५ किलो चरेससहित पक्राउ

दार्चुला — भारतको धारचुलाबाट ५ किलोग्राम चरेससहित महाकाली–३ बाजका बलदेवसिंह महर पक्राउ परेका छन् ।

५ किलो चरेससहित पक्राउ

चरेस मुद्दामै जेल बसेर ९ महिनाअघि दार्चुला कारागारबाट छुटेका महर लाई उत्तराखण्ड प्रहरीले धारचुलाको घट्टेधार टीभी टावर नजिकबाट पक्राउ गरेको हो ।

महरलाई यसअघि ०७३ मंसिरमा खलंगाको बंगाबगडबाट प्रहरीले पक्राउ गरेको थियो । करिब २ किलो चरेससहित समातिएका महरविरुद्ध जिल्ला अदालत दार्चुलामा मुद्दा चलाइएको अभिलेख छ ।

जिल्ला अदालतले महरलाई ०७३ चैतमा दोषी ठहर गरेको थियो । १ वर्ष कैद र ६ हजार नगद जरिवाना तोकिएको थियो ।

महरले जरिवाना रकम तत्काल बुझाएका थिए भने २०७४ मंसिर ५ गतेसम्म सजाय भोगेको जिल्ला कारागारले जनाएको छ । गत मंसिरमा कारागारबाट छुटेका महर ९ महिनापछि दोस्रो पटक चरेससहित भारतीय प्रहरीबाट समातिएका हुन ।

४२ वर्षीय महरको साथबाट ४ किलो ८ सय २५ ग्राम चरेस बरामद भएको छ । चरेससहित समातिएका महरलाई थप अनुसन्धानका लागि पिथौरागढ लगिएको छ । महाकाली नदीमा सञ्चालित तिग्रम पुल वा तुइनमार्फत नेपालबाट चरेस लगेको हुन सक्ने आशंका गरिएको छ ।

महरसँगै धारचुला तहसिलअन्तर्गतको खेला गाउँका अर्का एकजना पनि पक्राउ परेको तर उनलाई छोडिएको स्रोतले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?