२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पत्रकार ५ दिनदेखि बेपत्ता 

अर्जुन शाह

धनगढी — बाजुराको बुढीनन्दा एफएममा कार्यरत पत्रकार तेजबहादुर खड्का ५ दिनदेखि बेपत्ता छन् । उनी बाजुराको प्रशिद्ध तीर्थस्थल बुढीनन्दा क्षेत्रबाट फर्किने क्रममा शनिबारदेखि बेपत्ता भएका हुन् । लौरीविनायकबाट करिब २ घण्टा माथि रहेको वरमाग्ना भन्ने स्थानमा आफ्नो समान छुटेको बताएर उनी फर्किएका रेडियो बुढीनन्दाका नहकुल जोशीले बताए ।  

पत्रकार ५ दिनदेखि बेपत्ता 

डोटी घर भएका ३८ वर्षीय पत्रकार खड्काको खोजीका लागि प्रहरीको टोली कोल्टीबाट ३ दिनअघि गए पनि बुधबार फर्किएको छ । मंगलबार बिच्छ्या प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको अर्को टोली मंगलबार त्यसतर्फ पठाइएको प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए । उनका अनुसार खोजीका लागि बुधबार बिहान सेनाको टोलीसमेत कोल्टीबाट परिचालित भएको छ ।


खड्काको खोजीका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले पहल गरिरहेको छ । प्रदेश र केन्द्रको सम्पर्कमा रही सुरक्षा निकायसँग समन्वय गरिरहेको पत्रकार महास‌ंघ जिल्ला अध्यक्ष प्रकाश सिंहले बताए ।


पत्रकार खड्काले ०५५ सालदेखि १४ वर्ष रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र दिपायलमा काम गरेका थिए । त्यसपछि उनी रेडियो नेपालको केन्द्रीय प्रसारण केन्द्र काठमाडौंमा सरुवा भएर काम गरेका थिए । रेडियो नेपालमा रहँदा उनको ‘देउडा गीतको सेरोफेरो’ र गीतिकथाको कार्यक्रम निकै चर्चित थियो । पछिल्लो समय उनी बाजुराको बुढीनन्दा एफएममा कार्यरत थिए ।


बुढीनन्दा करिब १६ हजार फिटको उचाईमा पर्दछ । मानवबस्तीविहीन यो क्षेत्रमा जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्दछ । बुढीनन्दा यात्रा अत्यन्तै कठिन मानिन्छ । तिलिचोपछिको उचाईमा रहेको ताल बुढीनन्दा ताल हो । यसस्थानमा पुग्न ठाडै उकालो बाटो, अत्यधिक चिसो, लेकलाग्ने ठाउँ, अधिकांश समय वर्षा र कुहिरो लागिरहन्छ ।


सञ्चार सम्पर्कसमेत नहुने त्यस ठाउँमा वर्षको एक दिन मात्र मान्छे हुन्छ । छाप्रे पाटनसम्म भने स्थानीय बासिन्दाका भैँसी गोठहरु हुन्छन् ।

प्रकाशित : भाद्र १३, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?