हराउँदै ढिकी–जाँतो

मनोज बडू

दार्चुला — विद्युत र डिजेलबाट चल्ने मिल स्थापना भएपछि परम्परागत ढिकीजाँतो र पानी घट्टको प्रयोग घटेको छ । गाउघरमा आधुनिक प्रविधि भित्रिएपछि कुटानी –पिसानीका परम्परागत साधन हराउँदै गएका हुन् ।

दार्चुलाको दुहु गाउपालिकाको कुकुरे गाडमा परम्परागत रुपमा संचालित पानी घट्ट । तस्बिर : मनोज

अहिले गाउँ–गाउँमा धमाधम आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल स्थापना भइरहेका छन् । प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेको छ । महाकाली –६ की जमुना रैखोलाले आधुनिक उपकरणले धान कुट्ने, तोरी पेल्ने, गहु, मकै पिस्ने परम्परागत मेसिन विस्थापित गरेको बताइन । ‘ढिकी, पानी घट्ट र जाँतोमा पिसेको अनाज बाट पकाइएका परिकार निकै स्वादिला हुन्थे,’ उनले भनिन्, ‘विधुतिय उपकरणले सजिलो त भएको छ । तर स्वाद हरायो ।’

परिवर्तित समय, प्रविधिको विकास र मानिसको कष्ट गर्ने बानी हराउदैं जाँदा परम्परागत प्रविधि लोप हुदैं गएको उनको भनाई छ । परम्परागत प्रविधि लोप हुदैं गएपछि पानी घट्ट, ढिकी र जाँतोमा कुटेको चामल र पिठोसमेत पाइनै छाडेको दुहु –१ का रामसिंह महराले बताए । ‘ढिकीमा कुटेको चामल र पानी घट्टमा पिसेको पीठो नै मीठो लाग्छ,’ उनले भने, ‘ढिकीको चामल, जाँतो र पानी घट्टको पीठोको स्वाद अब कहा पाउनु ? त्यसले स्वास्थ्यलाई पनि फाइदा पुग्थ्यो ।’

Yamaha

कुनैकुनै गाउँमा फाटफुट परम्परागत ढिकी जाँतो देख्न पाइन्छ । खुट्टाले धान कुट्ने ढिकी त भेटिनै छाडेको छ । स्थानीय बासिन्दा छिटो, छरितो र सुखभोगी भएकाले पनि परम्परागत साधन छोडदै गएका हुन । ‘पहिले प्रत्येक घरमा ढिकी र जाँतो हुने गरेपनि हाल भने कहिकतै मात्रै प्रयोगमा ल्याएको भेटिन्छ । यस्ता प्रविधिहरूको आधुनिकिकरण गरी अझै कम लागत र सर्वसुलभताका आधारमा विकास गरे परम्परागत प्रविधिको संरक्षण हुन्थ्यो,’ महराले भने ।

Esewa Pasal

प्रकाशित : भाद्र १८, २०७५ ०९:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महाकालीमा तुइनकै भर

दुई वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने घोषणा गरिए पनि तुइनबाटै काली नदी वारपार गर्नुपर्ने बाध्यता
मनोज बडू

दार्चुला — एउटा मसिनो रसी जस्तो ग्याबिन तारमा झुन्डिएर महाकाली नदी वारपार गर्न निकै कठिन हुन्छ । नदी तर्दै गर्दा बिग्रियो वा तर्न नसकेर बीचमै अड्किँदा नदीमा खस्ने सम्भावना उत्तिकै रहन्छ । दार्चुलाको उत्तरपश्चिमी गाउँका स्थानीयबासिन्दा भने वर्षौंदेखि यस्तै कहालीलाग्दो यथार्थ दिनदिनै भोगिरहेका छन् ।

पहिलो पटक ०७२ मा प्रधानमन्त्री भएका केपी ओलीले दुई वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने घोषणा गरे । तर, दार्चुलाका स्थानीयले भने अहिले पनि तुइनबाटै काली नदी वारपार गर्नुपर्ने बाध्यताबाट छुटकारा पाउन सकेका छैनन् । भारतसँग सीमा जोडिएको महाकाली नदीमा पुल नहुँदा स्थानीय तुइनकै भर पर्न बाध्य छन् ।


जिल्ला सदरमुकाम खलंगा जान तथा दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि व्यास गाउँपालिकाका बासिन्दा तुइन प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । यो नदीमा तुइनबाट वारपार गर्नु अत्यधिक खतरा मानिन्छ ।


ग्याबिन जाली बुन्ने २/३ वटा तार एउटैमा राखेर तुइन बनाइएको हुन्छ । नदीको वारिपारि काठको पोलमा मसिनो रसी जस्तै ग्याबिनको तार बाँधेर बाँदरले जस्तै उल्टो गरी झुन्डिएर वारपार गर्न निकै सास्ती हुने गरेको स्थानीयले बताए ।


‘दैनिक उपभोग्य वस्तु ल्याउन र सरकारी कामकाजका लागि सदरमुकाम जानैपर्छ । नदी तर्न तुइनबाहेक अर्को विकल्प छैन,’ व्यास–२ का संग्रामसिंह धामीले भने, ‘नदी वारपार गर्न तुइन बाहेक अरू उपाय छैन, सकीनसकी तुइन तर्नैपर्छ ।’ कतिखेर तार चुँडिन्छ कि भन्ने डर भए पनि जोस निकालेर तुइन तर्न सकिने उनले बताए ।

पुल निर्माण नहुँदा व्यास गाउँपालिकाका बासिन्दाले तुइनको सकस खेप्दै आएका छन् । जिल्ला सदरमुकाम जान विदेशको बाटो प्रयोग गर्नुपर्छ । ‘स्वदेशबाट सदरमुकाम पुग्न एक दिन पूरै लाग्छ । वर्षात्मा झन् बाढी–पहिरोको जोखिम मोल्नुपर्ने हुन्छ,’ व्यास–४ डोकटकी धनादेवी विष्टले भनिन्, ‘भारतमा गाडी सुविधा हुनाले एक दिनमै सदरमुकामको काम भ्याएर घर पुगिन्छ । एक दिन बजार बस्नुपर्ने बाध्यताबाट मुक्त पाउनका लागि खतरा मोलेर भए पनि तुइन तर्दै आएका छौं ।’


स्थानीय बासिन्दा सदरमुकाम जानुपर्ने काम आइलाग्दा अघिल्लै दिनदेखि दिक्दार मान्छन् । ‘महिलालाई त तुइन तर्न झन् असहज हुन्छ,’ विष्टले भनिन्, ‘घरमा लोग्ने मान्छे नहँुदा आफैं सदरमुकाम जानुपर्छ ।’ चार बालबालिका र सासूसहित ६ जनाको परिवारलाई सदरमुकामबाटै खाद्यान्न ल्याएर छाक टार्ने गरेको उनले सुनाइन् । जिल्लाका उत्तरी महाकाली तटीय क्षेत्र आसपासका स्थानीयको दैनिकी तुइनमार्फत चलेको हुन्छ । तुइनको सकस सकिएपछि भारतको मोटर मार्ग प्रयोग गरे सजिलै सदरमुकाम पुग्ने हुँदा यहाँका स्थानीय तुइनको जोखिम मोल्ने गर्छन् । नेपालतर्फ भरपर्दो बाटो नहुँदा आफूहरू भारतीय बाटो प्रयोग गर्न बाध्य भएको व्यास–२ का वडाध्यक्ष धीरेन्द्रसिंह बुढाथोकीले बताए । सबथोक भारतबाटै ल्याउनुपर्ने हँुदा तुइन नतरे परिवार भोकै बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।


व्यास गाउँपालिकाकै तिग्रममा नेपाल–भारत जोड्ने झोलुंगे पुल बने पनि अन्य ठाउँमा अझै तुइन विस्थापनको नारा सफल हुन सकेको छैन । लेकम गाउँपालिकाको लालीमा पुल निर्माण कार्य अगाडि बढेको भए पनि निर्माण कार्य अझै पूरा हुन सकेको छैन । लेकम क्षेत्रका बासिन्दा ट्युब चढेर महाकाली तर्दै आएका छन् ।


दार्चुलाको अर्को ठूलो नदी चमेलियामा भने सरकारको तुइन विस्थापन कार्यक्रममार्फत पुल निर्माण भएका छन् । जिल्ला समन्वय समितिमा प्राविधिक फाँट प्रमुख मदनराज जोशीले उक्त नदीको गोकुलेश्वर, सितोलीघाट सिमार र जारबगड देथला गरी तीन ठाउँमा झोलुंगे पुल बनिसकेको जानकारी दिए । महाकाली नदीका तुइन विस्थापनको काम सस्पेन्सन ब्रिज कार्यालय काठमाडौंले हेर्ने हुँदा आफूहरूलाई त्यसबारे धेरै जानकारी नभएको जोशीको भनाइ छ । व्यास गाउँपालिकाका आधा दर्जन ठाउँमा तुइनमार्फत आवतजावत गर्ने भए पनि तीन ठाउँका तुइन विस्थापन हुने देखिन्छन् । व्यास गाउँपालिकाको माल, बत्तीघाट, बडूगाउँ र मालिकार्जुन गाउँपालिकाको बाकुमा झोलुंगे पुल निर्माण हुने भनिए पनि भारतबाट निर्माणको अनुमति नआउँदा रोकिएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ १२:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT