२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

किशोरी बलात्कार र हत्या प्रकरणः प्रदेश सरकारद्वारा कञ्चनपुरवासीलाई संयमित हुन आग्रह

अर्जुन शाह

धनगढी — प्रदेश सरकारले कञ्चनपुरमा विकसित पछिल्लो असहज अवस्थामा सबै पक्षलाई संयम हुन आग्रह गरेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरणः प्रदेश सरकारद्वारा कञ्चनपुरवासीलाई संयमित हुन आग्रह

मंगलबारदेखि महेन्द्रनगर अशान्त हुँदै गएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिहीबार प्रदेश सरकारले प्रधानमन्त्री र गृहमन्त्रीसँग विशेष समन्वय गरिरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताएका छन् ।


प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले बिहीबार मन्त्रिपरिषद्को बैठकमा कञ्चनपुरको पछिल्लो अवस्थाका बारेमा गम्भीर छलफल भएको बताएका छन् ।


कञ्चनपुरमा १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको प्रदेश सरकार प्रष्ट रहेको बताएका छन् । उनले विशेष छानबिनका लागि उच्च स्तरीय छानबिन समिति गठन गरी पीडितलाई न्याय दिलाउन प्रदेश सरकार प्रयन्तरत रहेको बताएका छन् ।


‘महेन्द्रनगरको पछिल्लो अवस्थाका बारेमा हामी निक्कै संवेदनशील छौँ’ मन्त्री शाहले भने, ‘पछिल्लो अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई अवगत गराउँदै पीडितलाई न्याय दिलाउन उच्च स्तरीय छानबिन समिति गठन गर्न आग्रह गरेका छौँ’ मन्त्री शाहले भने ‘यस घडीमा स्थानीयलाई संयमित हुन प्रदेश सरकार विशेष आग्रह गर्दछ ।’


मन्त्रिपरिषद्को बैठक लगत्तै कञ्चनपुरको पछिल्लो परिस्थिती लगायत प्रदेशको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रदेश सुरक्षा समितिको बैठक बसिरहेको छ ।


बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, मन्त्रालयका सचिव शंकर अर्याल, सशस्त्र, जनपथ र राष्टिय अनुसन्धानका डिआईजी प्रदेशस्थित सुरक्षा अधिकारी र कैलालीस्थित प्रजिअ र प्रहरी प्रमुखको उपस्थिती रहेको छ ।


कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले दोषीलाई उम्काउने कोशिस गरेको भन्दै स्थानीयले तीन दिनदेखि प्रदर्शन जारी राखेका छन् ।

प्रकाशित : भाद्र ७, २०७५ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?