कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

७ वर्ष बित्यो, पुल निर्माण भएन

वसन्तप्रताप सिंह

तल्कोट (बझाङ) — ठेक्का स्विकृत भएको ७ बर्ष बितिसक्दा पनि जिल्लाको उत्तरी क्षेत्रलाई यातायात संजालमा जोड्ने मोटरेबल पुलको निमार्ण अझै सुरु भएको छैन् ।

७ वर्ष बित्यो, पुल निर्माण भएन

विभिन्न बहाना बनाएर वर्षाैसम्म ठेक्का ओगटेर राख्ने ठेकेदारलाई सम्बन्धित निकायले कार्वाही गर्नुको साटो वर्षैपिच्छे म्याद थप्दै आएको छ ।

तल्कोट गाउँपालिकाको देवसैनमा सेती नदीमा निमार्ण हुनुपर्ने पुलको ०६८ मा ठेक्का स्विकृत भएको थियो । याक्थुहाङ निमार्ण सेवा प्रालिले निमार्णको जिम्मा लिएपनि अहिलेसम्म काम सुरु नगरेको हो । देवसैनको पुल बनेपछि यातायात संजालमा जोडिने तल्कोट र मष्टा गाउँपालिकाका अधिकांश वस्तीमा सडक निमार्ण भैसकेको छ । तर नदीमा पुल नबन्दा करोडौ खर्च गरेर निमार्ण गरिएको सडक प्रयोगमा आउन सकेको छैन ।

‘देबसैनको भन्दा धेरै वर्ष पछि ठेक्का भएका पुल निर्माण भएर गाडी चल्न थालिसके,’ तल्कोट गाउँपालिकाका जनककुमार बिष्टले भने, ‘यो पुलको ठेकेदारले ७ वर्षसम्म काम सुरु नगर्दा पनि कोही केही बोल्दैनन् ।’

पुल नबनेकोले गाँउलेले चन्दा उठाएर बनाएको सडकसमेत प्रयोगमा आउन नपाएको स्थानीयले बताए । ‘गाडीको सुविधा होला भनेर घरघरबाट पैसा उठाएर सडक बनायौ,’ रिलुका धनबहादुर बोहराले भने, ‘सबै गाउँमा सडक पुगेको छ । पुल नभएका कारण गाडी चल्न सकेको छैन् । हामीले खाइ नखाई पैसा उठाएको कामै भएन ।’

निमार्ण कम्पनी याक्थुहाङका प्रमुख तेजकुमार कुरुमवाङले ठेक्का भएको केही वर्ष पुल निमार्णका लागि आवश्यक पर्ने मेसिनहरू लैजान फराकिलो बाटो नभएकोले काम सुरु गर्न नसकेको बताए । निमार्ण व्यवसायी संघका केन्द्रिय उपाध्यक्षसमेत रहेका उनी वर्षा सकिने बित्तिकै काम सुरु गर्ने बताउँछन् ।

ठेकेदारले वर्षै पिच्छे कुरा फेर्दै आएका छन् । गत वर्षसम्म उनी ठेक्का पुरानै कबोल लागतमा काम गर्न नसक्ने बताउँदै आएका थिए । गत वर्ष भनेका थिए, ‘राष्ट्र बैंकले निकाल्ने बजार मुल्यबृद्धिको सुचक अनुसार लागतमा बृद्धि गरियो भने हामी पुल बनाउन तयार छौ । अन्यथा सकिदैन ।’

यो पुलको ठेक्का भएको एक वर्षपछि नै चैनपुर रुवातोलासम्म नियमित यातायात सञ्चालन हुदै आएको छ । विभिन्न वहाना बनाएर ठेकेदारले पुल निर्माणमा आलटाल गर्न थालेपछि गाउँपालिकाको टोली पटक पटक डेलिगेसन लिएर काठमाडौं पुगेको थियो ।

गत असारमा सडक विभागका महानिर्देशक, गाउँपालिकाको टोली र ठेकेदारबीच सिंहदरबारमा छलफल भएपछि ०७६ सालको पुसभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदारले गरेको डेलिगेसनमा सहभागी पुर्व सभासद अफिलाल ओखेडाले बताए ।

‘ठेकेदारले विभिन्न वहाना बनाउँदै पुल निर्माणको काम सुरु नगरेकाले हामीले पटकपटक काठमाडौंसम्म डेलिगेसन जानु परेको छ,’ गाउँपालिका अध्यक्ष लालबहादुर खडकाले भने, ‘समयमै पुल निर्माण नभएर हाम्रो सम्पुर्ण विकास नै अवरुद्ध भएको छ । ठेकेदार भने विभिन्न वहानामा उम्किदँै आएको छ ।’ कहिले सडक नभएको र कहिले मुल्यबृद्धि भएको भन्नु ठेकेदारको लापरबाही गर्ने बहाना मात्र भएको उनले बताए ।

करिब १२ करोडको लागतमा निमार्ण हुने उक्त पुलको काम सुरु गर्नका लागि ठेकेदारले सात वर्ष अघि १ करोड रुपैया पेश्की पनि लिइसकेका छन । काम गर्न भने आलटाल गर्दै आएको चैनपुर–ताक्लाकोट सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजना कार्यालयका एक कर्मचारीले भने, ‘पहिले सडक छैन भन्यो, अहिले लागत बढाउनु पर्छ भनेर रोकिराखेको छ । पहुँचवाला ठेकदारहरू यस्तै हुन् । विभागले प्रत्येक वर्ष म्याद थपेको थपै छ ।’

प्रकाशित : भाद्र १४, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?