३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

डुंगाबाट वारपार

स्थानीय तहले २६ ठाउामा डुंगा चलाउँछ भने गाउँले आफैंले सय वटा डुंगा सञ्चालन गरिरहेका छन्
मोहन बुढाऐर

धनगढी — कैलालीको मध्य भागबाट बग्ने कन्द्रा नदीमा दिनहुँ दर्जनौ डुंगा चल्छन् । नदीको सिरानदेखि कैलालीको अन्तिम सीमासम्म विभिन्न ठाउँमा दिनभर चल्ने डुंगामा कम्तीमा तीन हजार यात्रु जोखिमपूर्ण तरिकाले नदी वारपार गर्न बाध्य छन् ।

डुंगाबाट वारपार

चुरेको फेदबाट निस्कने कन्द्रा नदी जिल्लाको मध्य भएर उत्तर–दक्षिण दिशामा बग्छ । दर्जनौं बस्ती चिरेर बग्ने नदी तर्न स्थानीयले ठाउँ–ठाउँमा डुंगा चलाउने गरेका हुन् । चुरे फेदको रामशिखरझालादेखि भजनी–८ कसुमघाटसम्म स्थानीय तहले आउजाउका लागि २६ ठाउँबाट डुंगा चलाउने व्यवस्था मिलाएका छन् । स्थानीयले आफ्नो सजिलोका लागि करिब सय वटा डुंगा चलाइरहेको भजनीका स्थानीय बिजय श्रेष्ठले बताए ।


उनले स्थानीय तहले चलाउने २६ घाटबाट मात्रै एक दिनमा तीन हजारले डुंगा चढ्ने गरेको बताए । तर, स्थानियस्तरमा संचालित डुंगाबाट कति जना दिनमा आउँजाउँ गर्छन त्यसको हिसावै नहुने उनको भनाई छ ।


घोडाघोडी र भजनी नगरपालिका भएर बग्ने कान्द्रा नदी दर्जनौ बस्ती घुमेर भजनी नगरपालिकाकै कसुमघाटमा नेपाल–भारतको सीमा नदी मोहनामा मिसिन्छ । यो नदीमा पुर्व– पश्चिम राजमार्गको पहलमानपुरको एक ठाउँमा मात्रै पक्की पुल छ ।


अर्काे पुल हुलाकी सडकमा निमार्णाधिन अवस्थामा छ । पुल नबन्दा कान्द्रा नदीको टापुमा परेको भजनी नगरपालिकाको ५ र ७ नम्वर वडामा पर्ने लालबोझवासीले बर्षामा निकै सास्ती भोग्नु परेको छ ।


स्थानीय रेडक्रस शाखा अध्यक्ष हेमन्त हमालले यहाँका बालबालिका पारीको भजनी गाउँको स्कुलमा पढ्न जान्छन् । ‘दिनहुँ बिद्यार्थीहरूले डुंगा चढेर नदी तारउतार गर्नुपर्छ,’ उनले भने, ‘दैनिक उपभोग्य सामग्रीका लागि स्थानीय भजनी बजारमा हरेक दिन आवतजावत गर्छन । बर्षामा भजनी जान डुंगा बाहेक अरू कुनै साधन छैन ।’


स्थानीय विजय श्रेष्ठका अनुसार लालबोझी क्षेत्रमा स्थानीय तहले ७ ठाउँमा डुंगा सञ्चालन ठेक्का दिएको छ । कुसमघाटका बासिन्दाले आफ्नो सजिलोका लागि घरघरै डुंगा राखेका छन् । भजनी–९ को मौरियाघाटमा ३ ठाउँमा ३ डुंगा चल्ने गरेका छन् । खैलाडको पचुरियादेखि मौरियाघाटसम्म दैनिक १७ डुंगा चल्छन् । चुरे फेददेखि कुसमघाटसम्मको कन्द्रा नदीको करिब ५५ किलोमिटरमा निजी र सार्वजनिक गरी ७० डुंगा चल्ने गरेको श्रेष्ठले बताए ।


वर्षाको समयमा राजमार्ग उत्तर कन्द्रा नदीमा ४ ठाउँमा डुंगा चल्ने गरेका छन् । राजमार्ग दक्षिण कुसमघाटसम्म ६०/६५ वटा डुंगा चल्ने गरेको श्रेष्ठको भनाइ छ । घोडाघोडी र भजनी नगरपालिकाले मात्रै २१ ठाउँमा डुंगा ठेक्कामा दिएका छन् । केही स्थानमा सामुदायिक वन उपभोक्ता समूह र क्लबहरूले पनि तारउतार गर्न डुंगा चलाउने गरेका छन् ।


अर्का स्थानीय समाजसेवी गंगा चौधरीले पुलको अभावमा स्थानीयले वारिपारि गाउँको सम्बन्ध डुंगाले जोड्नुपरेको बताए । ‘वर्षामा डुंगा र हिउँदमा साँघुले नदी वारपारको सम्बन्ध जोडिएको हुन्छ,’ उनले भने, ‘स्थानीय स्तरबाट नदीमा पुल निर्माणको माग बारम्बार उठ्ने गरेको छ । तर अहिलेसम्म कुनै काम भएको छैन ।’ हुलाकी सडकको निर्माणाधीन पुलसमेत चाँडो बन्न नसकेको गुनासो उनको छ । चार वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अहिलेसम्म पूरा नहँुदा स्थानीयले कान्द्रा नदीमा जोखिम मोलेर डुंगाद्वारा नदी तर्नु परेको उनी बताउँछन् ।


कान्द्रा नदीको ८/१० स्थानमा पक्की पुलको सर्भे अध्ययन भए पनि निर्माण प्रक्रिया सुरु हुन नसकेको श्रेष्ठ बताउँछन् । ‘जिल्लाका अन्य लामो तथा ठूला नदीमा ४/५ वटा पुल बनिसकेका छन्,’ श्रेष्ठले भने, ‘जिल्लाको बीच भागमा बग्ने लामो नदीमा पूर्वपश्चिमको एउटा पुल बाहेक अर्काे नबन्नु दुर्भाग्य हो ।’


डुंगामा जोखिमपूर्ण तरिकाले यात्रा गर्दा कयौं स्थानीयको ज्यानसमेत गइसकेको श्रेष्ठ बताउँछन् । ‘हरेक वर्ष कुनै न कुनै ठाउँमा डुंगा पल्टिन्छ,’ उनले भने । लालबोझीमा ०७२ मा ठुलो दुर्घटना भएको थियो । त्यस घटनामा १२ जनाको ज्यान गएको थियो ।


हिउँदमा कान्द्रा नदीमा पानीको सहत घटेर घुँडामुनि पुग्ने भएकाले आउजाउको त्यति समस्या हुँदैन । कुनै गहिरो ठाउँमा स्थानीयले काठको साँघु हाल्ने गरेको उनी बताउँछन् ।

प्रकाशित : भाद्र १५, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?