३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कर्णाली बस्ती पस्ने खतरा

नदीले करिब ५० मिटर कटान गरिसक्यो । अब बाँकी रहेको ३ फुट डिल कटान गरेमा नदी गाउँ पस्ने खतरा

टीकापुर — टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीको कटानले जोखिम बढेको छ । बाँकी रहेको ३ फुट डिल कटान गरेमा नदी गाउँ पस्ने खतराले स्थानीय त्रसित छन् ।

कर्णाली बस्ती पस्ने खतरा

स्थानीय प्रेम दर्लामी मगरले वर्षा रोकिएर पानीको सतह घटेन भने कर्णाली गाउँ पस्ने जोखिम कायम रहने बताए । ‘हेर्दाहेर्दै करिब ५० मिटर बढी कटान गरिसक्यो । अब बचेको ३ फिट काट्न कति समय लाग्ला ?’ उनले भने । स्थानीयले नदी कटान नियन्त्रणको प्रयास गरिरहेका छन् ।

प्रहरी र सेनाको टोलीले जैविक तटबन्ध निर्माणमा सहयोग गरिरहेको छ । तर कटान रोक्न लगाइएका झालापाता सबै नदीले बगाइदिने गरेको छ । ‘अझै वर्षाको समय गुज्रिसकेको छैन । नदीको पानी खासै घटेको छैन । यस्तै अवस्था रहेमा खतरा बढ्छ,’ प्रेदर्लामी मगरले भने ।

रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाले पनि नदी कटान रोक्न ‘स्पर’ बनाउन सुरु गरेको छ । नदी किनारको बलौटे माटोको डिल झर्न भने छोडेको छैन । करिब ३ फिट बाँकी रहेको नदीको डिल कटान भएमा कर्णालीको पानी टीकापुर नगरपालिकाका ५, ७, ८ र ९ नम्बर वडामा पस्ने वडाध्यक्ष रामशंकर डगौराले बताए । ‘नियन्त्रणको प्रयास भइरहेकै छ । तर नदीले के गर्छ भन्न सकिन्न,’ वडा नं ५ का वडाध्यक्ष डगौराले भने । कर्णाली कटान नरोकिएपछि नदी तटीय टीकापुरका बासिन्दा भयभीत छन् । वडा ७ सत्तीका सन्तोष नेपालीले भने, ‘दिउँसो फुटे त अलि कम नोक्सान होला । राती फुटे धनजनको ठुलो क्षति हुन सक्छ ।’ पक्की तटबन्ध निर्माण हुन बाँकी रहेको दौलतपुर घाट नजिकै करिब एक किलोमिटरमा कर्णाली नदीले कटान तिव्र बनाएको हो । जैविक तटबन्ध निर्माणमा श्रमदान गरेका स्थानीय तटबन्ध बगाइदिएपछि निरास बनेका छन् ।

वर्षापछि पक्की तटबन्धको काम सुरु हुने रानी जमरा कुलरिया सिचाई आयोजनाले जनाएको छ । पक्की तटबन्ध बनेको ठाउँमा नदी कटान छैन् । तटबन्ध नभएको ठाउँबाट भने नदी गाउँमा पस्ने खतरा छ ।

कर्णाली नदीमा बर्षेनि आउने बाढीका कारण यहाँको खेतीयोग्य जग्गा कटान र डुबानमा पर्दै आएको छ । नदी नियन्त्रणका लागि रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाले कर्णाली, मोहना र पथरैया नदीमा तटबन्ध काम पनि गर्दै आएको छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?