कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नदी कटानले उठीबास

गणेश चौधरी

टीकापुर — कन्द्रा नदी कटानले भजनी ५ र ७ नम्बर वडाका स्थानीय जोखिममा परेका छन् । ती दुई वडाका भगतपुर र लालबोझीका अधिकांश परिवार विस्थापित भइसकेका छन् । केही परिवार विस्थापित हुने संघारमा छन् ।

नदी कटानले उठीबास

स्थानीय केशव बुढाका अनुसार अहिले नदी बग्दै गरेको ठाउँमा यसअघि गाउँ थियो । गाउँमा नदी पसेपछि अधिकांश परिवारको उठीबास भयो । साबिकको गाविस कार्यालय र भन्सार सर्‍यो । धेरैको जमिन बगर बन्यो । विस्थापितमध्ये केही परिवार ऐलानी जग्गामा बसेका छन् । कोही आफन्तको जग्गामा बसेको गुनासो गर्छन् । नदी किनारका केही घर अहिले पनि कटानको जोखिममा छन् ।


नदी किनारमै सानो झुप्रो बनाएर बसेका रामरति चौधरीले आफ्नो आधा कट्ठा जति मात्र जग्गा बचेको सुनाइन् । उनले भनिन्, ‘जग्गा सबै नदीले लगेपछि आर्थिक अवस्था कमजोर भएकाहरू शिविरमा बस्न गएका छन् ।’ घरजग्गा बगेका कतिपय परिवार जग्गा भाडामा लिएर झुपडी बनाएर बसेको उनको भनाइ छ ।


कन्द्रा नदीको कटान रोक्न स्थानीयले बर्सेनि जैविक बाँध बनाएर नियन्त्रणको प्रयास गरिरहेका छन् । तर, नदी कटान रोकिएको छैन । ‘बनाएको तटबन्ध सालैपिच्छे बग्छ, कटान रोकिन्न,’ रामरतिले भनिन् । बर्सेनि कन्द्रा नदीको कटानबाट गाउँले विस्थापित हुन थालेपछि भजनी नगरपालिकाले नदी डाइभर्सनको योजना अघि सारेको छ । पहिले नदी बग्ने बाटो खनेर धार नै परिवर्तन गर्ने योजना नगरपालिकाको छ । यसका लागि चालु आर्थिक वर्षमा करिब २ किलोमिटर खन्न ७० लाख रुपैयाँ विनियोजन गरेको छ ।


भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले भने, ‘अहिले जता नदी बग्छ, त्यहाँ पहिला गाउँ थियो । पहिलेकै ठाउँमा नदी बगाउने योजनाका साथ काम गरिरहेका छौं । नदीको धार परिवर्तन गरेमा बर्सेनि तटबन्ध निर्माण गर्ने झन्झट पनि हट्छ । वडा ५ र ७ का गाउँहरू पनि सुरक्षित हुन्छन् ।’

प्रकाशित : भाद्र १२, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?