बगर बने जिउला

सेती नदीले १० वर्षमा ५ हजार रोपनीभन्दा बढी खेत बगाइसकेको छ । नदी किनारका ६ गाउँका सयौं स्थानीय विस्थापित भएका छन् ।
वसन्तप्रताप सिंह

बझाङ — दस वर्षअघिसम्म जयपृथ्वी नगरपालिकाको रुइनाबगरकी शंखधारा जोशीको परिवार ‘हुने खानेमा’ गनिन्थ्यो । छानापरीमा रहेको १० रोपनी खेतमा वार्षिक २५ क्विन्टल धान फल्थ्यो । त्यो उत्पादनले खानलाई छेलोखेलो थियो ।

सेती नदीको कटानले बर्सेनि खुम्चिँदै गएको बझाङ, मस्टाको जिउलो र जोखिममा परेका घरहरू । तस्बिर : वसन्तप्रताप

धान बेचेरै वर्षमा ८०/९० हजार नगद भित्रिन्थ्यो । जिल्लाकै उर्वर मानिने उनको खेतमा त्यही हाराहारीमा गहुँ फल्थ्यो । छरछिमेकी साह्रोगाह्रो पर्दा शंखधाराकै परिवारलाई सम्झिन्थे ।

प्रकृतिले उनको परिवारको खुसी धेरै टिक्न दिएन । सेती नदीको कटानले उब्जाउ खेत बर्सेनि बगाउँदै लग्यो । ०७३ सम्म आइपुग्दा छानापरीमा रहेको सबै खेत बगायो ।

Yamaha

हेर्दाहेर्दै उनको परिवार सुकुम्बासी भयो । सडकमा काम गर्दै गरेको अवस्थामा भेटिएकी शंखधाराले भनिन्, ‘पहिलाका दिन सम्झँदा सपना जस्तो लाग्छ । अहिले त मजदुरी गरेको दिन मात्र चुलो बल्छ । नत्र भोकै सुत्नुपर्छ ।’

१० वर्षकै अवधिमा सुकुम्बासी बन्नेमा रुइनाबगरमा शंखधारा मात्र एक्ली होइनन् । सेती नदीको कटानले यहाँका ५० परिवारको ५ सय रोपनीभन्दा बढी जमिन बगर भइसकेको छ । १५ परिवारको हालत शंखधाराको जस्तै छ ।

सेतीको कटान जारी रहेकाले प्रत्येक वर्ष सुकुम्बासीको संख्या थपिँदो छ । स्थानीय प्रयागराज जोशी भन्छन्, ‘जिउलो (धान फल्ने फाँट) को बीचमा सिँचाइ कुलो थियो । नदीले काटा कुलो नै बग्ने अवस्थामा पुगिसक्यो । कटान रोक्न कुनै उपाय अपनाइएन भने दुई तीन वर्षभित्रै गाउँका सबै सुकुम्बासी भइसक्छन् ।’

धेरैजना नदी कटानले सुकुम्बासी हुने लाइनमा छन् । नदी नियन्त्रणका लागि कुनै पनि प्रयास नगरिँदा जिल्लाको अन्न भण्डारका रूपमा रहेका सेती किनारका ५० भन्दा बढी फाँट जोखिममा परेका छन् ।

जयपृथ्वी नगरपालिकाको भोपुर गाउँको त बस्ती नै उठ्ने खतरा छ । यो गाउँको नजिकै रहेको कालाखालीमा २०३६ सम्म विमानस्थल सञ्चालनमा थियो । त्यो भन्दा वर स्थानीयका खेत थिए । बर्सेनि हुने नदी कटानले विमानस्थलको नामोनिसान मेटाइसक्यो । स्थानीयका २ सय ५० रोपनीभन्दा बढी खेत कटान गर्दै नदी गाउँतिर सोझिएको छ ।

घरै बगाउने डरले स्थानीयलाई ठूलो पानी पर्दा निद्रा पर्न छाडेको ईश्वरनाथ जोशीले बताए । उनले भने, ‘खाने खेत त बगायो बगायो । अब घर पनि नरहने भयो । कुन बेला सेती नदी गाउँमा पस्ने हो भन्ने डरले ठूलो पानी परेको दिन सुत्नै सकिँदैन ।’

यहाँका १३ घर कटानको उच्च जोखिममा रहेको स्थानीय रमेश केसीले बताए । उनले नदी नियन्त्रणका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा पटकपटक धाए पनि समस्याको सुनुवाइ नभएको बताए ।

‘कमिसनको सेटिङ मिलाउन सक्नेहरूको एकै ठाउँमा ५/ ६ पटकसम्म पनि योजना परेका छन् । हाम्रो गाउँ नै बग्न लागिसक्यो । कसैले हेरिदिएको छैन,’ उनले भने । सेती नदीको कटानले मस्टा गाउँपालिकाको जिन्नाडा, जाल्तडी, जयपृथ्वी नगरपालिकाको साइलाबगर, सुवेडा, गोलाई बस्टी, डिलबगर, सुतिया, थलाराको आमबगर, मालुमेला, पाराकाट्ने दगाजी र केदार स्युँ गाउँपालिकाको झोता र देउरालगायतका ठाउँमा पनि कटान तीव्र पारेकाले हजारौं रोपनी उब्जाउ खेत बग्ने खतरा रहेको स्थानीयले बताएका छन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार सेती नदीले प्रत्येक वर्ष २ हजार रोपनीको हाराहारीमा उब्जाउ भूभाग बगाउने गरेको छ । सेतीले १० वर्षयता ५ हजार रोपनीभन्दा बढी जमिन बगाएको र किनारामा रहेका ६ भन्दा बढी गाउँ विस्थापित भएको जिल्ला कृषि विकास अधिकृत राजेशकुमार केसीले बताए ।

उनले भने, ‘सबैभन्दा बढी उत्पादन हुने क्षेत्र त्यही हो, तर नदी कटानका कारण प्रत्येक वर्ष बेंसी क्षेत्रको जमिनको क्षेत्रफल घट्ने क्रममा छ ।’ नियन्त्रणको प्रभावकारी प्रयास नगरिए बझाङका जिउलाहरू केही वर्षभित्र बगरमा परिणत हुने उनले बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र ९, २०७५ १०:३३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कृषि उत्पादन र प्रविधिमा सहयोग

गणेश चौधरी

टीकापुर — रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले दोस्रो चरणको कार्यक्रम सुरु गरेको छ ।

कैलालीको चिसापानीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना । फाइल तस्बिर : कान्तिपुर

दोस्रो चरणमा सिँचाइ आयोजनाको कमान्ड क्षेत्रमा कृषि उत्पादन र बजारीकरणका लागि आवश्यक प्राविधिक सेवा र सामान्य पूर्वाधारलगायत काम हुनेछन् ।

आयोजनाको कृषितर्फको कार्यालयका प्रमुख सुनील सिंहले पोस्ट हार्वेस्ट केन्द्र स्थापना, कृषि यान्त्रीकरण उपकरण, नर्सरी ग्रिन हाउस, सेड हाउस स्थापनामा सहयोग, प्रविधि अवलम्बन सहयोग लगायतका कार्यक्रम गरिने जानकारी दिए । ‘उद्यमी कृषक, कृषक समूह, कृषि सहकारी र बजारीकरणका लागि पहिचान जोगाउन खटिएका क्लबहरूलाई दोस्रो चरणमा सहयोग गरिनेछ,’ उनले भने ।

पहिलो चरणमा कृषकलाई कृषि पेसामा आकर्षित गराउने कार्यक्रम सञ्चालन गरिएका थिए । दोस्रो चरणमा मागमा आधारित कार्यक्रम सञ्चालन हुने प्रमुख सिंहले बताए । उनले भने, ‘केही कार्यक्रम लागतमा स्थानीय सहभागिता ५० प्रतिशत र केहीमा २५ प्रतिशतको हुनेछ ।’ दोस्रो चरणको कृषि सहयोग कार्यक्रमको अवधि ५ वर्ष तोकिएको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगले व्यावसायिक खेतीका लागि किसानमा जागरुकता र कृषि प्राविधिकहरूको सहयोग र अनुदानले कृषि उत्पादन बढ्दै गएको आयोजनाले जनाएको छ । आयोजनाको कृषितर्फको कार्यालयले सार्वजनिक गरेको पहिलो चरणको प्रगति प्रतिवेदनअनुसार कृषि प्लटमा प्रतिहेक्टर ३८ क्विन्टल धान फलेको छ । सहयोग नगरेका किसानको प्लटमा प्रतिहेक्टर २५ क्विन्टल मात्रै फलेको देखिन्छ ।

आयोजनाको सहयोग प्लटमा गहुँ प्रतिहेक्टर ३७ क्विन्टल फलेको र किसान आफंैले खेती गरेको प्लटमा प्रतिहेक्टर २९ क्विन्टल फलेको प्रगति प्रतिवेदनमा उल्लेख छ । आयोजनाले सहयोग गरेको प्लटमा तोरी प्रतिहेक्टर ११ क्विन्टल र किसानको प्लटमा प्रतिहेक्टर ९ क्विन्टल फलेको छ ।

आयोजनाले सहयोग गरेको प्लटमा कृषि प्राविधिकले नियमित रेखदेख र सुझाव सल्लाह दिइरहने र किसानले पनि उन्नत बीउ तथा मलको प्रयोग गर्ने भएकाले उत्पादन बढेको कार्यालय प्रमुख सिंहले बताए । ‘कृषिमा ठूलो लगानी भएको छ । किसान पनि व्यवसायीकरणमा जाँदैछन्,’ उनले भने ।

रानीजमरा र कुलरिया कुलो सिँचाइ आयोजनाका कारण विगतको जस्तो पानीको समस्या नहुनु र सिँचाइ आयोजनाको कृषितर्फको छुट्टै आयोजनाबाट भएको अनुदान सहयोगले यहाँको कृषि उत्पादन बढाउन सहयोग मिलेको किसान बताउँछन् ।

टीकापुर नगरपालिका–१ वनगाउँका जितबहादुर चौधरीले आयोजनाले किसानलाई कृषि तालिम तथा कृषियन्त्रमा पनि सहयोग गरेको बताए । उनले बीउ भण्डारण गृहसमेत निर्माण गरिएकाले उन्नत बीउ पाउन पनि सजिलो भएकामा खुसी व्यक्त गरे । ‘कृषि सीप र प्रविधिमा पनि आयोजनाबाट सहयोग भएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र ९, २०७५ १०:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT