कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आधा दर्जन सडक अवरुद्ध

भर्तोला–जौलजीबी सडक, दल्लेक–खार–धुलीगडा, बिटुले–पारिबगड सडक पूर्ण रूपमा बन्द छन् ।
मनोज बडू

दार्चुला — ग्रामीण बस्तीलाई जिल्ला सदरमुकाम खलंगासित जोड्ने आधा दर्जन ग्रामीण सडक बाढी र पहिरोका कारण अवरुद्ध छन् । नियमित वर्षा नभए केही सडक खण्डको आधा दूरीसम्म यातायात सञ्चालन हुन्छ । तर केही सडकहरू भने पूर्ण रूपमा अवरुद्ध छन् ।

आधा दर्जन सडक अवरुद्ध

गोकुलेश्वर बिटुले हुँदै पारिबगड सडकमा अहिले बिटुलेसम्म मात्र यात्रा सञ्चालित छ । ठूलो वर्षा भएका बेला जिल्लाको मुख्य राजमार्ग महाकाली लोकमार्गसमेत बन्द हुने गरेको छ । केही खोलामा पुल निर्माण नहँुदा पानीको सतह बढेपछि यातायात अवरुद्ध हुनुका साथै वर्षातभरि जोखिमपूर्ण यात्रा चल्छ ।


भर्तोला–जौलजीबी सडक, दल्लेक–खार–धुलीगडा, बिटुले–पारिबगड सडक पूर्ण रूपमा बन्द छन् । खलंगा–हिकिला, खलंगा–दल्लेक, गोकुलेश्वर–धुलीगडा सडकमा भने आंशिक रूपमा यातायातका साधनहरू चल्ने गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । केही ग्रामीण सडकमा भने जोखिम मोलेर यातायात सञ्चालन भइरहेका छन् ।


यातायात व्यवसायीले यात्रुहरूकै आग्रहमा स्वैच्छिक बढी भाडा लिएर भए पनि जोखिमपूर्ण सडकमा यातायातका साधनहरू चलाउने गरेका छन् । जोखिम हुन सक्ने भए पनि त्यसो गर्न स्थानीय प्रशासनले रोक्न सकेको छैन । गोकुलेश्वर–धुलीगडा सडक खण्डमा नियमित यात्रुलाई व्यवसायीले नबोक्ने र थप भाडा दिए र पूरै गाडी बुकिङ गरी जोखिम मोलेर भए पनि जिपबाट सेवा दिइरहेको धुलिगडाका स्थानीय अर्जुनसिंह धामीले बताए ।


महाकाली लोकमार्गबाहेक अन्य जिल्लाका ग्रामीण सडकहरू कच्ची र ग्राभेल सडकमा पहिरो र हिलोका कारण अवरुद्ध भएका यातायात व्यवसायीले बताएका छन् । जिल्लाका ब्याँस र अपी हिमाल गाउँपालिकाबाहेक अन्य स्थानीय तहका विभिन्न बस्तीहरू सडक सञ्जालमा जोडिए पनि वर्षात लागेयता ती बस्तीहरू सम्बन्ध विच्छेदको अवस्थामा छन् ।


यो क्षेत्रका स्थानीयहरू दैनिक उपभोग्य वस्तु लैजान तथा सदरमुकाम आवतजावत गर्न सास्ती खेपिरहेका छन् । यातायातमा आवतजावत गर्न बानी बसेका यहाँका स्थानीयहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएको नौगाड गाउँपालिका–२ खारका गोविन्दसिंह ठगुन्नाले बताए । दुई घण्टामा सदरमुकाम खलंगा पुगिँदै आएकोमा अहिले एक दिन पूरै लाग्ने उनको भनाइ छ ।


सडक अवरुद्ध भएर यातायात नचल्दा आवतजावतसँगै सामान ओसारपसार गर्न साह्रै अप्ठ्यारो भएको स्थानीय बासिन्दाहरूले बताए ।


सबैभन्दा बढी महिला र बालबालिकाहरू मारमा परेका गाउँलेहरू बताउँछन् । महाकाली तटीय क्षेत्र मानिसहरू यातायात अवरुद्ध हुँदा जोखिमपूर्ण रूपमा तुइन र ट्युबबाट महाकालीको भेल तर्न बाध्य भएका छन् । सडकमा ठाउँ–ठाउँमा पहिरो खसेपछि असार दोस्रो साताबाट अवरुद्ध रहेको दत्तु जौलजिबी उकु सडक अहिलेसम्म सुचारु हुन सकेको छैन ।


यो सडक अवरुद्ध हुँदा मालिकार्जुन र लेकम गाउँपालिकाका एक दर्जन गाउँका स्थानीयलाई आवतजावतमा समस्या भएको मालिकार्जुन ६ का चन्द्रसिंह धामीले बताए । महाकाली लोकमार्गको साकार, शंकरपुर, पनेबाज, मालिकार्जुन, काँकडाखला, ग्वानी लगायतका ठाउँमा पहिरो गएपछि जोखिम बढेको प्रशासनले जनाएको छ ।


गत वर्ष महाकाली ९ साकार खोलामा सानो पुल बगाएपछि अहिलेसम्म उक्त खोलामा पुल बन्न सकेको छैन । अहिले डाइभर्सन बनाएर सवारी चलाइरहेका छन् । वर्षात भएको दिन त्यस खोलामा पानीको सतह बढ्ने हुँदा यातायातका साधन चलाउन धेरै अप्ठ्यारो हुने गरेको सवारी चालक बनाउँछन् ।


प्रकाशित : भाद्र ६, २०७५ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?