कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जीवनजल छैन स्वास्थ्य संस्थामा

स्वास्थ्य संस्थामा औषधिको अभाव भएसँगै निजी मेडिकलमा भीड लाग्न थालेको छ
वसन्तप्रताप सिंह

बझाङ — जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले उपलब्ध गराउनुपर्ने नि:शुल्क औषधि जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको छ । औषधिको अभाव हुँदा बिरामीहरू निजी मेडिकलमा महँगो मूल्य तिर्न बाध्य छन् । 

जीवनजल छैन स्वास्थ्य संस्थामा

सिक्स कि कमोडिटिज भनिने ६ प्रकारका मुख्य तथा अत्यावश्यक औषधि जीवनजल र जिंक चक्कीसमेत सरकारी स्वास्थ्य संस्थामा छैनन् । अभावका कारण बिरामीहरूले सितैमा पाउनुपर्ने औषधि पनि महँगो मूल्यमा खरिद गर्नु परिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । वर्षातको समयमा बढी देखिने झाडापखाला रोगका बिरामीको संख्या बढिरहेका बेला प्रारम्भिक उपचारका लागि नभई नहुने यस्ता औषधिको अभाव हुँदा समस्या बढेको हो ।


‘स्वास्थ्य चौकीमा जीवनजल पनि पाइँदैन,’ तल्कोट गाउँपालिकाकी रूपा सुनारले भनिन्, ‘निजी मेडिकलमा जाँदा दस थरी औषधि दिएर सामान्य बिरामीबाट चर्काे शुल्क असुल्छन्,’ उनले सामान्य पखाला लागेको आफ्नो बच्चाको उपचार गर्नका लागि एक हजार ८ सय खर्च गर्नुपरेको बताइन् ।


तल्कोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सिद्धराज भण्डारीले गाउँपालिकाले खरिद गर्न अनुमति नभएको र नि:शुल्क औषधिहरू जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध नगराएका कारण लामो समयदेखि अभाव भएको बताए । उनले भने, ‘जिल्लामा माग गर्‍यो भने हामीसँग ढुवानी गर्ने रकम हुँदैन, कसरी ल्याउने भन्ने जवाफ आउँछ, गाउँपालिकालाई यस्ता औषधि खरिद गर्ने अनुमति नै छैन ।’


गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये १५ देखि २० प्रतिशतको हाराहारीमा पखाला र पानीजन्य रोगका बिरामी हुने गरेको बताउँदै उनले भने, ‘धेरै समस्या भइसक्यो, अब त नियममा जे भए पनि गाउँपालिका आफैंले खरिद गर्ने कि भन्ने सोचिरहेका छौं ।’ उनले सिक्स कि कमोडिटिजभित्र पर्ने र गर्भवती महिलालाई दिइने आइरन चक्की र धेरैले प्रयोग गर्ने परिवार नियोजनका साधनहरू डिपो, पिल्स र कण्डम जस्ता वस्तुको पनि अभाव रहेको बताए ।


जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको बुंगल नगरपालिकामा माथिका बाहेक सिटामोल, मेट्रोनिडाजोल, एमोक्सासिलिन, एमक्लोर र बच्चाहरूको उपचारका लागि प्रयोग हुने सिरप (झोल औषधि) हरूको समेत अभाव छ । ‘नगरपालिकाको स्टोरमा कुनै पनि औषधि छैन । स्वास्थ्य संस्थाहरूमा पनि यस्ता औषधि सकिएका छन्,’ बुंगल नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वीरबहादुर धामीले भने, ‘खरिदका लागि पहल त गरेका हौं तर रकम निकासा प्रक्रियामा ढिलाइ भएकाले तत्काल खरिद गर्न सकिएको छैन ।’ स्वास्थ्य संस्थामा औषधिको अभाव भएसँगै निजी मेडिकलमा भीड लाग्न थालेको छ ।


‘कुनै–कुनै दिन त दैनिक ६०/७० जनासम्म बिरामी आइरहेका छन्,’ पछिल्लो एक महिनादेखि मेडिकलमा बिरामी चाप बढ्दै गएकामा एकजना मेडिकल सञ्चालक अशोक मल्लले भने, ‘पानीजन्य

रोगको संक्रमणबाट पीडित भएकाहरू धेरै आउने गरेका छन् ।’ उनले मेडिकलमा सरदर दैनिक ३० देखि ३५ जनासम्म बिरामी आउने गरेको बताए ।


यता जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भानुभक्त जोशीले भने अत्यावश्यक मानिने जीवनजल, जिंक चक्कीलगायत ६ प्रकारका औषधिहरू जिल्लामा रहेको तर स्थानीय तहमा ढुवानी गर्ने खर्च कार्यालयमा नहुने भएकाले नपठाएको बताए ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?