कृषि उत्पादन र प्रविधिमा सहयोग

गणेश चौधरी

टीकापुर — रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले दोस्रो चरणको कार्यक्रम सुरु गरेको छ ।

कैलालीको चिसापानीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना । फाइल तस्बिर : कान्तिपुर

दोस्रो चरणमा सिँचाइ आयोजनाको कमान्ड क्षेत्रमा कृषि उत्पादन र बजारीकरणका लागि आवश्यक प्राविधिक सेवा र सामान्य पूर्वाधारलगायत काम हुनेछन् ।

आयोजनाको कृषितर्फको कार्यालयका प्रमुख सुनील सिंहले पोस्ट हार्वेस्ट केन्द्र स्थापना, कृषि यान्त्रीकरण उपकरण, नर्सरी ग्रिन हाउस, सेड हाउस स्थापनामा सहयोग, प्रविधि अवलम्बन सहयोग लगायतका कार्यक्रम गरिने जानकारी दिए । ‘उद्यमी कृषक, कृषक समूह, कृषि सहकारी र बजारीकरणका लागि पहिचान जोगाउन खटिएका क्लबहरूलाई दोस्रो चरणमा सहयोग गरिनेछ,’ उनले भने ।

Yamaha

पहिलो चरणमा कृषकलाई कृषि पेसामा आकर्षित गराउने कार्यक्रम सञ्चालन गरिएका थिए । दोस्रो चरणमा मागमा आधारित कार्यक्रम सञ्चालन हुने प्रमुख सिंहले बताए । उनले भने, ‘केही कार्यक्रम लागतमा स्थानीय सहभागिता ५० प्रतिशत र केहीमा २५ प्रतिशतको हुनेछ ।’ दोस्रो चरणको कृषि सहयोग कार्यक्रमको अवधि ५ वर्ष तोकिएको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगले व्यावसायिक खेतीका लागि किसानमा जागरुकता र कृषि प्राविधिकहरूको सहयोग र अनुदानले कृषि उत्पादन बढ्दै गएको आयोजनाले जनाएको छ । आयोजनाको कृषितर्फको कार्यालयले सार्वजनिक गरेको पहिलो चरणको प्रगति प्रतिवेदनअनुसार कृषि प्लटमा प्रतिहेक्टर ३८ क्विन्टल धान फलेको छ । सहयोग नगरेका किसानको प्लटमा प्रतिहेक्टर २५ क्विन्टल मात्रै फलेको देखिन्छ ।

आयोजनाको सहयोग प्लटमा गहुँ प्रतिहेक्टर ३७ क्विन्टल फलेको र किसान आफंैले खेती गरेको प्लटमा प्रतिहेक्टर २९ क्विन्टल फलेको प्रगति प्रतिवेदनमा उल्लेख छ । आयोजनाले सहयोग गरेको प्लटमा तोरी प्रतिहेक्टर ११ क्विन्टल र किसानको प्लटमा प्रतिहेक्टर ९ क्विन्टल फलेको छ ।

आयोजनाले सहयोग गरेको प्लटमा कृषि प्राविधिकले नियमित रेखदेख र सुझाव सल्लाह दिइरहने र किसानले पनि उन्नत बीउ तथा मलको प्रयोग गर्ने भएकाले उत्पादन बढेको कार्यालय प्रमुख सिंहले बताए । ‘कृषिमा ठूलो लगानी भएको छ । किसान पनि व्यवसायीकरणमा जाँदैछन्,’ उनले भने ।

रानीजमरा र कुलरिया कुलो सिँचाइ आयोजनाका कारण विगतको जस्तो पानीको समस्या नहुनु र सिँचाइ आयोजनाको कृषितर्फको छुट्टै आयोजनाबाट भएको अनुदान सहयोगले यहाँको कृषि उत्पादन बढाउन सहयोग मिलेको किसान बताउँछन् ।

टीकापुर नगरपालिका–१ वनगाउँका जितबहादुर चौधरीले आयोजनाले किसानलाई कृषि तालिम तथा कृषियन्त्रमा पनि सहयोग गरेको बताए । उनले बीउ भण्डारण गृहसमेत निर्माण गरिएकाले उन्नत बीउ पाउन पनि सजिलो भएकामा खुसी व्यक्त गरे । ‘कृषि सीप र प्रविधिमा पनि आयोजनाबाट सहयोग भएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र ९, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्

नदी गाउँ पस्ने खतरा कायमै

गणेश चौधरी

टीकापुर — टीकापुर ५, शाहीपुरमा कर्णाली नदीको कटान रोकिएको छैन । स्थानीय र प्रहरी तथा सेनाको टोलीले जैविक तटबन्धबाट कटान रोक्ने प्रयास गरे पनि नदीले जैविक तटबन्ध बगाएको छ ।

जैविक तटबन्ध निर्माणमा स्थानीयलाई सघाइरहेको सेना र प्रहरीको टोली पनि फर्केको छ । रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाले नदी कटान रोक्न ‘स्पर’ बनाउन सुरु गरेको छ । तर नदी किनारको बलौटे माटो खस्न छोडेको छैन ।

‘करिब ३ मिटर डिल कटान भयो भने कर्णालीको पानी सबै टीकापुर नगरपालिकाको दक्षिणी भाग नारायणपुर, सत्ती र धनसिंहपुरका गाउँमा पस्छ,’ वडा ९ का अध्यक्ष लौटन थारूले भने । कर्णाली कटान नरोकिएपछि नदी तटीय टीकापुरका बासिन्दा त्रसित छन् । नदी कटानले टीकापुर नगरपालिकाको ५, ७ , ८ र ९ नम्बर वडाका गाउँमा कर्णाली पस्न सक्ने जनाइएको छ ।

पक्की तटबन्ध निर्माण हुन बाँकी रहेको दौलतपुर घाटनजिकै करिब १ किमिमा कर्णाली नदीले कटान तीव्र बनाएको हो । जैविक तटबन्धमा श्रमदानमार्फत रोकथामको प्रयास गर्दै आएका स्थानीय पनि गरिएको जैविक तटबन्ध बगाइदिएपछि निराश छन् । रानीजमरा कुलरिया कुलो सिँचाइ आयोजना कार्यालयबाट जैविक तटबन्धका लागि प्लास्टिक डोरी, बोरा तथा जाली उपलब्ध गराउँदै आएको हो । वर्षापछि पक्की तटबन्धको काम सुरु हुने आयोजनाले जनाएको छ ।

स्थानीयका अनुसार पक्की तटबन्ध बनेको ठाउँमा नदी कटान छैन । तटबन्ध नभएको ठाउँबाट भने नदी गाउँमा पस्ने खतरा छ । कर्णाली नदीमा बर्सेनि आउने बाढीले यहाँको खेतीयोग्य जमिन कटान र डुबानमा पर्ने भएकाले नियन्त्रणका लागि आयोजनाले कर्णाली मोहना र पथरैया नदीमा तटबन्ध गर्दै आएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT