२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नदी गाउँ पस्ने खतरा कायमै

गणेश चौधरी

टीकापुर — टीकापुर ५, शाहीपुरमा कर्णाली नदीको कटान रोकिएको छैन । स्थानीय र प्रहरी तथा सेनाको टोलीले जैविक तटबन्धबाट कटान रोक्ने प्रयास गरे पनि नदीले जैविक तटबन्ध बगाएको छ ।

नदी गाउँ पस्ने खतरा कायमै

जैविक तटबन्ध निर्माणमा स्थानीयलाई सघाइरहेको सेना र प्रहरीको टोली पनि फर्केको छ । रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाले नदी कटान रोक्न ‘स्पर’ बनाउन सुरु गरेको छ । तर नदी किनारको बलौटे माटो खस्न छोडेको छैन ।

‘करिब ३ मिटर डिल कटान भयो भने कर्णालीको पानी सबै टीकापुर नगरपालिकाको दक्षिणी भाग नारायणपुर, सत्ती र धनसिंहपुरका गाउँमा पस्छ,’ वडा ९ का अध्यक्ष लौटन थारूले भने । कर्णाली कटान नरोकिएपछि नदी तटीय टीकापुरका बासिन्दा त्रसित छन् । नदी कटानले टीकापुर नगरपालिकाको ५, ७ , ८ र ९ नम्बर वडाका गाउँमा कर्णाली पस्न सक्ने जनाइएको छ ।

पक्की तटबन्ध निर्माण हुन बाँकी रहेको दौलतपुर घाटनजिकै करिब १ किमिमा कर्णाली नदीले कटान तीव्र बनाएको हो । जैविक तटबन्धमा श्रमदानमार्फत रोकथामको प्रयास गर्दै आएका स्थानीय पनि गरिएको जैविक तटबन्ध बगाइदिएपछि निराश छन् । रानीजमरा कुलरिया कुलो सिँचाइ आयोजना कार्यालयबाट जैविक तटबन्धका लागि प्लास्टिक डोरी, बोरा तथा जाली उपलब्ध गराउँदै आएको हो । वर्षापछि पक्की तटबन्धको काम सुरु हुने आयोजनाले जनाएको छ ।

स्थानीयका अनुसार पक्की तटबन्ध बनेको ठाउँमा नदी कटान छैन । तटबन्ध नभएको ठाउँबाट भने नदी गाउँमा पस्ने खतरा छ । कर्णाली नदीमा बर्सेनि आउने बाढीले यहाँको खेतीयोग्य जमिन कटान र डुबानमा पर्ने भएकाले नियन्त्रणका लागि आयोजनाले कर्णाली मोहना र पथरैया नदीमा तटबन्ध गर्दै आएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?