२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कर्णाली कटान रोक्न देशावर

कर्णाली तटीय क्षेत्रका बासिन्दा नदी कटानको जोखिममा परेपछि बस्ती र खेत जोगाउन देशावर (श्रमदान) मा जुटेका छन्
गणेश चौधरी

टीकापुर — टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीको कटान रोक्न देशावर (श्रमदान) गर्न लगाइएको छ ।

कर्णाली कटान रोक्न देशावर

जैविक तटबन्ध निर्माण गर्न जमरा कुलो जल उपभोक्ता समितिअन्तर्गतका किसानलाई देशावरका लागि बोलाइएको हो ।

कर्णाली तटीय क्षेत्रका बासिन्दा नदी कटानको जोखिममा परेपछि बस्ती र खेत जोगाउन देशावरका लागि गाउँवासीलाई बोलाइएको जमरा कुलो जल उपभोक्ता समिति अध्यक्ष लालवीर चौधरीले बताए । ‘जमरा कुलोको पानी लाग्ने ठाउँका बासिन्दा जोखिममा छैनन्,’ उनले भने, ‘तर, जोखिममा रहेको बस्ती एउटै रानी, जमरा र कुलरिया सिँचाइअन्तर्गतकै मौजा भएकाले सहयोगका लागि जमरा कुलो क्षेत्रका किसान पनि देशावरका लागि गएका हुन् ।’

जमरा कुलो जल उपभोक्ता समितिका करिब हजार किसानले जैविक तटबन्धका निर्माणका लागि देशावरमार्फत नि:शुल्क श्रमदान गरेको अध्यक्ष लालवीरले बताए । कैलालीको पूर्वोत्तर क्षेत्रमा देशावर वर्षौंदेखि चल्दै आएको परम्परा हो ।

रानी जमरा र कुलरिया कुलो भएर खेतमा सिँचाइका लागि पानी ल्याउन उनीहरू बर्सेनि देशावरका लागि जुट्ने गरेका छन । बस्तीका सवै घरबाट जुटेर श्रमदानमा खटिने चलनलाई यहाँ देशावर भनिन्छ । जमरा कुलो उपभोक्ता समितिका अध्यक्ष लालवीरका अनुसार जैविक तटबन्ध बनाएर नदी कटान नियन्त्रण गर्न बास र स्याउला प्रयोग गरिएको छ ।

पानी पनि यतिबेला घटेकाले देशावर मार्फत कटान रोक्न दिगो रूपमा जैविक तटबन्ध बनाइएकाले कटान कम भएको छ । देशावर मार्फत जैविक तटबन्ध निर्माण गर्नुपूर्व नदीले लगातार कटान गरिरहेको थियो । करिब ३ फिट मात्र डिल कटान गर्न बाँकी रहँदा देशावरमार्फत तटबन्ध निर्माण गरिएपछि नदी गाउँ पस्ने खतरा कम भएको स्थानीयले बताए । जैविक तटबन्ध निर्माणपछि कर्णालीको कटान रोकिदा नदी तटिय टीकापुरका बासिन्दा केही आशाबादी भएका छन् ।

देशावरमार्फत बनेको तटबन्धले जोगिने आशा जागेको टीकापुर–७ का भीम विकले बताए । ‘देशावरको तटबन्ध बलियो बनेको छ । यसले कटान रोकिएको छ । अब नदी गाउँ पस्ने खतरा अलि कम भयो,’ उनले भने ।कर्णाली किनारको नदी कटान प्रभावित क्षेत्रमा पक्की तटबन्ध निर्माण हुन बाँकी रहेको दौलतपुर घाट नजिकै करिब एक किलोमीटरमा कर्णाली नदीले कटान तीव्र बनाएको थियो ।

वर्षापछि पक्की तटबन्ध निर्माणको काम सुरु हुने रानी जमरा कुलरिया सिँचाइ आयोजना कार्यालयले जनाएको छ । पक्की तटबन्ध बनेको ठाउँमा नदी कटान छैन ।

प्रकाशित : भाद्र १७, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?