स्थानीय तहका वार्षिक समीक्षा : सडक नाटकदेखि कुखुरा खोर उपलब्धि

वसन्तप्रताप सिंह

बझाङ — स्थानीय तहले एक वर्षमा गरेका कामको समीक्षा गर्न आयोजित जिल्ला सभामा जनप्रतिनिधिले सडक नाटकदेखि कुखुरा खोर निर्माण गरिएको कार्यलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । 

जिल्ला सभाका सहभागीहरू । तस्बिर : वसन्तप्रताप सिंह । कान्तिपुर

कतिपय स्थानीय तहले कुप्रथाविरुद्ध गरिएका सडक नाटक र हजार दिनका गर्भवती र सुत्केरीलाई कुखुराको खोर निर्माणसम्बन्धी तालिम गरेको कुरालाई पनि गत वर्षको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका हुन्।

Yamaha

१२ वटा स्थानीय रहेको यस जिल्लामा अधिकांशले सिँचाइ, खानेपानीको सुविधा विस्तार, व्यावसायिक तरकारी खेतीको सुरुवातलाई पनि वर्षभरिको मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरिएको थियो। दुई दिनसम्म सञ्चालन भएको जिल्ला सभा शुक्रबार सम्पन्न भएको हो।

जनप्रतिनिधिहरू निर्वाचित भएपछि स्थानीय तहले गरेका काम र त्यसबाट प्राप्त उपलब्धिहरूको समीक्षा हुने जिल्ला सभामा अधिकांश स्थानीय तहले सडक निर्माणलाई वर्षभरिको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे पनि स–साना कामलाईसमेत उपलब्धिका रूपमा देखाएका हुन्।

सुर्मा गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख दानबहादुर बोहराले सुर्मा उच्च माविमा बालविवाह र छाउपडी प्रथाविरुद्ध गरिएको जनचेतनामूलक कार्यक्रम, युनिक मोसन युथ क्लबले पाँचवटै वडामा गरेको कुरीतिविरुद्धको सडक नाटक र गाउँपालिकामा ५ जना अनमी नियुक्त गरेको कुरालाई वर्षभरि भएका ३ वटा उल्लेखनीय कामका रूपमा प्रस्तुत गरेका थिए। सुर्मा गाउँपालिकाले गत वर्ष विभिन्न शीर्षकमा १७ करोडभन्दा बढी रकम खर्च गरेको थियो।

कुखुराको खोर निर्माणसम्बन्धी अभिमुखीकरण तालिम गरेको, महिलालाई तरकारीको बोट वितरण गरेको र इलाका प्रहरी कार्यालय स्थापना कार्यलाई वर्षभरि गरेका उल्लेखनीय तथा प्रशंसनीय कार्यका रूपमा दुर्गाथली गाउँपालिकाले प्रस्तुत गरेको छ। उक्त गाउँपालिकामा गत वर्ष चालु र पुँजीगत गरी करिब २४ करोड रकम खर्च गरिएको थियो।

इलेक्ट्रोनिक हाजिरी, गाउँ विकासको गुरुयोजना निर्माण, शिक्षा क्षेत्रको विकासका लागि गरिएका क्रियाकलापलगायत सामुदायिक नर्सरी निर्माण गरिएका कामलाई पनि स्थानीय तहले वर्षभरिको उपलब्धिका रूपमा पेस गरेका थिए।

स्थानीय तहले गत आर्थिक वर्षमा ५५ करोड विकासमा खर्च गरेको बुंगल नगरपालिकाले अपांगहरूका लागि शिविर सञ्चालन गरेको, क्रिकेट मैदान निर्माण गरेको, बेतबाँसको तालिम सञ्चालन गरेको कुरालाई आफूले गरेका प्रशंसनीय काम भन्दै प्रस्तुत गरेको थियो। बुंगल नगरपालिकाको प्रस्तुति चलिरहँदा बेतबाँसको तालिम नगरपालिकाले नभई गैरसरकारी संस्था आरआरएनले सञ्चालन गरेको भन्दै गैरसरकारी संस्थाका कर्मचारीहरू मुखामुख गरिरहेका थिए।

प्रतिनिधिसभा सदस्य आशा विकले उद्घाटन गरेको जिल्ला सभामा जिसस र स्थानीय तहका प्रतिनिधिहरू, विषयगत कार्यालयका प्रमुखहरू, निश्चित गैरसरकारी संस्था र पत्रकारहरूको उपस्थिति रहेको थियो।

सीमित व्यक्तिहरूले मात्र उनीहरूले वर्षभरि गरेको खर्चको तुलनामा उपलब्धि नदेखिएको र गैससले गरेका कामलाई स्थानीय तहले गरेको भन्दै प्रस्तुत गरेको भन्दै प्रस्तुतिमाथि टिप्पणी गरेका थिए। आफूहरूले गाउँमा थुप्रै काम गरेको तर प्रस्तुतिमा नआएको भन्दै बचाउ गरेका स्थानीय तहका प्रमुखहरूले वर्षभरि गरेका कामप्रति सन्तुष्ट भने नभएको बताए। सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले भने, ‘हामी सिक्ने क्रममै छौं। सोचे जस्तो विकास हुन सकेको छैन। तर केही पनि नभएको भनेर भन्न मिल्दैन।’

जिल्ला सभामा स्थानीय तहले जिल्ला समन्वय समितिसँग समन्वय नगर्दा सूचनाहरू छरिएको, अनुगमन प्रभावकारी हुन नसकेको र जनप्रतिनिधि आएको एक वर्ष भइसक्दा पनि सरकारको महसुस दिलाउन नसकेको भन्दै स्थानीय तहको आलोचना भएको थियो।

प्रकाशित : भाद्र १५, २०७५ २०:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अार्थिक अभावले ५ महिनादेखि फलामे साङ्लाेमा

– उपचारमा खर्च अभाव, धामीझाँक्रीकै भर
–  उपचारका लागि सहयोगको याचना
कान्तिपुर संवाददाता

धनकुटा — दुवै हातखुट्टा फलामे सांग्लाले खम्बामा बाँधेर पशुलाई झैँ राखिएको छ । लाउँलाउँ खाउँखाउँ उमेरमा उनको कष्टकर दैनिकी देख्नेलाई पीडा बोध हुन्छ । आर्थिक अभावमा उपचारबाट वञ्चित २१ वर्षीय युवकको अवस्था विगत ५ महिनादेखि कष्टकर बन्दै गएको छ ।

धनकुटा नगरपालिका–१० मार्गाका मोहन श्रेष्ठ धामीझाँक्रीको भर पर्दा हाल उनी फलामे सांग्लाको बन्धनमा परेका छन्। सुरुमा मानसिक असन्तुलनको लक्षण देखा परेपछि उनलाई धामिझाँक्रीबाट झारफुक गरिएको उनका बाबु पहलमानले बताए।

चैत महिनादेखि उनमा असामान्य अवस्था आएपछि परिवारजनले झारफुकमा एकपछि अर्को धामीको भर पर्दै गए। कतिपय धामीझाँक्रीले कुखुराको भाले र रकम माग गर्दै श्रेष्ठलाई निको पारिदिने आश्वासन पनि दिए।

‘निको पारिदिने भन्दै धामीझाँक्रीले धेरै खर्च गरिदिए’, उनले भने, ‘तर बीसको उन्नाइस नभएपछि ढिलो गरेर अस्पताल पुर्‍याए पनि उपचार खर्च अभावमा घरैमा ल्याएर बाँधेर राखेको हो।’ धामीझाँक्रीबाट झारफुक गराउँदा ऋण काढेर जुटाएको ९० हजार रुपैयाँ खर्च भएपछि अस्पतालमा उपचार गराउने रकम अभाव भएको उनले दु:खेसो पोखे।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगे पनि खर्च अभावका कारण घर फर्काएर ल्याइएको मोहनकी दिदी गीताले बताइन्। आफ्नै घरका बाख्रा, छिमेकीको सुँगुर र खरायोसमेत मार्न थालेपछि सुरुमा उपद्रो गरेको भन्दै प्रहरीमा उजुरी गरिएको काका चन्द्रले बताए तर प्रहरीले मानसिक असन्तुलन भएको भन्दै घरैमा फर्काएका थिए।

त्यसपछि टेलिभिजन फुटाउने, घरको ढोकाझ्याल नै तोडफोड गर्ने, कपडा च्यात्नेलगायत गतिविधि गर्न थालेपछि अन्तिम विकल्पका रूपमा सांग्लाले बाँधिएको उनले जनाए। ‘उसको क्रियाकलाप नियन्त्रण गर्न हाम्रो केही लागेन,’ उनले थपे, ‘छाडा छोडा जनधनकै असुरक्षा ठानेर बाँध्नुपरेको हो।’

सांग्लाले बाँधिएको ठाउँ हातखुट्टा तथा शरीरमा घाउखटिरा रहेको छ। छोराको अवस्थालाई आफूले हेर्नसमेत नसक्ने भन्दै आमा इन्दिराले आँसु झारिन्। उनले गरिबीको कारण छोरालाई उपचार गराउन नसकिएको बताइन्। सुरुवाती दिनमा निको होला ठानेर धामीझाँक्रीको भर परे पनि अस्पतालमा उपचार गराउन खर्च अभाव नै मुख्य कारण रहेको बताइन्। उनले छोराको उपचारका लागि मनकारी व्यक्तिबाट सहयोगको याचनासमेत गरेकी छन्।

बेलाबेला बर्बराउने र अधिकांश समय मौन बस्ने मोहन परिचित व्यक्तिसँग दोहोरो कुरासमेत गर्छन्। परिवारको आर्थिक अभावका कारण ७ कक्षामा पढाइ टुंग्याएका उनी घरको काम सघाउँदै आएका थिए। पछिल्लो समय मादकपदार्थ सेवन गर्दै अस्वाभाविक कार्य गर्न थालेपछि मानसिक असन्तुलनको अवस्था आएको छिमेकी माधव श्रेष्ठले बताए।

प्रकाशित : भाद्र १५, २०७५ १९:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT