कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महँगा गाडीमा जनप्रतिनिधि

मेनुका ढुंगाना

अछाम — स्थानीय तहका जनप्रतिनिधिमा गाडी मोह झ्यागिँदै गएको छ । एक वर्ष नबित्दै अधिकांश पदाधिकारी गाडी र मोटरसाइकल खरिदमा लागेका छन् । उनीहरू विकासे बजेट खर्चेर सवारी खरिद गरिरहेका हुन् ।

महँगा गाडीमा जनप्रतिनिधि

१० वटा स्थानीय तह रहेको अछाममा ५ वटा स्थानीय तहले महँगा गाडी खरिद गरिसकेका छन् । अन्य स्थानीय तहले पनि गाडी किन्ने प्रक्रिया अगाडि बढाएका छन् । मंगलसैन नगरपालिकाले महँगो मानिने फोर्ड कम्पनीको १ करोड २१ लाख पर्ने गाडी खरिद गरेको छ ।

साँफेबगर नगरपालिकाले ४९ लाख ६५ हजार पर्ने महिन्द्रा कम्पनीको स्कारपियो खरिद गरेको छ । ढकारी गाउपाँलिकाले टोयाटा कम्पनीको ८० लाख २५ हजार पर्ने गाडी, चौरपाटीले ५४ लाख १० हजार पर्ने महिन्द्रा कम्पनीको र पञ्चदेवल विनायक नगरपालिकाले फोर्ड कम्पनीको ६६ लाख रुपैयाँ पर्ने गाडी खरिद गरेका छन् ।

९१ वडा रहेको अछामका सबै वडाध्यक्षले मोटरसाइकल खरिद गरिसकेका छन् । स्थानीय तहका प्रमुखहरूले आफ्ना लागि महँगो तथा सुविधायुक्त गाडी खरिद गरेका हुन् भने उपप्रमुख र वडाध्यक्षहरू मोटरसाइकल चढिरहेका छन् ।

मंगलसैन नगरपालिकाका ओमप्रकाश ढुंगानाले स्थानीय सरकार प्रमुख, उपप्रमुख र वडाध्यक्षले आन्तरिक राजस्व बढाउने काम गर्नुभन्दा केन्द्रबाट प्राप्त हुने विकास निर्माणको बजेटबाट सवारी साधन खरिद गरिरहेको बताए । ‘जनप्रतिनिधिहरू चुनावका बेला गरेको खर्च असुल्न केन्द्रित भएको देखिन्छ,’ उनले भने ।

अनावश्यक भत्ता लिने, खर्च भएकोभन्दा बढीको बिल पेस गरेर भुक्तानी लिने, महँगो गाडी र मोटरसाइकल खरिद गरी व्ययभार बढाउने कार्यहरू गरिएको ढुंगानाको आरोप छ । वडामा चुनाव लडेका उम्मेदवारले ५० लाखसम्म र प्रमुखमा चुनाव लडेकाले एकदेखि दुई करोडसम्म खर्च गरेको स्थानीय बासिन्दा बताउँछन् । त्यसैले चुनाव जितेपछि विकास गर्नुभन्दा बढी रकम असुलीमा केन्द्रित भएको ढुंगानाको आरोप छ ।

मंगलसैन नगरपालिकाले सबैको सुझाव सल्लाहलाई मध्यनजर गर्दै गाडी खरिद गरेको नगरप्रमुख पदमबहादुर बोहराले बताए । ‘राज्यका महत्त्वपूर्ण व्यक्ति आउँदा मंगलसैनको गाडी नै प्रयोग हुने भएकाले महँगो गाडी किनेका हाैं,’ उनले भने, ‘मलाई सेवा सुविधाको कुनै लोभ छैन, ५ वर्षपछि मैले आफ्नै अवस्थामा फर्कनुपर्छ भन्ने थाहा छ ।

गाडी नगरपालिकामा नै रहने हो ।’ नगर कार्यपालिकाका २४ जनाको बोर्ड बैठकले गाडी किन्ने निर्णय पास गरेको र ७२ जना जनप्रतिनिधि भएको नगरसभाले समेत अनुमोदन गरेको उनले बताए ।

प्रकाशित : भाद्र ९, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?