पुल निर्माण अधुरै

अछाम — काम सुरु भएको ५ बर्ष बितिसक्दा पनि बुढीगंगा नदीमा पुल निर्माण हुन सकेको छैन । ०७० मा सम्झौता भई ०७२ असारमा पुल निर्माण गरिसक्ने सम्झौता थियो ।

पुल निर्माण अधुरै

सय मिटर लम्बाइको चित्रे पुलका दुईवटा पिलर अधूरै छन् । ०७२ बैशाख १५ भित्र निर्माण सम्पन्न गर्ने समयावधि तोकिए पनि ठेकेदारको अनुरोधमा असार मसान्तसम्म थप गरीएको थियो ।

सम्झौतापश्चात् पहिलो किस्ता रकम निकासा लिएर काम सुरु गरेका ठेकेदारले त्यसपछि काम रोकेका थिए । असार मसान्त आउनै लाग्दा पुलको छेउमा हतारहतार माटो पटानको काम गरेर दोस्रो किस्ता रकम लिएका थिए । त्यसपछि पुन:काम नगरेका हुन ।

अनक/नन्देगडा र तुल्सीदुर्गा गरी ३ वटा निर्माण कम्पनीले संयुक्त रूपमा सम्झौता गरिएको पुलको लागत ६ करोड ३६ लाख ३६ रुपैयाँ हो । कामको जिम्मेवारी नन्देगडा कन्स्ट्रक्सनका सञ्चालक रामबहादुर बुढाले लिएका छन् । उक्त पुलमा ५० प्रतिशत जति काम भए पनि ठेकेदारले २ चरणमा गरी १ करोड ८८ लाख ५५ हजार भुक्तानी लिइसकेको जिल्ला समन्वय समितिको लेखा शाखाले जनाएको छ ।

पुलको निर्माण कछुवा गतिमा भइरहेकोमा स्थानीय बासिन्दा आक्रोसित छन् । ढिलासुस्तीप्रति सरोकारवालाले चासो लिएर लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको पहल गर्नुपर्ने स्थानीयले बताए । तर निर्माणको ठेक्का लिएर बेवास्ता गर्ने ठेकेदारलाई कानुन बमोजिम कारबाही गर्नेतर्फ सम्बन्धित निकायले आट गर्न सकेको छैन् ।

कार्यालयले पटक–पटक ताकेता गर्दा पनि ठेकदारको लापरवाही र गैर जिम्मेवारीपनाले पुल निर्माणको काम अधुरै रहेको जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवरले बताए । ‘सरोकारवालाको समूहले भर्खरै अनुगमन गर्दा ठेकेदारको लापरवाही र सामग्री व्यवस्थापनमा वेवास्ता गरेको देखियो,’ संयोजक कुँवरले भने ।

प्रकाशित : भाद्र १७, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?