कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलित विद्यार्थी मात्रै

अछाम — सदरमुकाम मंगलसेनमा रहेको बालमन्दिरमा दलित समुदायका विद्यार्थी मात्रै अध्ययन गरिरहेका छन् । कक्षा एकसम्म पढाइ हुने बालमन्दिरमा २० जना विद्यार्थी छन् । ती सबै दलित समुदायका हुन् ।

दलित विद्यार्थी मात्रै

गैरदलित समुदायले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेका छन् ।

मजदुरी गर्ने र कामको सिलसिलामा भारत गएका अभिभावकका बालबालिका मात्रै त्यहाँ भर्ना भएका छन् । ०३८ पुसमा स्थापना भएको बालमन्दिरमा उहिले माथिल्लो निकायमा पुगेकाहरूले पनि अध्ययन गरेका थिए । बालमन्दिर असहाय र आर्थिक अवस्था कमजोर भएकाहरूले पढ्नका लागि स्थापना भए पनि दलितकै लागि स्थापना गरेर वास्ता नगरेको दलित समुदायको भनाइ छ ।

३७ वर्ष पहिले स्थापना भएको बालमन्दिरको भवन पनि जीर्ण बन्दै गएको छ । सरकारको राहत कोटाबाट एक जना शिक्षकको भरमा आधारभूत कक्षा चलिरहेको छ । स्थापनाकालदेखि ०६२ सालसम्म कम्तीमा सय विद्यार्थी अध्ययन गर्थे । अहिले मंगलसेन–५ का दलित विद्यार्थी मात्रै अध्ययन गर्छन् ।

यस शैक्षिकसत्रमा भर्ना भएका विद्यार्थीमध्ये ४ विद्यार्थीले पढाइ छोडिसकेको शिक्षक वसन्ती खत्रीले बताइन् । ‘आमाबुवा कामको सिलसिलामा भारत गएका छन्, उनीहरूले छोराछोरीसमेत लिएर गए,’ उनले भनिन्, ‘४/५ वर्षपछि फेरी आउँछन् र एक कक्षामै भर्ना गर्छन् । ५ कक्षा नपुग्दै उनीहरूले विद्यालय छोड्ने गरेका छन् ।’

कक्षा २ सम्म सञ्चालनमा रहेको विद्यालयमा विद्यार्थी घटेकाले एक कक्षासम्म मात्र पढाइ हुने गरेको उनले सुनाइन् । ‘गैर दलितका विद्यार्थी आउन छोडेको ५ वर्ष भयो । दलित विद्यार्थी भर्ना हुन्छन् । ती पनि बीचमै छोड्छन्,’ उनले भनिन् ।

भारी बोकेर, मजदुरी गरेर परिवार धान्ने गरेकाले छोराछोरीको पढाइमा ध्यान दिन नसकेको स्थानीय तिलु विकले बताइन् । ‘पढाउने खर्च नहुँदा जेठो छोरा बीचैमा छाडेर भारत गयो, अरू दुई छोराछोरी बालमन्दिरमै जान्छन्,’ उनले भनिन् ।

सदरमुकाममै भएको यस टोलमा दलित परिवारका अधिकांश निरक्षर छन् । आर्थिक अवस्था कमजोर भएकाले १ कक्षासम्म यसै बालमन्दिरमा पढेर छोड्ने गरेको स्थानीय बताउँछन् ।

‘६ जना छोरी छन्, सबैलाई पढाउन सक्ने मेरो आर्थिक अवस्था छैन,’ स्थानीय जमुना नगार्जीले भनिन्, ‘बाहिरको विद्यालय पठाउँदा खर्च धेरै लाग्ने भएकाले छोरीलाई पढाउन सकिएन ।’ विगतमा बाल संगठनले केन्द्रबाट वार्षिक १५ हजार पठाउने गरेको भए पनि ०६२ सालबाट उक्त रकम पनि आउन बन्द भइसकेको शिक्षक खत्रीले बताइन् । एउटा हलसहित ३ वटा कोठा रहेको बालमन्दिरमा बालविकास कक्षाको लागि निशुल्क दिइएको छ ।

बालमन्दिर वरिपरि ५ वटा बोर्डिंङ स्कुल स्थापना भएकाले यस विद्यालयमा आउने विद्यार्थी घट्दै गएका हुन्,’ उनले भनिन्, ‘भवन जीर्ण बन्दै गएकाले कक्षा कोठामा वर्षाको समयमा कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन ।’

प्रकाशित : भाद्र १४, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?