालिका ६ का वडा अध्यक्ष नरेन्द्र सिंहले बताए । उनले भने, ‘यसले व्यक्तिगत घटना दर्ता गर्न र सामाजिक सुरक्षा रकम वितरण गर्ने प्रणालीमा पनि सुधार आएको छ ।’


इन्टरनेट नहुँदा कागजमा मात्र व्यक्तिगत घटना दर्ता हुने भएकाले बाल सुरक्षा, पोषण भत्तालगायतमा उमेर अद्यावधिक गर्न गाह्रो हुने गरेको बताए । त्यसो हँुदा कतिपय अवस्थामा सामाजिक सुरक्षा भत्ता वितरणमा नै गडबडी हुने गरेको उनको अनुभव छ ।


इन्टरनेटको पहुँचले स्थानीय निकायलाई मात्र नभएर विद्यालय तथा स्वास्थ्य संस्थाहरूलाई पनि काम गर्न सजिलो भएको छ । ‘कम्प्युटर, इन्टरनेट जस्ता विषय मात्र हैन, अरू विषय पढाउनका लागि पनि इन्टरनेट हाम्रो सहयोगी भएको छ,’ सुर्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवबहादुर पुजाराले भने, ‘चाहिएको जानकारी तुरुन्तै खोजेर श्रव्य दृश्य माध्यमबाट विद्यार्थीलाई देखाउँदा सिकाइ उपलब्धि राम्रो भएको छ ।’ उनले दुर्गम ठाउँमा देश विदेशका ताजा खबर प्राप्त हुनुका साथै शिक्षकका लागि सहयोगी सामग्री जुटाउन पनि इन्टरनेटले सहयोग गरेको बताए ।


जिल्लाका सुर्मा, खप्तड छान्ना, छविस पाथीभेरा, मस्टा, दुर्गाथली र जयपृथ्वी नगरपालिकामा गरी ७० ठाउँमा इन्टरनेट जडान गरिएको छ । शिखर नेट प्रालि र मर्कन्टाइल कम्युनिकेसन सँगको सहकार्यमा बझाङका दुर्गम गाउँमा इन्टरनेट सेवा पुर्‍याउने काम स्थानीय नवयुग इलेक्ट्रोनिक्सले गरिरहेको छ । यो वर्षभित्रै जिल्लाका २ सय ६२ वटा विद्यालय, स्थानीय तह, स्वास्थ्य चौकी र विभिन्न गैरसरकारी संस्थाहरू इन्टरनेट सेवा जडान गर्ने लक्ष्य रहेको नवयुग इलेक्ट्रोनिक्सका सञ्चालक जनराज जोशीले बताए ।


जिल्लाका विभिन्न ६ ठाउँमा आफ्नै टावर निर्माण गरिएको र केही ठाउँमा स्थानीय एफएम रेडियो र निजी मोबाइल सेवा प्रदायकहरूको टावर प्रयोग गरेर वायरलेस मोडियम प्रविधिबाट इन्टरनेट जडान गर्ने काम भइरहेको उनले बताए । यो प्रविधिको पहुँच विस्तार गर्न नसकिने अति दुर्गम स्थानका लागि भिस्याट (स्याटलाइट) प्रविधिको इन्टरनेट जडान गर्न पहल भइरहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ६, २०७५ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?