३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पश्चिममा गौराको रौनक

कामको खोजीमा भारत गएकाहरू गौरा मनाउन घर फर्केका छन् । नयाँ लुगामा सजिएर गौरा खलोमा पुगेका महिलाले सोमवार शिव–पार्वतीको महिमा गाए । पुरुषले देउडा खेल्दै रमाइलो मनाए ।
प्रदेश ब्युरो

धनगढी — स्थानीय महिलाले बाजागाजाका साथ दुलही झैं चिटिक्क सिँगारिएकी गौरा देवीलाई धनगढीको वनदेवी मन्दिरमा भित्र्याउँदै गर्दा आइतबार बिहान मन्दिर वरिपरिको रौनक बेग्लै थियो ।

पश्चिममा गौराको रौनक

सोमबार वनदेवीलगायत गौराघर मागल, फाग र देउडामय भए । भाद्र शुक्ल पञ्चमीको दिन बिरुडा भिजाएपछि गौराको शुभारम्भ भएको मानिन्छ । सप्तमीको दिन गौरा भित्र्याउने चलनअनुसार यहाँका मन्दिर र स्थानीयका गौरा घरमा गौरा भित्र्याइएको छ ।

कुश, धान, सामा, अपामार्ग र तिल लगायत विभिन्न ९ प्रकारका बोटबाट तयार गरिने गौरादेवीको प्रतिमालाई विशेष साजसज्जाका साथ व्रतालु महिलाहरूले टाउकामा राखेर नचाउँदै गौरा घरमा भित्र्याउने चलन छ । पुरुषले त्यसबेला बाजागाजा बजाएर रौनक थप्छन् । सुदूरका पहाडी जिल्लामा समेत गौरा भित्र्याइएको छ ।

गौरा भित्र्याएको दोस्रो दिन महेश्वरसँग गौरादेवीको धुमधामसँग विवाह गरिन्छ । गौराको व्रत बस्ने महिलाले प्रसादको रूपमा घाँटीमा दुवाधागो बाँध्ने गर्छन् । यस पर्वको प्रमुख प्रसाद बिरुडा (क्वाँटी) हो । पञ्चमीका दिन बिरुडा भिजाइन्छ । षष्ठीका दिन बिरुडा धुने र गौराको समयमा खाने गरिन्छ । त्यो बिरुडा घरबाहिर भएका परिवारका सदस्यहरूलाई समेत प्रसादका रूपमा पठाउने चलन छ ।

बृहत् डोट्याली शब्दकोषमा उल्लेख भएअनुसार हिमालयराजकी छोरी पार्वती विवाहयोग्य भएपछि छोरीका लागि वर खोज्दै हिँडे । छोरीको विवाह सूर्यसँग गर्दा जलेर मर्ने, चन्द्रमासँग विवाह गर्दा आयु छोटो हुने, ब्राह्मणसँग बिहे गर्दा ब्राह्मण पूजापाठमा व्यस्त हुने र छोरी भोकले मर्ने, महेश्वरसँग विवाह गर्दा भाङ, धतुरो खाने भनेर अलमलमा परे । तर पछि छोरीको सल्लाहअनुसार महेश्वरसँग नै विवाह गर्ने निर्णय गरेकाले सोही विवाहको लगनको रूपमा गौरा पर्वलाई लिइन्छ ।

धनगढीको वनदेवी मन्दिरमा गौरा भित्र्याइँदै । तस्बिर : कान्तिपुर

५ वटा अन्नका बिरुवा र फलफूल मिलाएर विभिन्न गरगहनाले सजावट गरी गौरीको प्रतिमा (गौरा) बनाइन्छ । काठको टुक्राबाट महेश्वर (शिवको प्रतिमा) पनि बनाइन्छ । उक्त गौरीको प्रतिमा डालो (बाँस वा निगालोबाट बनेको वस्तु) मा कपडाले बेरेर महिलाहरूले पञ्चमीका दिन भिजाइएको पञ्चनाज (गहुँ, गहत, मास, केराउ र गुरुस) विरुडाले पूजन गर्छन् ।

पूजन गर्दा गाउने गीतलाई अठेवाली भन्ने गरिन्छ । ‘यसलाई नारी वेद पनि भनिन्छ,’ महाकाली साहित्य संघका अध्यक्ष हरिसप्रसाद जोशीले भने, ‘महिलाले नै गाउने र पूजन गर्ने गर्छन् ।’
दोस्रो दिन गौरा घरबाट गौरी र महेश्वरको प्रतिमा शिरमा राखेर अठेवाली गाउँदै महिलाहरूले नाच्दै गौरा खेल्छन् । बाजागाजासहित गौरालाई मन्दिरसम्म पुर्‍याउँछन् । मन्दिरमा विधिपूर्वक सेलाउने (विसर्जन) गरिन्छ ।

गौरा सेलाएपछि बिरुडाले आफन्तको शिर पूजन गरेर आशिष दिने चलन छ । त्यसपछि मात्रै महिलाहरूले खाना खान्छन् । बिरुडा प्रसादका रूपमा पनि खाइन्छ । हिन्दु पुरुषहरूले जनै लगाएजस्तै महिलाहरूले दुबो र धागो लगाउँछन् । गौराकै दिन महिलाहरूले नयाँ दुबधागो फेर्छन् । भदौमा अगस्ति उदय हुनुभन्दा अघिल्लो अष्टमीका दिन गौरा मनाइन्छ ।

कृष्ण पक्षमा परेका बेला अँध्यारी र शुक्ल पक्षमा परेको बेला उज्याली गौरा भन्ने गरिन्छ । साउन अन्तिम र असोज पहिलो सातासम्म पनि गौरा पर्ने गरेको अध्यक्ष जोशी बताउँछन् । ‘गौराको तिथिमिति नेपाली पात्रो वा क्यालेन्डरमा समावेश हुँदैन,’ जोशीले भने, ‘अगस्ति उदय हुनुभन्दा अगाडि यो पर्व मनाइन्छ ।’

महेन्द्रनगर बजारको मदन चोकमा डेउडा खेलिँदै । तस्बिर : कान्तिपुर

सतीदेवीले दक्षको अग्निकुण्डमा हामफाल्दा आफ्नो सूक्ष्म रूपलाई हरियो घाँसमा छिपाई भौतिक देह त्याग गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यताअनुसार घाँसको समष्टिगत रूप बनाई पूजा गर्ने परम्परा रहेको धनगढीमा गौरा घर भएका डोटीका धनबहादुर शाहीले बताए ।

पछिल्ला दशकमा गौरापर्व धार्मिक पर्वका साथै आपसी सद्भाव विकास गर्ने पर्वका रूपमा समेत स्थापित भएको छ । गौरापर्व ५ दिनसम्म गौराका फागका साथै सामूहिक देउडा खेलेर मनाउने चलन छ । प्रदेशको अस्थायी राजधानी धनगढीमा पहाडी जिल्लाबाट बसाइँ सरेर आएका सबै समुदायले गौरा खेल्ने गर्दछन् ।

गौराको समयमा कामका लागि बाहिर गएका घर फर्किने र गच्छेअनुसारको मिठो मसिनो खाने र राम्रो, नयाँ लुगा लगाउने गर्दछन् । गौराको अन्तिम दिन दुलहीलाई विवाह गरेर अन्माए झैं गरी बाजागाजा र फाग गाउँदै विसर्जनका लागि बनाएको निश्चित ठाउँमा विसर्जन गर्ने गरिन्छ । डोटेली संस्कृतिविद् डा. बद्री शर्मा बिनाडीका अनुसार भारतको उत्तराखण्ड क्षेत्रमा यहाँको जस्तै भव्य रूपमा गौरा पर्व मनाइन्छ ।

धार्मिक र सांस्कृतिक पर्व
धुमधामसँग सुरु भएको गौरा पर्वको रौनक ग्रामीण भेगदेखि सहरबजार जताततै चम्किएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म सबै गौरामा रमेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूबाट बसाइँ सरी आएकाहरूको बाहुल्य भएका ठाउँमा गौराको रौनकता अझ बढी छ । कञ्चनपुरका अधिकांश ठाउँमा गौरा मनाउने गरिन्छ । भीमदत्त नगरपालिकाको हल्दुखाल, बाँसखेडा, महेन्द्रनगर बजार लगायतका गाउँमा धुमधामसँग गौरा मनाइएको छ ।

विगतका वर्षमा केही सीमित ठाउँमा मात्रै मनाइने गौरा पछिल्ला वर्षमा पहाडी समुदायको बाहुल्य बढ्दै गएपछि यस पर्वको महत्त्व पनि बढ्दै गएको छ । कामको खोजीमा भारततिर गएकाहरू गौरा मनाउन घर फर्किने गर्छन् । घर परिवारमा पनि नयाँ लुगा, मिठो र विशेष खालका खानाहरू पकाउने चलन छ ।

‘यस क्षेत्रको प्रमुख चाड हो गौरा,’ साहित्यकार वीरबहादुर चन्दले भने, ‘अन्य चाडपर्व गौरा जति महत्त्वसाथ मनाइँदैन, यो नारीप्रधान पर्व पनि हो ।’ उनका अनुसार हिमालय पर्वतकी छोरी गौरी र महादेवको विवाहको सम्झनामा गौरा पर्व मनाउने चलन परापूर्व कालदेखि सुरु भएको हो ।

गौरा सबै पर्वमध्ये अहिंसा र भेदभावरहित भएको साहित्यकार चन्द बताउँछन् । ‘यस पर्वमा कुनै पनि जनावरको बलि वा हत्या गरिँदैन । अनि सबै जातजातिको सहभागिता हुन्छ,’ उनले भने, ‘नारीहरू स्वतन्त्र भएर पर्व मनाउने भएकाले नारीप्रधान पर्व पनि भन्न सकिन्छ ।’ वर्षभरि खेतीपाती र घरको काममा व्यस्त हुने महिलाहरू गौराका बेला दु:खकष्ट बिर्सेर गौरामा रमाउने चलन छ ।

सुरुमा पहाडी भेगमा मात्रै मनाइने गौरा पछिल्ला वर्षमा प्रदेश ७ मा मात्रै नभई देशका मुख्य सहर र देशबाहिर समेत मनाउन थालिएको छ । ‘अब यो काली, कर्णाली र कुमाउँको मात्रै पर्व रहेन, अन्तर्राष्ट्रिय स्तरमा मनाउन थािलएको छ,’ साहित्यकार चन्दले भने, ‘अहिंसा र नारीप्रधान भएकाले यसको छुट्टै विशेषता छ ।’

सुदूपश्चिमका पहाडी जिल्लाहरूसँगै कर्णाली र कुमाउँमा गौराको महत्त्व अझ बेग्लै छ । गौराकै लागि नयाँ लुगा सिउने र वर्षभरि उत्पादन भएको मिठो मसिनो आजकै दिनका लागि जम्मा गर्ने चलन छ । धार्मिक रूपमा मात्र नभई आर्थिक रूपमा समेत यसको महत्त्व छ ।

ग्रामीण भेगमा कृषकहरूले आफ्ना उत्पादनसमेत गौरामै बिक्री गर्छन् । अहिले पनि दुर्गम भेगमा यो चलन कायमै छ । हाटबजार यसकै विकसित रूप भएको बूढापाका बताउँछन् ।

गौरा पर्व सुरु भएदेखि ग्रामीण भेग तथा सहरबजार जताततै डेउडाको रौनक छाएको छ । महेन्द्रनगर बजारमा पनि ठाउँठाउँमा स्वस्फूर्त रूपमा डेउडा खेल्न थालिएको छ । महाकाली साहित्य संगम, खप्तड समाजलगायत विभिन्न संघसंस्थाले डेउडा आयोजना गर्दै आएका छन् ।

मनमुटाव मेटाउने पर्व
विवाहित महिलाहरूले व्रत बसेर महिलाहरूले काँस, कुश, पाती र घैयाधानको गाँज प्रयोग गरी बनाइएका गौरी र शिवको पुत्लालाई विधिवत् गाउँमा भित्र्याएर गौरा पर्वको सुरुवात गरेका छन् ।

शिव र पार्वतीका गौरवगाथा गाएर गौरा पर्वको रौनकले बझाङलाई छोएको छ । कतिपय गाउँहरूमा कृष्ण जन्माअष्टमीको दिन गौरा भित्र्याउने गरिए पनि धेरै गाउँमा यो पर्व नवमीका दिन सुरु भएको छ ।

शिव–पार्वतीको पुत्ला नचाउँदै महिलाहरूले गोलो घेरामा बसेर मागल गाउने गर्दछन् । शिव–पार्वतीको प्रेमकथामा आधारित मागलहरू गाइरहेका छन् । दिउँसो महिलाले गौरा खेल्ने र साँझ युवा–युवतीहरू अलगअलग समूह बनाएर देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ । गौरा पर्व मनाउनका लागि देश–विदेशमा रहेका मानिसहरू पनि यस समयमा घर आउने गरेका छन् ।

गौरा पर्वले सामाजमा भ्रातृत्व भावनाको विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको यहाँका स्थानीयहरू बताउँछन् । ‘यो हाम्रो संस्कृति मात्र हैन, सामाजिक एकता र भ्रातृत्वको कडी पनि हो,’ तल्कोटको संस्कृतिको विषयमा अध्ययन गरेका लालबहादुर बोहराले भने, ‘गौरा पर्वले वर्षभरि भएका मनमुटाव र असहमतिलाई पनि हटाउन भूमिका खेल्ने गरेको छ ।’

गौराको बेलामा महादेवलाई दूध चढाएर आफूभन्दा जेठो नाता पर्नेलाई ढोगभेट गर्ने चलन छ । यसक्रममा सामान्य मनमुटावका कारण बर्षभरि बोलचाल नभएकाहरूको पनि बोलचाल सुरु हुने गरेको उनले बताए ।

बझाङको तल्कोट, मष्टा, छबीस पाथिभेरा, छान्ना, थलारा गाउँपालिका, बुङ्गल र जयपृथ्वी नगरपालिकाका विभिन्न स्थानमा गौरा पर्व मनाउने गरिन्छ । कतिपय गाउँहरूमा भने भाद्र शुक्ल पक्ष सप्तमी तिथिका दिनमा गौरा भित्र्याउने चलन पनि छ ।

गौरा हेर्न भारतीय पनि
दार्चुलाका विभिन्न ठाउँमा धुमधामका गौरा पर्व सुरु भएको छ । स्थानीयले मौलिक परम्पराअनुसार गौरापर्वको मुख्य दिन सोमबार यहाँ दुर्गाष्टमी अर्थात् अठ्यावाली मनाएका छन् ।

आइतबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई सोमबार व्रतालु महिलाहरूले गौराखला (गौरा मनाइने आँगन) मा लगेर पूजा गर्ने चलन छ । दिनभरि फाग गाएर व्रतालु महिलाहरूले बिरुडाले गौरादेवीको पूजा गर्ने गरेका छन् ।

आइतबार गौरादेवीमा चढाएको दुबधागो पनि दुर्गाष्टमीका दिन महिलाहरूले धारण गर्ने गर्छन् । गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा लग्ने गरिन्छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रसंग महिलाहरूले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने पण्डित भोजराज पन्तले बताए ।

महिला तथा पुरुषहरूले ठाडाखेल, पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेलेर रमाइलो गर्ने चलन छ । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसेर पूजाआजा गर्दछन् ।

सीमावर्ती क्षेत्रमा गौरामा रमाउनका लागि भारतीय नागरिक पनि आउने गरेका छन् । भारतमा यो वर्ष भदौको पहिलो साता नै गौरापर्व मनाइसकेकाले नेपालमा गौरा हेर्न धेरै आएका छन् । नेपाल र भारतमा सहज रूपमा आवतजावत गर्न सकिने ठाउँमा एकै गौरामा रमाएर फर्कने धेरै हुन्छन् । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भएको खलंगाको पुलघाट, जौलजिवी, दत्तु र तिग्रमबाट धेरै भारतीयहरू नेपालमा गौरा हेरेर फर्किने र कोही एक/दुई दिनसम्म यहीं रमाउने गर्छन् ।

मागल र देउडा गुञ्जन
गौरा देवीको धार्मिक अनुष्ठानसँगै गौरा मनाइने अछामका विभिन्न गाउँ मागल र देउडामय भएका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पित्तलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाएर टीका र अक्षताले सिँगारेर धूपबत्तीले पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर भगवान महेश्वरको आह्वान गरी पूजाअर्चना गर्ने चलन छ ।

महिलाले माङ्गलिक गीतहरू गाउँदै गौरा पर्व मनाउँछन् । गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउँछन् । पञ्च वनस्पतिको पुत्ला बनाएर पँधेरामा पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा भित्र्याउने चलन छ ।

विवाहित महिलाले गौरा पर्वमा व्रत बसी कण्ठसूत्र धारण गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।

अछाममा सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन रहेको स्थानीय पण्डित धर्मानन्द जोशीले बताए ।

अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिँगारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाच्ने गर्दछन् । मष्टाबण्डाली, बैजनाथ लगायतका क्षेत्रमा गौराको अवसरमा देउडा खेल्ने चलन छ ।

प्रकाशित : भाद्र १९, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?