२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मोबाइलले सुविधासँगै विकृति ल्यायो

मेनुका ढुंगाना

अछाम — दशकयता तीव्र गतिमा प्रविधिको विकास भएसँगै गाउँगाउँमा मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर कुरीति बढाएको छ । बालविवाह र महिला हिंसाजस्ता घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ ।

मोबाइलले सुविधासँगै विकृति ल्यायो

मोबाइल, इन्टरनेटलगायतका प्रविधिको दुरुपयोगले अछाममा बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत भरत गोतामेले बताए । ‘सञ्चार क्षेत्रको विकास भएसँगै पछिल्लो समयमा ग्रामीणस्तरमा पनि सबै नागरिकको हातहातमा मोबाइल फोन, इन्टरनेट सेवा पुगेको छ । मोबाइल इन्टरनेटले अछामका किशोरकिशोरी उमेर नपुगेरै भागेर बिहे गर्ने चलन बढ्दै गएको छ,’ उनले भने, ‘बृहत्तर यौनिक शिक्षामा जोड दिन नसक्नुले पनि चुनौती थपिएको छ ।’


मोबाइल तथा इन्टरनेटको दुरुपयोगले बालबालिकाको पढाइमा समेत असर पारेको अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्रबहादुर विष्टले बताए । ‘इन्टरनेट र मोबाइलको दुरुपयोगले बालविवाह र महिला हिंसा मात्रै नभएर मानव बेचबिखनजस्ता जघन्य अपराधमासमेत वृद्धि भएको छ ’ उनले भने, ‘सञ्चारको पहुँचमा सबै पुग्नु खुसीको कुरा हो, सञ्चारले एक ठाउँको खबर अर्को ठाउँमा कम समयमा सुन्न सकिन्छ, देश विदेश कुन ठाउँमा के भएको छ भन्ने हेर्न पनि सकिन्छ ।’


तर, अछामका किशोरकिशोरी भने सञ्चारको दुरुपयोग गर्दै भागेर बिहे गर्ने साधन बनाएको उनको भनाइ छ । फेसबुक, फोनमा कुरा गर्दै मायामा परेर उमेर नपुग्दै भागेर जाने चलन यहाँ पछिल्लो समयमा बढ्दै गएको छ । यसले गर्दा समाजमा सञ्चार माध्यमको दुरुपयोग भएको बालबालिकाका क्षेत्रमा काम गर्नेहरू बताउँछन् ।


‘बालविवाहका कारण धेरैजसो महिला हिंसामा परेका छन् । उनीहरू मोबाइलकै दुरुपयोगका कारण बालविवाह गर्न बाध्य भएका छन्, जिल्ला बाल सञ्जाल अछामकी अध्यक्ष अस्मिता अधिकारीले भनिन्, ‘बाल विवाह न्यूनीकरण गर्न अभियानसमेत सुरु गरिएको भए पनि प्रभावकारी हुन सकेको छैन । बालबालिकाको उमेर नपुग्दै मागेर बिहे गर्ने चलन पनि अछाममा धेरै छ । कन्यादान गर्‍यो भने आफू मरेपछि राम्रो हुन्छ भन्ने गलत मान्यताले जरो गाडेको समाजमा स्वयम् आफैं किशोरकिशोरी भाग्ने चलन बढ्दा झनै समस्या भएको उनी बताउँछन् ।


पछिल्लो समयमा प्राथमिक तहका विद्यार्थीको हातहातमा मोबाइल देखिन्छ । बालविवाह न्यूनीकरण गर्न विद्यालय तहमा मोबाइल बोक्न दिन नहुने सामाजिक अभियन्ताहरू बताउँछन् । सञ्चार प्रविधिको विकासले विकृति मात्रै नल्याई खुसी पनि ल्याएको महिलाहरूको तर्क छ । वर्षौंसम्म टाढा भएका परिवारसँग प्रत्यक्ष कुराकानी गरेर नजिक भएको अनुभूति हुने मंगलसैन–३ की इन्द्रा नगार्जीले बताइन् ।


‘पढाइ–लेखाइ नभए पनि मोबाइल चलाउन जान्दा भारत गएका श्रीमान्लाई सम्पर्क गर्न निकै सजिलो भएको छ,’ उनले भनिन्, ‘चिठी पठाए ५ महिना लाग्थ्यो, अहिले जुनसुकै बेला पनि सम्पर्क हुन्छ ।’

प्रकाशित : भाद्र १३, २०७५ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?