सुरु भयो बिरिजात मेला

बझाङ — पाँच दिनसम्म चल्ने जिल्लाकै प्रसिद्ध बिरिजात मेलाको रौनक सुरु भएको छ । श्रावण शुक्ल पक्षको एकादशीबाट सुरु भएर जनै पूर्णिमाका दिन समापन हुने मेला भर्न तीर्थ यात्रीहरू बिहीबार सुर्मा सरोवरतिर प्रस्थान गरेका छन् ।

सुरु भयो बिरिजात मेला

समुद्र सतहदेखि ४ हजार ९ सय मिटरको उचाइमा रहेको सुर्मा सरोवर ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

शुद्ध मनले सुर्मा सरोवरमा स्नान गर्नाले मनोकामना प्राप्त हुने जनविश्वास भएका कारण आफूहरू मेला भर्न जान लागेको कैलाश छबिस पाथिभेराका मीनबहादुरले बताए । मेला भर्न जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँबाट सयौं तीर्थालु सुर्मा सरोवरतर्फ गइरहेको सुर्मा गाउँपालिकाका चक्र बोहराले बताए । यस क्षेत्रमा तीर्थ यात्रामा जाने यात्रुले छाता ओढ्न र जुत्ता लगाउन नपाइने नियम छ ।

तीर्थालुहरू शुक्लपक्ष एकादशीका दिन जयपृथ्वी नगरपालिकाको सेलाखेतमा रहेको सुर्मा मन्दिरमा पूजाआजा गरी सुर्मा सरोवरको यात्रामा निस्कने गर्छन् । एकादशीका दिन दौलीचौरको घोगाडामा रहेको सुर्मा थलीमा रातभर विभिन्न खालका भारी खेल खेलेर जाग्राम गर्ने र भोलिपल्ट बिहानै हिँडेर साँझ सुर्मा सरोवर पुग्ने गरेको सुर्माका लोकेन्द्र हिलारीले बताए ।

शाहीका अनुसार त्रयोदशीका दिन बिहान सुर्मा सरोवरमा स्नान गरी पूजाआजा गर्ने र त्यसको भोलिपल्ट त्यहाँबाट फर्केर सुर्मा गाउँपालिकाकाको थकुन्डा गाउँमा रहेको सुर्मा देवीको मुख्य मन्दिरमा धुमधामसँग पूजा गरेपछि मेला सकिने गर्छ ।

सुर्मा सरोवर जिल्लाकै एक चर्चित पर्यटकीय गन्तव्य पनि हो । पछिल्लो समय धेरैजसो मानिसहरू धार्मिक भन्दा पनि यहाँको भौगोलिक सुन्दरता अवलोकन गर्न अन्य समयमा पनि यस क्षेत्रको भ्रमणमा जाने गर्छन् ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?