१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

थारू गाउँमा अस्टिम्कीको रौनक

गणेश चौधरी

टीकापुर — व्रतालु महिला थालमा चामल, चामलमाथि माटोको दियो (पाला) बालेर लोटामा चोखो जल लिएर सोह्र शृंगारसहित अस्टिम्की घरमा छिरे । त्यसपछि अँध्यारो अस्टिम्की घर पालाको दियालोले उज्यालो भयो ।

थारू गाउँमा अस्टिम्कीको रौनक

अस्टिम्की घरको भित्तामा भएका चित्रहरूमा पालैसित उनीहरूले टीका लगाए । ती चित्रमा सृष्टिको कथा वर्णन गरिएको छ । अस्टिम्कीको हस्तलिखित चित्रको माथिल्लो भागमा चन्द्र र सूर्यको चित्र कोरिएको छ । पिँधमा जलमण्डलमा पाइने माछा, गंगटा र गड्यौलालगायतका चित्र छन् । मध्य भागमा कृष्ण रूखमा बसेर बाँसुरी बजाइरहेका छन् ।

माथिल्लो पंक्तिमा पाँच पाण्डव र त्यसमुनि गोपिनीहरू । अस्टिम्की चित्रमा रावण, हलो जोतिरहेको मानिस, कुकुर, हात्ती, घोडा, बाँदर, बोटवृक्ष र चरालगायतका चित्र छन् । यसबाट थारूहरू प्रकृतिपूजक हुन् भन्ने प्रमाणित हुने गरेको शिक्षक चित्रबहादुर चौधरीले बताए । उनले भने, ‘सृष्टिसँग जोडिएका सबै चीज अस्टिम्की चित्रमा हुन्छन् । यो सृष्टिकालदेखिको लोक इतिहास हो ।’

थारू वृद्धवृद्धाका अनुसार कृष्ण जन्माष्टमीको अघिल्लो दिन थारू महिला दिनभरि नदी खोलामा माछा मार्ने र त्यही माछासित राति ‘दरभात’ खाएर जन्माष्टमीको दिन व्रत बस्छन् । दिनभरिको व्रतपछि साँझ पूजापाठ गर्छन् । पूजापाठपछि सबै आ–आफ्नो घरमा फर्किन्छन् । फलाहारपछि पुन अस्टिम्की घरमा फर्किन्छन् । रातभरि अस्टिम्की गीत गाउँछन् । थारू गाउँमा अहिले अस्टिम्कीकै रौनक छ ।

‘पहिल ट सिरिजल जलथल धरती, सिरिजी ट गइल रि कैली री कुश डाब’ अर्थात् संसारमा सबभन्दा पहिला पानीको सृष्टि भयो । त्यसपछि धरतीको । अनि अन्य चीजको । यो सृष्टिको कथा रातभरि अहोरात्र चलिरहन्छ । भोलिपल्ट बिहान पुन: अस्टिम्की पुज्छन् र पूजामा प्रयोग गरिएका चामलबाहेकका चीज नदीमा विसर्जन गर्छन् ।

अस्टिम्कीको पूजापाठपछि व्रतालु महिला घरमा गएर खाना पकाउँछन् । तरकारी ३, ५ या ७ थरीको बनाई आफ्नो भागबाट प्रसाद भात र तरकारी केही भाग छुट्याएर आगोमा राख्ने गरिन्छ । जसलाई ‘अग्यारी देना’ भनिन्छ । अस्टिम्कीको खाना आफ्ना दाजुभाइ, इष्टमित्रलाई खुवाउने चलन रहेको छ । थारूहरू यसलाई ‘अग्रासन’ भन्छन् । यति गरिसकेपछि अस्टिम्की पर्व सकिन्छ । तर यस अवसरमा गाइने अस्टिम्की लोककाव्य दसंैसम्म गाउँदै नाचिने सखिया नाचमा विधिवत् रूपले समापन हुन्छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?