२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अतिक्रमणले खुम्चिँदै किल्ला

डीआर पन्त

डडेलधुरा — ‘म बाघको डमरु हुँ, मलाइँ सिनो खाने कुकुर नसम्झ’ नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले भनेका यी शब्द कुदिएको डडेलधुराको अमरगढी किल्ला अहिले सरकारी उपेक्षाले अलपत्र छ ।

अतिक्रमणले खुम्चिँदै किल्ला

९७ वर्षीय स्थानीय कालु टमटालाई उनका बुवाले किल्लाभित्रका तोपको समेत एक पटक मर्मत गरेको सम्झना छ । फूलपातीमा किल्लाभित्रका तोप, भीमसेन नाल बन्दुक र अन्य हतियार टुँडिखेलमा लगेर सेनाले पड्काएको उनले देखेका छन् । तर, पछिल्लो समय नेपाल एकीकरण र अंग्रेजसँगको युद्धमा महत्त्वपूर्ण भूमिका रहेको अमरगढी किल्ला उपेक्षामा परेको टमटाले बताए ।

‘अहिले त किल्लाको स्वरूप नै बिगारिसके,’ उनले भने, ‘किल्लाभित्र रहेको उग्र भैरवको पूजा हुने दिन र फूलपातीका दिनमा मात्र किल्लाभित्र सरोकारवालाहरूले जान पाउँथे ।’ किल्लावरिवरि रहेको जंगल पनि नासियो । किल्ला क्षेत्रको अधिकांश भूभाग अतिक्रमणमा परेको छ । अहिले किल्ला धेरै खुम्चिसकेको उनले बताए ।

तोप हतियार र सैन्य सामग्री २० वर्षअघिसम्म किल्लाभित्रै थिए । २०५८ मा संकटकाल लागेर सेना बस्न थालेपछि किल्ला सर्वसाधारणका लागि बन्द गरियो । २०६६ सम्म नेपाली सेनाको जिम्मा रहेको किल्ला ०६६ पछि अमरगढी नगरपालिकाले जिम्मा लिएको छ ।

नगरपालिकाले जिम्मा लिएपछि किल्ला आसपास क्षेत्रका ऐलानी जग्गा अतिक्रमणमा पर्न थालेको छ । किल्लाको पुरातात्त्विक महत्त्वलाई कायम राखी भवन निर्माण हुनुपर्नेमा त्यसो भएको छैन ।

२१ सय बर्गमिटर क्षेत्रफलमा फैलिएको किल्ला बिस्तारै खुम्चिँदै गएको छ । किल्लाभित्रका ऐतिहासीक सामग्री सेनाले आफूले नलगेको जनाउंँदै आए पनि सेना वस्न थालेपछि ती हातहतियार किल्लावाट अन्यत्र सारिएको खलंगा निवासी ५७ वर्षीय उमा श्रेष्ठले बताइन् ।

नेपाल एकीकरण र अंग्रेजसँगको युद्धमा सामरिक महत्त्वको ऐतिहासिक धरोधर अमरगढी किल्ला राज्यको उपेक्षाका कारण अलपत्र अवस्थामा पुगेको स्थानीयको गुनासो छ । नगरपालिकाको स्वामित्वमा रहेको किल्ला भित्र र वरिपरि जथाभावी निर्माण र सिमेन्टको प्रयोगका कारण वास्तविक स्वरूप बिग्रँंदै जान थालेको छ । अतिक्रमणका कारण किल्ला छेउछाउको जंगलसमेत नासिँदै गएको छ ।

किल्लाभित्र रहेका थुप्रै पुरातात्त्विक र ऐतिहासिक महत्त्वका सामग्री गायब भएको पनि वर्षौं भइसकेको छ । किल्लामा ५ वटा तोप, दर्जनौं घरेलु हतियार, सयभन्दा बढी बन्दुक देख्नेहरू अहिले पनि थुप्रै छन् । ‘किल्लाभित्र दर्जनौं हतियार थिए,’ वृद्ध टमटाले भने, ‘हामीले भीमसेन नाल बन्दुक सफा पनि गरेका हौं ।’

प्रदेश ७ को व्यापारिक केन्द्र कैलालीबाट १ सय ४० किलोमिटर कालोपत्रे सडक मार्ग पार गरेपछि डडेलधुरा सदरमुकामको अमरगढी किल्लामा पुग्न सकिन्छ । नेपाल एकीकरण र नेपाल ब्रिटिस युद्धमा मात्र होइन् यो किल्लाले माओबादी द्वन्द्वमा समेत सामरिक महत्त्व राखेको थियो । त्यो बेला सेनाको ब्यारेक यही किल्लामा स्थापना गरिएको थियो ।

समुद्री सतहदेखि २ हजार १ सय मिटरको उचाइमा रहेको अमगरगढी किल्लाको उचित संरक्षण र प्रचार हुन सक्ने हो भने पर्यटकीय विकासमा यो किल्ला महत्त्वपूर्ण हुन सक्छ । यहाबाट खप्तड, अपि, साइपाललगायत हिमाल देखिन्छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका पर्यटकीय स्थल जान किल्लाकै बाटो तय गर्नुपर्छ ।

प्रदेश ७ का ७ पहाडी जिल्ला जान डडेलधुरा टेक्नैपर्ने हुन्छ । डडेलधधुरा सदरमुकाम पुग्न ५ किलोमिटर मात्र दूरीमा रहेको स्याउलेबाट डोटी, अछाम र बाजुरा जाने लोकमार्ग छुट्टिन्छ । त्यस्तै डडेलधुरा सदरमुकाम हुँदै बैतडी लोकमार्गमा पर्ने खोडपेबाट बझाङ र सतबाँझबाट दार्चुला जाने लोकमार्ग छुट्टिन्छ ।

अमरगढी किल्लाको निर्माण विसं १८४७ मा बडाकाजी अमरसिंह थापाले गरेका थिए । विभिन्न कलात्मक ढुंगाहरूले कुदेर निर्माण गरिएको किल्लाको भित्री भागमा लडाइँ लड्ने २२ वटा गुफा छन । सैनिकहरू बस्ने र सैनिक अधिकारी बस्ने अलगअलग गुफा र घर भएको किल्लाका अधिकांस भाग जीर्ण भइसकेका छन् ।

प्रकाशित : भाद्र १७, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?