कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

छाङरु जान सकस

त्रिदेशीय सीमा क्षेत्रका छाङरु र तिंकर जोड्ने घोडेटो बाटो भत्किएपछि सदरमुकामसँगको सम्पर्क टुटेको छ
मनोज बडू

दार्चुला — बर्षा र पहिरोले व्यास गाउँपालिका–२ दुम्लिङदेखि छाङरुसम्मको घोडेटो बाटो भत्किएको छ । त्रिदेशीय सीमा क्षेत्रका छाङरु र तिंकर जोड्ने घोडेटो बाटो भत्किएपछि स्थानीय ठूलो सास्ती भोग्न बाध्य छन् ।

छाङरु जान सकस

जिल्ला सदरमुकाम खलंगासँगको सम्पर्क टुटेको छ । गत वर्षको बजेटमा गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर मर्मत गरेको बाटो काम नसकिँदै भत्किएको हो ।

दार्चुला–तिंकर घोडेटो बाटोलाई पहिलो प्राथमिकतामा राखेर व्यास गाउँपालिकाले गत आर्थिक वर्षमा मर्मत सुरु गरेको थियो । राप्लाको दुम्लिङदेखि दोपाखेसम्म मर्मतका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ठेक्का प्रक्रियामार्फत काम गराएको थियो ।

तर आर्थिक वर्षको अन्तिममा मात्र बाटो मर्मतको कार्य सुरु गरिएपछि लक्ष्यअनुसारको काम हुन नसकेको गाउँपालिकाले जनाएको छ । ‘दुईवटा निर्माण कम्पनीलाई बाटो मर्मतको जिम्मेवारी दिइएको थियो,’ गाउँपालिकाका सूचना अधिकारी डम्बर अवस्थीले भने, ‘असारमा निर्धारित कामको परिमाणको प्रगति आधा मात्रै हुन सक्यो, अहिले बाटो भत्कियो ।’

जेठ र असारमा निर्माण र मर्मत गरिएको बाटो वर्षातको पानी र पहिरोले क्षतिग्रस्त बनेको स्थानीयले बताए । ठेकेदारमार्फत मर्मत हुँदै गरेको बाटो ठाउँ–ठाउँमा क्षतिग्रस्त भएको व्यास गाउँपालिका–२ का स्थानीय जमनसिंह धामीले बताए । उक्त बाटो धेरै ठाउँमा क्षतिग्रस्त भएको छ । थिईभीरको फेद, राप्लाको तम्बाकु, दोपाखे, घाँटीबगड नजिकको घोडेटो बाटो भत्किएको हो । अहिले त्यस क्षेत्रमा हिँडडुल गर्न सकिने अवस्था छैन ।

अहिले पनि वर्षा हुने क्रम जारी रहेकाले बाटो निर्माण तथा मर्मतको जिम्मेवारी पाएका ठेकेदारलाई परिचालन गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार असारको अन्तिममा बाटो निर्माण तथा मर्मतमा संलग्न ठेकेदारले म्याद थपका लागि निवेदन दिएका छन् । ‘गाउँ कार्यपालिकाले म्याद थपको निर्णय भने गरेको छैन । अब बस्ने बैठकले ठेक्काको म्याद थप्छ वा थप्दैन त्यो भन्न सकिँदैन,’ सूचना अधिकारी अवस्थीले भने ।

असारसम्म निर्माण गरिएको बाटोको मूल्यांकन गरी ठेकेदारलाई भुक्तानी गरिएको छ । व्यास निर्माण सेवालाई ४ लाख ९९ हजार र नाम्पा निर्माण सेवालाई ४ लाख ९२ हजार भुक्तानी गरिएको उनले जानकारी दिए । दुवै निर्माण कम्पनीलाई भुक्तानी गरिएको रकम ठेक्का सम्झौताको आधा हो ।

व्यास पुग्ने बाटो भएकाले प्राथमिकताका साथ अगाडि बढाइएको थियो । सम्झौता र प्राविधिक मूल्यांकनअनुसार काम हुन नसकेको स्थलगत अध्ययनपछि गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताएका थिए । ‘अध्यक्षज्यूले गत असारको दोस्रो साता स्थलगत भ्रमण गरेका थिए,’ सूचना अधिकारी अवस्थीले भने, ‘प्राविधिकसहितको स्थलगत भ्रमणपछि प्रगति सन्तोषजनक नभेटिएको बताएका थिए ।’

अघिल्ला वर्षहरूमा नेपालको बाटो बिग्रिए भारतीय बाटो प्रयोग गरेर व्यास जाने गरिन्थ्यो । यस वर्ष भारतीय क्षेत्रमा सडक निर्माण कार्य जारी रहेकाले त्यहाँ पनि जोखिम बढेको छ । भारतीय पक्षले हिँडडुल गर्न दिएको छैन ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?