सुरु भयो गौरा पर्वको रौनक

डीआर पन्त

भागेश्वर (डडेलधुरा) — गाउँमा गौरा घर लिपपोत सुरु भएको छ । वर्षातले भत्किएका बाटाघाटा मर्मत र सरसफाइमा गाउँलेहरू जुटिसकेको छन् । गौरा विसर्जन गर्ने मठमन्दिरको सरसफाइ पनि सुरु भइसकेको छ ।

सुरु भयो गौरा पर्वको रौनक

गौरा भित्र्याउन ५ दिन मात्र बाँकी रहँदा डडेलधुरकाका हरेक गाउँ र टोलमा गौरा महोत्सवको उल्लास देखिन थालेको छ । सुदूरको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौरा मनाउनका लागि जताततै रौनक देखिन्छ ।


पुरुषहरूले मठमन्दिरहरू सरसफाइ गरी गौरा भित्र्याउन देवताका चैत, धुमारी र ठाडो खेल सुरु गरिसकेका छन् । गौरापर्व मनाउनकै लागि थातथलो छोडेर बाहिर गएकाहरू पनि धमाधम फर्कन थालेका छन् । डडेलधुरा सदरमुकाममा गौरा महोत्सव मूल आयोजक समिति गठन गरी तयारी सुरु गरिएको १६ दिन भइसकेको छ । जिल्ला सदरमुकामसँगै गाउँगाउँमा मनाइने गौरा महोत्सवका लागि सूचना प्रसारण र प्रकाशन भइरहेका छन् ।


सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा मनाइने गौरा पर्वको रौनक तराईका जिल्लामा पनि उत्तिकै देखिएको छ । पहाडबाट बसाइ सरेर तराई झर्ने क्रमसँगै पहाडका देवीदेउता र पम्परा पनि तराई झरेका छन् । सुदूर र कर्णालीमा मनाइने गौराको रौनक अहिले तराईका कैलाली कञ्चनपुरमा पनि उत्तिकै देखिएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा गौरा महोत्सव मूल समिति निर्माण गरी तयारी सुरु गरिएको छ । विविध धार्मिक कार्यक्रमसँगै गौरा पर्वलाई सांस्कृतिक पर्वका रूपमा मनाउन महोत्सवको आयोजना गर्न लागिएको मूल समितिका संयोजक सुरत रावल डोटेली कान्छाले बताए ।


पहाडी जिल्लाको केन्द्रका रूपमा रहेको डडेलधुरामा पनि गौरा महोत्सवको भव्य तयारी गरिएको छ । एक सातासम्म धुमधामसँग महोत्सव मनाउन स्थानीय कृष्ण मन्दिरमा तयारी गरिएको मूल समितिका संयोजक पं देवराज भट्टले जानकारी दिए ।


जिल्ला सदरमुकामसँगै गाउँगाउँमा गौरा महोत्सव भइरहेका छन्, कुनै गाउँ, टोल यस्तो बाँकी छैन जहाँ गौरा पूजनसँगै महोत्सवको तयारी नभएको होस् । सुदूरपश्चिमाञ्चल संस्कृति संवद्र्धन समितिका पूर्वअध्यक्ष संस्कृतिविद् जनकराज पाण्डेयले भने, ‘सुदूरको प्रमुख सांस्कृतिक पर्व भएकाले यसको महत्त्व पनि त्यत्तिकै ठूलो छ ।’ ‘गौरा केवल पर्व मात्र होइन’, संस्कृतिविद् तथा साहित्यकार पदमराज जोशी भन्छन्, ‘यो रामायणकालीन सभ्यताको निरन्तरता हो र सामूहिक उत्तरदायित्व झल्काउने पर्व पनि हो ।’ कुनै जातीय वा वर्गीय विभेद नहुने धार्मिक पर्व गौरा यस क्षेत्रमा सामाजिक एकताको पर्वका रूपमा समेत कायम रहेको छ ।


एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जीवन्त राख्ने परम्परा छ । अर्कोतिर नेपाल एकीकरणका वीरगाथा डेउडाका रूपमा गाएर राष्ट्रिय एकतालाई पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ । संस्कृतिविद् प्राध्यापक डा. भोजराज पन्त भन्छन्, ‘यो धार्मिक तथा सामाजिक महत्त्वको अद्भुत सांस्कृतिक पर्व हो ।’ सामाजिक अनुशासन, धार्मिक अनुशासनसँगै पारिवारिक अनुशासनसँग पनि पर्वको महत्त्व जोडिएको छ पन्तले भने, ‘रामायण काल, महाभारत काल र आधुनिक कालखण्डलाई जोड्ने गौरा पर्वले विगतलाई सम्झिने, वर्तमान र भविष्यलाई सुखद बनाउने लक्ष्यअनुरूप मनाउने गरेको पाइन्छ । पाँच प्रकारका बिरुडा (अन्न) भिजाएर बनाइने क्वाँटी भिजाउने बिरुडा पञ्चमीदेखि सुरु हुने गौरा झन्डै एक हप्तासम्म धुमधामका साथ मनाइने परम्परा छ । विशुद्ध धार्मिक पर्वका रूपमा मनाइने गौरा शिव–पार्वतीको परम्परागत पूजासँगै डोटेली संस्कृतिमा देव जागरण पर्वका रूपमा समेत मनाउने गरिएको छ । बल, तील, गुभा, धान र साउँका बोटबाट बनाइने गौरा र शिवका रूपमा काठको प्रतिमा स्थापित गरी एक हप्तासम्म पूजा गर्ने परम्परा रहेको छ ।


अविवाहित कन्याहरूले घर भित्र्याउने गौरा विर्सजन गर्दा विवाहित बुहारीहरूले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरमा लैजान्छन् । मठमन्दिरमा धामी, पुजारीहरूले गौरालाई विधिवत् विर्सजन गर्ने परम्परा रहेको छ । नेपालको सुदूरपश्चिम मात्र नभई कर्णाली प्रदेश, भारतको कुमाउँं, गडवाल, हिमाञ्चलको केही भूभाग हँंदै कश्मीरसम्म मनाउने परम्परा रहेको छ । कुमाउँ गढवाल र सुदूरपश्चिममा गौरा मनाउने परम्परा एउटै भए पनि हिंमाञ्चल र कश्मीरमा भने भिन्न रहेको पाइन्छ ।


अमुक्ताभरण सप्तमीका दिन भित्र्याइने गौरा एक हप्तासम्म पूजाअर्चना गरी स्थानीय देवीदेवताका मठमन्दिरमा लगेर विर्सजन गरिने गरिन्छ । प्राध्यापक डा. भोजराज पन्त भन्छन्, ‘माइतबाट चेलीबेटी बिदा गरेजस्तै गौरा देवीको बिदाइ हुन्छ, समाजका हरेक वर्गको गौरा पर्वमा आफ्नै खाले भूमिका हुने हुँदा बिदाइको क्षण चेलीबेटी बिदाइजस्तै मार्मिक हुने गरेको छ ।’ हरेक गाउँ र टोलपिच्छे गौरा भित्र्याउने र सामूहिक रूपमा गौरा विर्सजन गर्ने परम्पराले पनि यो पर्व सामाजिक मिलनका पर्वका रूपमा विशिष्ट रहेको छ ।

प्रकाशित : भाद्र १३, २०७५ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?