१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुनासो आउन कम

विभिन्न जिल्लाबाट सोमबारसम्म १ सय ३९ गुनासा तथा उजुरीहरू आएका छन् ।
अर्जुन शाह

धनगढी — ‘हेलो सीएम’ कार्यक्रम सुरु भएको दोस्रै दिन गत जेठ ८ मा कैलालीको चुरे गाउँपालिकाका स्थानीय खगेन्द्र कँडेलले फोन गरेर गाउँपालिकाको कार्यालय अत्तरियाको एक होटलमा सञ्चालन भएको गुनासो गरे ।

गुनासो आउन कम

गाउँपालिकाका कार्यकारी अधिकृत हेमराज जोशीका अनुसार यसै साता अत्तरियाबाट कार्यालय सार्ने सुरसार भइरहेको छ । कँडेलले भने, ‘मुख्यमन्त्री कार्यालयको ‘हेलो सीएम’ मा गुनासो गरेको महिनौंसम्म पनि सुनुवाइ भएन ।’


असार २९ गते राष्ट्रिय वाणिज्य बैंक कञ्चनपुरका गार्ड दिनेश ठकुराठीले बाटोमा मोटरसाइकल नराख्न आग्रह गर्दा उल्टै ट्राफिक प्रहरी निरीक्षक भरत शाहले उनीमाथि हातपात गरे । ठकुराठीले तत्काल धनगढीस्थित मुख्यमन्त्रीको कार्यालयमा सञ्चालित ‘हेलो सीएम’ कार्यक्रमको पैसा नलाग्ने टोल फ्री नम्बरमा फोन गरी गुनासो राखे । दोस्रो दिन प्रहरी कार्यालयमा आएर इन्स्पेक्टरले आफूबाट गल्ती भएको स्विकार्दै माफी मागे । ठकुराठीले भने, ‘हेलो सीएम कार्यक्रममा फोन गर्नासाथ काम भयो ।’


सेवाग्राहीका गुनासाहरू सुन्ने समाधान दिने उद्देश्यले प्रदेश ७ को मुख्यमन्त्री कार्यालयले गएको जेठ ७ गते सुरु गरेको ‘हेलो सीएम’ कार्यक्रमको मिश्रित प्रभाव देखिएको छ । ‘हेलो सीएम’ कार्यक्रम सुरु भएको दोस्रो दिन जेठ ८ मा सबैभन्दा धेरै २५ वटा गुनासा तथा उजुरी आए । तीमध्ये विद्युत् असुविधा, स्वास्थ्य सेवा, सडक असुविधालगायतका गुनासाहरू थिए । तेस्रो दिन गुनासो गर्नेहरूको संख्या अघिल्लो दिनभन्दा आधा घट्यो । चौथो दिन अझ कम भयो । चौथो दिनको तथ्यांकअनुसार ८ जना सेवाग्राहीले आफ्ना गुनासाहरू टिपाएका थिए ।


अहिले गुनासो आउनेक्रम लगभग ठप्प भएको छ । कार्यक्रम हेर्दै आएका उपसचिव अम्मरराज खत्रीका अनुसार पछिल्ला दिनहरूमा मुस्किलले २/३ दिनको एउटा गुनासो वा उजुरी आउँछ । विभिन्न जिल्लाबाट सोमबारसम्म १ सय ३९ गुनासा तथा उजुरीहरू आएका छन् । तीमध्ये सबैभन्दा धेरै विद्युत् विस्तार र अनियमितताबारेमा २८ वटा छन् । भौतिक पूर्वाधारको मागका २७ तथा सुशासन र अनियमितताका १३ वटा गुनासा दर्ता भएका छन् ।


कति गुनासाको समाधान भयो भन्ने यकिन तथ्यांक कार्यालयले राखेको छैन । ‘गुनासा आउनेबित्तिकै हामीले सम्बन्धित निकायलाई समाधान गर्न निर्देशन गर्ने गरेका छौं,’ उपसचिव अम्मरराज खत्रीले भने, ‘सेवाग्राहीले दोहोर्‍याएर फोन नगर्ने भएकाले समस्या समाधान भए नभएको तथ्यांक राख्न नसकिएको हो ।’


गुनासाहरू घटदै गएपछि मुख्यमन्त्री कार्यालय प्रदेशअन्तर्गतका सबै जिल्लामा प्रचारका कार्यक्रम गरिरहेको जनाएको छ । ‘गुनासो टिपाउन प्रोत्साहन गर्नुका साथै गुनासोको समाधानमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ,’ उपसचिव खत्रीले भने, ‘हामी एकपटक निर्देशन दिन्छौं, त्यसपछि सेवाग्राही, सम्बन्धित निकाय र हामीले पनि काम भए नभएको बुझ्ने अभ्यास गर्नुपर्नेछ ।’


पद सम्हालेयता मुख्यमन्त्री त्रिलोचन भट्टलाई हालसम्म १ सय ४२ वटा ज्ञापनपत्र आएका छन् । ज्ञापनपत्रको विषय सम्बन्धित मन्त्रालयमा पठाउने गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कार्यालयबाट प्रेषित ज्ञापनपत्रको सुनुवाइ भए नभएको बारे पनि मुख्यमन्त्रीको कार्यालयसँग कुनै जानकारी छैन ।

प्रकाशित : भाद्र ६, २०७५ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?