नदी गाउँ पस्ने खतरा कायमै

गणेश चौधरी

टीकापुर — टीकापुर ५, शाहीपुरमा कर्णाली नदीको कटान रोकिएको छैन । स्थानीय र प्रहरी तथा सेनाको टोलीले जैविक तटबन्धबाट कटान रोक्ने प्रयास गरे पनि नदीले जैविक तटबन्ध बगाएको छ ।

जैविक तटबन्ध निर्माणमा स्थानीयलाई सघाइरहेको सेना र प्रहरीको टोली पनि फर्केको छ । रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाले नदी कटान रोक्न ‘स्पर’ बनाउन सुरु गरेको छ । तर नदी किनारको बलौटे माटो खस्न छोडेको छैन ।

‘करिब ३ मिटर डिल कटान भयो भने कर्णालीको पानी सबै टीकापुर नगरपालिकाको दक्षिणी भाग नारायणपुर, सत्ती र धनसिंहपुरका गाउँमा पस्छ,’ वडा ९ का अध्यक्ष लौटन थारूले भने । कर्णाली कटान नरोकिएपछि नदी तटीय टीकापुरका बासिन्दा त्रसित छन् । नदी कटानले टीकापुर नगरपालिकाको ५, ७ , ८ र ९ नम्बर वडाका गाउँमा कर्णाली पस्न सक्ने जनाइएको छ ।

Yamaha

पक्की तटबन्ध निर्माण हुन बाँकी रहेको दौलतपुर घाटनजिकै करिब १ किमिमा कर्णाली नदीले कटान तीव्र बनाएको हो । जैविक तटबन्धमा श्रमदानमार्फत रोकथामको प्रयास गर्दै आएका स्थानीय पनि गरिएको जैविक तटबन्ध बगाइदिएपछि निराश छन् । रानीजमरा कुलरिया कुलो सिँचाइ आयोजना कार्यालयबाट जैविक तटबन्धका लागि प्लास्टिक डोरी, बोरा तथा जाली उपलब्ध गराउँदै आएको हो । वर्षापछि पक्की तटबन्धको काम सुरु हुने आयोजनाले जनाएको छ ।

स्थानीयका अनुसार पक्की तटबन्ध बनेको ठाउँमा नदी कटान छैन । तटबन्ध नभएको ठाउँबाट भने नदी गाउँमा पस्ने खतरा छ । कर्णाली नदीमा बर्सेनि आउने बाढीले यहाँको खेतीयोग्य जमिन कटान र डुबानमा पर्ने भएकाले नियन्त्रणका लागि आयोजनाले कर्णाली मोहना र पथरैया नदीमा तटबन्ध गर्दै आएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ १०:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छाडा बस्तु छाडै भए

स्थानीय तहले सरकार सञ्चालन गरेको वर्ष दिनभन्दा बढी भए पनि गाईगोरुको व्यवस्थापन भएको छैन ।
गणेश चौधरी

टीकापुर — टीकापुरमा अझै छाडा गाइगोरुको व्यवस्थापन हुन सकेको छैन । स्थानीय तह चुनावको मुख्य एजेन्डा छाडा गाइगोरुको व्यवस्थापन थियो । तर स्थानीय तहले सरकार सञ्चालन गरेको वर्ष दिनभन्दा बढी भए पनि गाईगोरुको व्यवस्थापन भएको छैन । 

कैलालीको टीकापुरमा छाडा गाईगोरु । तस्बिर : कान्तिपुर

टीकापुर नगरपालिकाले करिब ६ सयभन्दा बढी गाईगोरु भुराखानी सामुदायिक वनमा ३ बिघा क्षेत्रफलमा तारबार घेरेर राख्यो । थुनिएका गाइगोरुलाई आहारा दिन नसक्ने भएपछि ट्रकमा राखेर पहाडी जिल्ला पनि पठायो । तर नगरपालिकामा छाडा गाईगोरुको संख्या खासै घटेन । ‘धेरै गाइगोरु पहाडी जिल्ला पनि पठायौं, तर कताबाट आउँछन् फेरि उत्ति नै भइहाल्छन्,’ टीकापुर नगरपालिकाका प्रवक्ता वडाध्यक्ष दीर्घ ठकुल्लाले भने, ‘तारबार गरेर गाईगोरु थुन्न नगरपालिकाले लगानी गर्‍यो । पाल्न समस्या भयो । पहाडी जिल्ला लग्छौं भनेर नगरपालिकाबाट ढुवानी खर्च पनि लगे । समस्या अझै टरेन ।’

छाडा पशु व्यवस्थापनका लागि नगर कार्यपालिकाका सदस्य अक्कल माफीको संयोजकत्वमा एक समिति पनि बनाइएको छ । संयोजक माझीले भने, ‘गाईले दूध दिउन्जेल घरमा राख्छन् । दूध दिन छोडेपछि घरबाट खेद्छन् । अनि त छाडा गाईगोरु बढेको बढ्यै हुन थाले । अहिले पनि करिब साढे ३ सय गोरु तारबार लाएर राखेका छौं । ‘छाडा पशु अछाम, सुर्खेत, दैलेख, कालीकोट लगायतका पहाडी जिल्लामा पठाइएको स्थानीय तहका जनप्रतिनिधिले दाबी गरे । टीकापुर नगरपालिकाले ९ सय ८३ गोरु पहाडी जिल्ला पठाएको जनाएको छ । पहाडी जिल्लामा गाईगोरु लैजानेहरूलाई प्रतिगोटा एक हजार रुपैयाँसम्म पारिश्रमिकको व्यवस्था स्थानीय तहले गरे ।

पहाडी जिल्लामा गाईगोरु लैजान नगरपालिकाबाट नगद लिएका व्यक्तिले पहाडी जिल्ला नपुर्‍याई आधा बाटोमा छोड्दा गाई गोरु फेरि फर्केर आएका स्थानीय बताउँछन् ।

टीकापुर नगरपालिकाले छाडा पशु नियन्त्रणमा सघाउ पुग्ने भन्दै पशु बिमा कार्यक्रम पनि लागू गर्‍यो । छाडा गाईगोरु पहाडी जिल्ला पनि पठायो । काँडेतार लगाएर पनि राख्यो । तर तर छाडा पशु अझै पूर्ण नियन्त्रण हुन सकेको छैन । छाडा गाइगोरुका कारण यहाँका किसान आक्रान्त बनेपछि स्थानीय चुनावमा यसको नियन्त्रण प्रमुख चुनावी मुद्दा बनेको थियो ।

छाडा गाइगोरुले किसानका बालीनाली सखाप बनाउनुका साथै राजमार्ग तथा बजारमा ट्राफिक समस्या भएपछि स्थानीय तहको चुनावमा दलका उम्मेदवारलेछाडा गाईगोरु व्यवस्थापनको नारा ल्याएका थिए ।

रानी जमरा कुलरिया कुलो सिँचाइ आयोजनाअन्तर्गत खेतीपाती बढ्दै गए पनि छाडा पशुले हैरान बनाएको किसानहरू बताउँछन् ।टीकापुर नगरपालिका १ वनगाउँका चमन चौधरीले भने, ‘खेती गर्ने कि नगर्ने भइसक्यो । कि गाईगोरु नियन्त्रण हुनुपर्‍यो कि क्षतिपूर्तिदिनुपर्‍यो ।’

प्रकाशित : भाद्र ५, २०७५ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT