१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हिउँदमा धूलो, बर्खामा हिलो

मोहना–अत्तरिया ६ लेन सडक
मोहन बुढाऐर

धनगढी — मोहना–अत्तरिया ६ लेन सडक निर्माण सुस्त छ । स्थानीय टेलिफोन, बिजुली र खानेपानी सुबिधाबाट बन्चित छन् । व्यापार व्यवसाय प्रभावित भएको छ ।

हिउँदमा धूलो, बर्खामा हिलो

धनगढी भन्सार रोडदेखि राजपुरसम्मको ब्यापार प्रभावित भएको हो । ‘समयमै काम
नहुँदा सडक लथालिंग छ । ब्यावसायिक कारोवार घटेको छ,’ स्थानीय पसले पुष्प कुँवरले भने । उनका अनुसार घाम लागेको बेला धूलो उड्छ । पानी पर्दा हिलाम्य हुन्छ । यस्तो समस्याले ग्राहक पसलसम्म पुग्न सक्दैनन् । मोहनादेखि राजपुरसम्मको क्षेत्र धनगढीको व्यापारिक कोरिडोर हो ।

सडक निर्माणको सुरुवातदेखि नै विवाद भइरहेको छ । सडक किनारमा पर्ने घर भत्काउनुपर्ने अवस्थामा सर्वोच्च अदालतसम्म मुद्दा पर्‍यो । त्यसले गर्दा काममा ढिलाइ भयो । गत आर्थिक वर्षमा ३० प्रतिशत मात्रै निर्माण कार्य हुन सक्यो । ठेकेदार कम्पनीसँगको सम्झौताअनुसार चालु आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने हो । तर, अहिलेकै गतिमा काम हुने हो भने लक्ष्य धेरै टाढा रहेको स्थानीयले बताए ।

सडक निर्माणमा भएको ढिलासुस्तीले स्थानीयले लामो समयसम्म सास्ती भोग्नुपरेको अर्का स्थानीय सुरेन्द्र विष्टले बताए । सडक पेटी, नाली, कल्भर्ट भत्काउँदा स्थानीय वर्षातमा डुवानमा परिरहेका छन । आउजाउमा समस्या छ । निर्माण क्रममा बिजुली, खानेपानी र टेलिफोनका लाइन काटिएकाले समस्या बढेको छ ।

‘धनगढी नगरको स्वरूपलाई बदल्ने गरी निर्माण भइरहेको ६ लेन सडकमा स्थानीयले अवरोध गरेका छैनन् । उनीहरूको सहयोग जुटेको छ,’ दबाब समूहका गणेश भण्डारीले भने, ‘६ लेन सडकमा आफ्ना घर, पसल आफैं भत्काएर नगरवासीले सहयोग गरेका छन् । व्यापार घाटा सहेर बसेका छन् ।’ तर उनी सडक निर्माणमा भइरहेको ढिलासुस्तीले नगरवासी आक्रोशित हुँदै गएको बताउँछन् ।

राजपुरका भानबहादुर साउँदले बिजुली, खानेपानी र टेलिफोनलगायत असुविधा भोग्नुपरेको बताए । आयोजना कार्यालय र ठेकेदार कम्पनीले निर्माणको क्रममा यस्ता आधारभूत सुविधामा असर नपुग्ने गरी काम गर्नुपर्ने उनले सुझाए । यही गतिमा ६ लेन सडकको निर्माण कार्य समयमै सम्पन्न नहुने उनको दाबी छ ।

पछिल्लो समयमा ६ लेन सडक निर्माणले तीव्रता पाउन सकेको छैन । तर, निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाका प्रबन्ध निर्देशक राजेन्द्र साउदले वर्षाको २ महिना मात्रै निर्माण कार्य सुस्त भएको दाबी गरे । निर्माण अवधिमा कुनै प्राविधिक तथा अन्य अवरोध नभए समयमै सडक निर्माणको काम सम्पन्न हुने उनले बताए ।

६ लेन सडक आयोजनाका प्राविधिक फाँटका सव–इन्जिनियर भुपेन्द्र बडालले हालसम्म ३५ प्रतिशत काम सम्पन्न भइसकेको बताए । काममा अवरोध नभए समयमै निर्माण कार्य पूरा हुने उनको भनाई छ । गत बर्ष झै विभिन्न अवरोध आएमा चालु आर्थिक वर्षको समयावधिमा निर्माण सम्पन्न हुनेमा आफूलाई समेत शंका रहेको बडाल बताउँछन् ।

आयोजना प्रमुख मनीषकुमार साहले ६ लेन सडक निर्माणमा सर्वाेच्च अदालतमा परेको मुद्दाका कारण पनि ढिलो भएको बताए । उनका अनुसार सडक बिस्तार क्षेत्रभित्र परेका संरचनाहरू हटाउन नमानेर केही घरधनीले सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दामा सर्वाेच्चले अन्तरिम आदेश गरी घर भत्काउन आदेश दिएको थियो ।

साहका अनुसार सर्वाेच्च अदालतले सडक ऐन २०३१ अनुसार निर्माण कार्य अघि बढाउन आदेश दिएको थियो । अन्तरिम आदेशपछि अधिकांश घरधनीले आफ्नो घर आफैं भत्काउन सुरु गरेका थिए । आदेशलाई अटेर गरेका ८/१० जनाको घर आयोजना र नगरपालिकाले जबरजस्ती हटाएर निर्माण अघि बढाएको आयोजना प्रमुख साहले बताए ।

धनगढीको मोहना नदीदेखि अत्तरियासम्मको करिब साढे १४ किमिको ६ लेन सडक १ अर्व ६८ करोडमा निर्माण भइरहेको हो । प्याकेज १, २ र ३ मा निर्माण ठेक्का भएको छ । प्याकेज १ अन्तर्गत नागार्जुन र २ र ३ मा राजेन्द्र निर्माण सेवाले ठेक्का लिएको छ ।

प्रकाशित : भाद्र १७, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?