जयपृथ्वी जयन्ती : विभूति घोषणा गर्न हस्ताक्षर

१९५८ मा जयपृथ्वीबहादुर सिंहले गोरखापत्रको प्रकाशन सुरु गरेका थिए
वसन्तप्रताप सिंह

बझाङ — बझाङमा जन्मिएर विश्वभर मानवताको सन्देश फैलाएका मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्ती जिल्लाभर धुमधामसँग मनाइएको छ ।

जयपृथ्वी राष्ट्रिय विभूति घोषणा गर्न आयोजित अभियानमा हस्ताक्षर गर्दै स्थानीय । तस्बिर : वसन्तप्रताप

उनको स्मृति दिवसको अवसरमा जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै हस्ताक्षर संकलन अभियानसमेत सञ्चालन गरिएको छ ।

उक्त दिवसका अवसरमा उनले स्थापना गरेको सत्यवादी माध्यमिक विद्यालय जयपृथ्वी नगर र सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका छन् । यस्तै, जयपृथ्वी क्याम्पस, जयपृथ्वी सामुदायिक अध्ययन केन्द्र र विभिन्न राजनीतिक दलहरूले हाजिरी जवाफ, हिज्जे, प्रवचन तथा सांस्कृतिक कार्यक्रम गरी सिंहको सम्झना गरेका छन् । कतिपय संस्थाहरूले समाज सुधारका लागि योगदान दिने व्यक्तिहरूलाई सम्मानित गरेर जयपृथ्वीको सम्झना गरेका छन् भने कतै विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।

Yamaha

उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लामो समयदेखि उठिरहेको भए पनि सरकारले उनका योगदानको कदर गर्न नसकेको स्थानीयको गुनासो छ । ‘नेपाली भाषा साहित्य, शिक्षा, पत्रकारिताका क्षेत्र उनले गरेको योगदानका कारण यहाँसम्म आइपुगेको हो,’ हस्ताक्षर अभियानको नेतृत्व गरेका स्थानीय नगेन्द्र खडकाले भने ‘यसका अलावा मानवताको सन्देश विश्वभर फैलाएर नेपाललाई विश्वसामु चिनाएका उनलाई सरकारले चिन्न सकेको छैन,’ उनले अहिलेलाई हस्ताक्षर संकलन गरिने र पछि विभिन्न दबाबमूलक कार्याक्रम गरेर जयपृथ्वीको योगदानलाई संस्थागत गरिने बताए ।

१९३४ साल भदौ ७ गते बझाङको राजपरिवारमा जन्मिएका जयपृथ्वीले नेपालमा सामाजिक सुधारका थुप्रै काम गरेका थिए । मानवतावादको सन्देश फैलाउँदै विश्व भ्रमण गर्ने पहिलो नेपाली हुन् । उनले देशमा जहानियाँ राणा शासनको जगजगी भएका बेला पनि सबै मानव बराबर हुन् भन्ने कुराको वकालत गरेका थिए । १९५६ सालमा बझाङमा अदालत स्थापना गरेर न्यायिक सुधारका लागि समेत पहल गरेका थिए ।

१९५८ ‘अक्षरांक शिक्षा’ नामक पुस्तक लेखेर पाठशालामा पढाउने व्यवस्था गरे । नेपाली भाषामा लेखिएको यो पुस्तक पहिलो भएको विभिन्न इतिहासकारहरू दाबी गर्छन् । उनले १९६२ सालमा काठमाडौंको नक्सालमा रहेको आफ्नै निवासमा सत्यवादी पाठशालाको स्थापना गरी सर्वसाधारणलाई पनि पढ्ने व्यवस्था मिलाएका थिए ।

सर्वसाधारणलाई शिक्षा दिने उनको यो कदम राणाहरूले मन नपराएपछि सोही नाममा उनले बझाङको मेल्लेकमा विद्यालय खोले । जुन अहिले पनि सञ्चालनमा छ । बालबोध, ज्ञानमाला, श्रेस्ता दर्पण, पदार्थ तत्त्वबोध, भूगोल विद्या, प्राकृत व्याकरण, शिक्षा दर्पण, तत्त्व प्रशंसा, व्यवहारमाला जस्ता थुप्रै पुस्तकहरू आफैंले लेखेर विद्यालयमा पढाउने व्यवस्था उनले गरेका थिए ।

उनले बंगलादेशबाट बझाङमा चिकित्सक ल्याएर रानी खगेश्वरीको नामबाट खग–आयुर्वेद औषधालयको स्थापना गरेका थिए । यस्तै बझाङबाट डोटी हुँदै भारतको टनकपुरसम्म जानका लागि घोडेटो बाटो निर्माण गर्न लगाएका थिए । भोटसँगको व्यापार सहज होस् भनेर बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको मानसरोवरको बाटो पनि उनले नै निर्माण गर्न लगाएका हुन् ।

सिंहले यस अवधिमा जिल्लाको खनिज सम्पदाको पनि उत्खनन गर्न लगाएका थिए । जयपृथ्वीको समयमा बझाङको सुर्मा गाविसमा रहेको सुनखानी, व्यासी, कैलाश गाउँमा रहेका तामा खानी, कडेल र धमेना र पीपलकोट गाउँमा रहेका फलाम खानीको उत्खनन र स्थानीय स्तरमै प्रशोधन गरी भाँडाकुँडा बनाउने उद्योगहरू उनले स्थापना गराएका थिए ।

मेल्लेक (हालको जयपृथ्वीनगर) मा हावाबाट चल्ने बिजुली घट्टको समेत निर्माण गर्न लगाएका थिए । उनले स्थापना गरेको इँटाभट्टीबाट निर्मित “श्री जय” लेखिएका इँटा पनि यस क्षेत्रमा अहिलेसम्म भेटिन्छन् । यसका अलवा उनले बझाङमा हुलाक, कारागारजस्ता कार्यालय पनि स्थापना गरेर यहाँको सामाजिक सुधारमा काम गरेका थुप्रै लिखत भेटिन्छन् ।

१९५८ मा गोरखापत्रको प्रकाशन सुरु गरेका उनले १९६४ मा नेपालको भारदारी अड्डाको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनको बहुमुखी प्रतिभा, विकास र मानवतावादी विचारबाट प्रभावित भई तत्कालीन बेलायत सम्राट एडवर्ड सप्तमले उनलाई मानार्थ ‘कर्णेल’ को उपाधिले सम्मान गरेका थिए । १९७२ मा सुरु भएको विश्वयुद्धमा भएको मानव विनाशबाट विक्षिप्त बनेका उनले त्यसै बेला राजकाज परित्याग गरी विश्वभर मानवताको सन्देश फैलाउन हिँडेका थिए ।

त्यस बेला उनले फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, बेलग्रेट, हंगेरी, भियना, अस्ट्रिया, अमेरिका, थाइल्यान्ड, चीन, जापान, स्वीटजरल्यान्ड, इटली अविसिनिया, बर्मा लगायतका धेरै देशको भ्रमण गरेर त्यहाँ आफ्नो मानवतावादी दर्शनको प्रचारप्रसार गरेका थिए । भम्रणकै क्रममा बर्मामा जे.पी. इन्स्टिच्युट र नेपाली भाषा पाठशाला खोलेका थिए ।

सन् १९३३ मा अमेरिकाको सिकागोमा भएको विश्व आस्था मन्त्री सम्मेलनमा विभिन्न विषयमा सातवटा प्रवचन दिएका उनको चर्चा त्यसताका विश्वसामु चुलिएको थियो । उनले भ्रमणकै क्रममा बेलायतको संसद्मा पनि मावनतावादसम्बन्धी प्रवचन दिएका थिए ।

आफ्नो भ्रमणको क्रममा उनले विश्वका विभिन्न देशमा सयवटा भन्दा बढी मानवतावादी संस्थाको खोले । ‘द ह्युमानिस्ट क्लब’ नामका उनले खोलेका संस्थाहरू अहिले पनि भारत लगायत विभिन्न देशमा सञ्चालनमा छन् ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सुरु भयो बिरिजात मेला

कान्तिपुर संवाददाता

बझाङ — पाँच दिनसम्म चल्ने जिल्लाकै प्रसिद्ध बिरिजात मेलाको रौनक सुरु भएको छ । श्रावण शुक्ल पक्षको एकादशीबाट सुरु भएर जनै पूर्णिमाका दिन समापन हुने मेला भर्न तीर्थ यात्रीहरू बिहीबार सुर्मा सरोवरतिर प्रस्थान गरेका छन् ।

बझाङको सुर्मा मेलामा जाने धामीलाई काँधमा बोकेर लैजाँदै तीर्थालु । सुर्मामा जनै पूर्णिमामा सकिने पाँचदिने बिरिजात मेला लागेको छ । तस्बिर : वसन्तप्रताप सिंह

समुद्र सतहदेखि ४ हजार ९ सय मिटरको उचाइमा रहेको सुर्मा सरोवर ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

शुद्ध मनले सुर्मा सरोवरमा स्नान गर्नाले मनोकामना प्राप्त हुने जनविश्वास भएका कारण आफूहरू मेला भर्न जान लागेको कैलाश छबिस पाथिभेराका मीनबहादुरले बताए । मेला भर्न जिल्लाभित्र र बाहिरका विभिन्न ठाउँबाट सयौं तीर्थालु सुर्मा सरोवरतर्फ गइरहेको सुर्मा गाउँपालिकाका चक्र बोहराले बताए । यस क्षेत्रमा तीर्थ यात्रामा जाने यात्रुले छाता ओढ्न र जुत्ता लगाउन नपाइने नियम छ ।

तीर्थालुहरू शुक्लपक्ष एकादशीका दिन जयपृथ्वी नगरपालिकाको सेलाखेतमा रहेको सुर्मा मन्दिरमा पूजाआजा गरी सुर्मा सरोवरको यात्रामा निस्कने गर्छन् । एकादशीका दिन दौलीचौरको घोगाडामा रहेको सुर्मा थलीमा रातभर विभिन्न खालका भारी खेल खेलेर जाग्राम गर्ने र भोलिपल्ट बिहानै हिँडेर साँझ सुर्मा सरोवर पुग्ने गरेको सुर्माका लोकेन्द्र हिलारीले बताए ।

शाहीका अनुसार त्रयोदशीका दिन बिहान सुर्मा सरोवरमा स्नान गरी पूजाआजा गर्ने र त्यसको भोलिपल्ट त्यहाँबाट फर्केर सुर्मा गाउँपालिकाकाको थकुन्डा गाउँमा रहेको सुर्मा देवीको मुख्य मन्दिरमा धुमधामसँग पूजा गरेपछि मेला सकिने गर्छ ।

सुर्मा सरोवर जिल्लाकै एक चर्चित पर्यटकीय गन्तव्य पनि हो । पछिल्लो समय धेरैजसो मानिसहरू धार्मिक भन्दा पनि यहाँको भौगोलिक सुन्दरता अवलोकन गर्न अन्य समयमा पनि यस क्षेत्रको भ्रमणमा जाने गर्छन् ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT