१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘छोरीले जहिल्यै बुवा खोज्छिन्’

बेपत्ता विरुद्धको दिवस
‘काखमा ६ महिनाकी छोरी खेलाइरहेका मेरा पति त्यसपछि कहिल्यै घर फर्किएनन्’
मेनुका ढुंगाना

अछाम — सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारले आफ्ना आफन्तजनको हालसम्म अत्तोपत्तो लाग्न नसकेकोमा पीडा व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय बेपत्ताविरुद्धको दिवसका अवसरमा बिहीबार सदरमुकाम मंगलसेनमा आयोजित कार्यक्रममा बेपत्ता व्यक्तिका परिवारले राज्यले वास्तै गर्न छाडेको भन्दै दु:ख व्यक्त गरे ।

‘छोरीले जहिल्यै बुवा खोज्छिन्’

०५५ मा घरमै बसेका पतिलाई १८ जनाको समूहले अपहरण गरेर लगेको चौरपाटी ६ दुनीका ४० वर्षीया काली विकले बताइन् । ‘घरमा १८ जनाको ठूलै समूह आयो । खाना पकाउनुस् । नत्र जे पनि हुन सक्छ भन्दै धम्क्याए । हामीले मजदुरी गरेर ल्याएको अन्न पकाएर खुवायौं । त्यसपछि भोलि पठाइदिन्छौं भनेर पतिलाई घरबाटै लिएर गए,’ कालीले भक्कानिँदै भनिन्, ‘काखमा ६ महिनाकी छोरी खेलाइरहेका मेरा पति त्यसपछि कहिल्यै घर फर्किएनन् ।’


१५ वर्षसम्म फर्किएलान् भन्ने आसमै बसिन्, विक । ‘विवाह भएको ४ वर्ष मात्र भएको थियो,’ उनले भनिन्, ‘अरूको घरमा काम गरेर २ छोराछोरी हुर्काउन निकै सकस भइरहेको छ । मेरा दु:ख राज्यले कहिल्यै देखेन । छोरीले जहिल्यै बुवा खोज्छिन्, बुवाको अनुहारसमेत सम्झना नभएकी छोरीलाई म के जवाफ दिऊँ?’


अहिलेसम्म न मृत्यु भयो भनेर काजकिरिया गरिएको छ । न बेपत्ता भएको पूरा राहत पाइयो । राहतस्वरूप १० लाख दिने भनिए तापनि अहिलेसम्म ५ लाख मात्र पाएको उनले बताइन् । चौरपाटी–५ लुंग्राका चन्द्रराज पाण्डे पनि बेपत्ता भएको १२ वर्ष भयो । हालसम्म उनको अवस्थाको बारेमा राज्यले कुनै खोजीनिती नगरेको छोरी टंकी पाण्डेले बताइन् । ‘भारतबाट घर फर्किने क्रममा ०६१ मा डोटीको बुडरबाट सुरक्षाकर्मीले अपहरण गरेका हुन् । साथमै रहेका गाउँले आआफ्ना घर आए । मेरो बुवा घर फर्किनुभएन,’ उनले भनिन्, ‘हालसम्म कसैले पनि वास्ता गरेनन् ।’ जीवित रहेको वा मृत्यु भइसकेको अवस्थाका बारेमा राज्यले जानकारी दिनुपर्ने उनले बताइन् । ‘मृत्यु भइसकेको भए हामी संस्कारअनुसार काजकिरिया गर्छौं,’ उनले भनिन् । सरकारसँग पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदेखाएको उनको गुनासो छ ।


बान्निगढी–४ तिमिल्सैनकी अमृता मिजारका पति बेपत्ता भएको १५ वर्ष भयो । गुजाराका लागि ३५ वर्ष भारतमा बिताएका उनका पति परिवार भेट्न ०५५ मा घर फर्किने क्रममा दिपायलबाट अपहरणमा परे । ‘साथमा भएका सबै घरमा आए । श्रीमान्ले ल्याएको सबै नासो बसले जयगढ बस काउन्टरमा छोडिदिए । नासो पाएँ, मान्छे पाइनँ,’ उनले भनिन् । हुर्कनै लागेका ४ छोराछोरीलाई कठिन संघर्ष गरेर हुर्काउँदा पनि राज्यले कुनै राहत नदिएकोमा उनले दुखेसो पोखिन् ।


‘त्यतिखेरका विद्रोही पक्ष र राज्य पक्ष मिले तर सहिद, बेपत्ता, घाइते तथा द्वन्द्व पीडितप्रतिको सच्चा सम्मान गर्न जानेनन् ।


व्यक्तिगत लाभ र नातावाद कृपावादको कारण हामी ओझेलमा पर्‍यौं,’ उनले भनिन् । अछाममा रेडक्रसले संकलन गरेको तथ्यांकअनुसार १४ जना बेपत्ता भएका छन् । स्थानीय शान्ति समितिमा ५४ जना बेपत्ता भएको भन्दै निवेदन परेको छ । हालसम्म १० जना बेपत्ताका परिवारले मात्रै ५ लाख राहत पाएका छन् ।

प्रकाशित : भाद्र १५, २०७५ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?