१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सय बढी घर डुबानको जोखिममा

मोहन बुढाऐर

धनगढी — दुई दिनदेखिको निरन्तर वर्षाले कैलालीको दक्षिण–पूर्वी क्षेत्र डुबानको जोखिममा परेको छ । स्थानीय नदी कान्द्रा, काँडा, बान्द्रा र मोहना नदीमा आएको बाढीले डुबानको खतरा बढेको स्थानीयले बताएका छन् ।

सय बढी घर डुबानको जोखिममा

जिल्लाको दक्षिणी–पूर्वी क्षेत्रमा भजनी नगरपालिका, कैलाली र जानकी गाउँपालिका पर्छन् ।

भजनी–५ लालबोझी रेडक्रस शाखा अध्यक्ष हेमन्त हमालका अनुसार वडा नम्वर ५ का एक सय बढी घरधुरी कान्द्रा नदीको जोखिममा परेका छन् ।


उनका अनुसार भजनी–५ कुटीका राजेश यादवको घरखेत नदीले कटान गरेको छ । ‘नदीमा पानीको सतह बढ्दै गएको छ,’ हमालले भने, ‘वर्षा नरोकिए भजनी नगरपालिकाका अधिकांश वडाका बस्ती डुबानमा पर्ने खतरा छ ।’ उनले निरन्तरको वर्षाले स्थानीयलाई जीउज्यानकै सुरक्षा कसरी गर्ने समस्या सिर्जना हुने बताए ।


भजनीको वडा नम्बर ५ र ७ स्थानीय कान्द्रा नदी र मोहना नदीको टापुमा पर्छ । उनले भने, ‘वर्षाका यी दिनले स्थानीयलाई रातको निद र दिनको भोक लुटेको छ ।’ भजनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र चन्दले माथि चुरेमा परिरहेको वर्षा नरोकिए भजनी नगरपालिका ३, ४, ५, ७ र ८ वडा डुबानको खतरामा रहेको बताए । उनले बाढीको जोखिममा रहेका बासिन्दालाई सजग तथा सचेत भएर बस्न आह्वान गरेको बताए । लालबोझीका स्थानीय लालबहादुुर साउद भन्छन्, ‘लगातार २/३ दिन चुरेमा भारी वर्षा भयो भने लालबोझी मात्रै हैन कैलालीको तल्लोतटीय क्षेत्र पूरै डुबानमा पर्छ ।’ डुबानमा परेकाहरूको उद्धार गर्न अझ कठिन हुन्छ ।


दुवै नदीले घेरिएको लालबोझी डुबानमा पर्‍यो भने हेलिकप्टरबाट मात्रै उद्धार गर्न सकिने अवस्था आउने लालबहादुर बताउँछन् । ०६६ को बाढीमा लालबोझी पूरै डुबेको थियो । त्यसबेला रूख र घरको छतमा बसेका परिवारका सदस्यलाई हेलिकप्टरबाट उद्धार गरिएको थियो । स्थानीय सुनाराम डगौराले लगातारको बाढीले त्रास बढेको बताए । उनले अहिले बाढीबाट बच्न पूर्वतयारी भई बस्नुपर्ने बताउँछन् ।


बाढीका कारण मोहना र कान्द्रा नदीको कटान र पटानमा पर्ने लालबोझी गाउँबाट थुप्रै परिवार विस्थापित भइसकेका छन् । ‘बाढीको दु:खले बर्सेनि यहाँबाट स्थानीय विस्थापित हुँदै गएका छन्,’ गाउँका भलमन्सा सेवकराम चौधरीले भने, ‘कतै जान नसक्ने विपन्न परिवारले सधैं बाढीको पीडा सहेर बस्नुपरेको छ ।’

नदीमा आउने बाढीको ओभर फ्लो गाउँमा पसेर घर र खेत पटान गरेको छ । बाढी घट्दै जाने बेला कटान गर्दै जाने गरेको चौधरीले बताए । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले आपतकालीन इकाई सञ्चालन केन्द्रमार्फत अहिल्यै कुनै खतराको घन्टी नबजेको बताए ।


उनले भने, ‘खतराको घन्टी बजेपछि उद्धारका लागि हाइअलटमा बसेका ३ वटै सुरक्षा निकाय परिचालन हुन्छन् ।’ उनका अनुसार आपतकालीन सूचना इकाई सञ्चालन केन्द्रले जिल्लाका विभिन्न नदीको सतह मापन गरी जानकारी दिने गरेको छ । उनले नदीहरूमा शुक्रवार रातिदेखि परिरहेको पानीले नदीको सतह बढ्दै गएको बताए ।


समुद्री सतहबाट जिल्लाको सबैभन्दा होचो भू–भागमा पर्ने भजनी नगरपालिका, जानकी गाउँपालिका र कैलारीको मोहना तटीय बस्ती सधैं स्थानीय नदीको डुबानमा पर्दै आएका छन् । त्यस क्षेत्रमा बाढीले हरेक वर्ष सयौं बिघामा लगाएको बालीलाई क्षति पुर्‍याउने र २०/३० बिघा जग्गा कटान गर्दै आएको छ ।

‘वर्षादको मौसम सुरु भएर नसकिँदासम्म बाढीको चिन्ताबाट डुबानग्रस्त बस्तीका बासिन्दा ढुक्क भएर बस्न सक्दैनन्,’ स्थानीय विजयलाल श्रेष्ठले भने, ‘यो सधैंको पीडा भइसक्यो ।’

प्रकाशित : भाद्र १०, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?