कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरुषविहीन बन्दै गाउँ

३५ प्रतिशत काम खोज्दै भारत पस्छन्
बाहिरबाट कामदार भित्रिन्छन्, यहाँका भारत पस्छन्
मोहन शाही

डोटी — दिपायल सिलगढी नगरपालिका–७ पाकरीस्थित लाटाकाफली कबुलियती वनका अध्यक्ष भक्तबहादुर महराले कबुलियती वन सम्बन्धी छलफल गर्न गाउँलेलाई बोलाए ।

पुरुषविहीन बन्दै गाउँ

बैठकमा १८ मध्ये १५ महिला आए । अध्यक्षसहित पुरुषको संख्या ३ मात्रै थियो । यतिबेला पाकरी गाउँ पुरुषविहीन हुँदै छ ।

अधिकांश पुरुष रोपाइँ सकेर भारत गइसकेका छन् । वृद्ध र कलिला बालक मात्र गाउँघरमा छन् । घरमा पुरुष नभएपछि घरायसी कामदेखि सामाजिक काममा महिलाहरूकै उपस्थिति
बाक्लो भेटिन्छ ।

गाउँमा बेरोजगारीका कारण घरका पुरुषहरूले कामको खोजीमा भारत जानुपर्ने बाध्यता रहेको महिलाहरू सुनाउँछन् । ‘१२ वर्ष मैले पनि भारतको तमिलनाडु गएर काम गरेको हुँ,
शारीरिक कमजोरीका कारण घरमै बसेको छु,’ ४९ वर्षीय जगन्नाथ महराले भने, ‘यता रोजगारीका अवसर नै नभएपछि भारत नगएर के गर्नु ?’ पाकरीमात्र होइन, यतिबेला जिल्लाका अधिकांश ग्रामीण भेग पुरुषविहीन बनेका छन् ।

पूर्वीचौकी, आदर्श, सायल गाउँपालिकाका अधिकांश गाउँहरूमा असारमा खेतीपाती सकेर कामका लागि भारत जाने पुरुषहरूको लर्को लाग्ने गरेको छ । पढाइ अधुरो छाडेर जाने विद्यार्थीहरू पनि उत्तिकै भेटिन्छन् । ‘यस्तो त पुर्खादेखिको चलनचल्ती हो,’ जिल्ला समन्वय समिति डोटीका संयोजक रामबहादुर ऐरले भने, ‘भर्खरै बिहे गरेका, स्कुलमा पढ्दै गरेका पनि झोला बोकेर भारत पसेको देख्दा मन दुख्छ । जनप्रतिनिधि भएर पनि समाधानका उपायहरू दिएर कार्यान्वयन गर्न सकेका छैनौं ।’

गरिखानेलाई रोजीरोटीको अवसर गाउँमै भए पनि भारत जाने प्रवृत्तिले निरुत्साहित पारेको संयोजक ऐरको बुझाइ छ । ०७२ सालमा जिल्लामा तत्कालीन जिल्ला विकास समितिले तयार गरेको प्रोफाइलमा ३५ प्रतिशत घरधुरी भारत गएको तथ्यांक छ । प्रदेश ७ मा पुस्तौंदेखि भारत जाने प्रवृत्ति छ ।

भारत जाने अधिकांशको तर्क स्वदेशमा रोजगारी नपाएको भन्ने छ । तर भारत जाने प्रवृत्तिले कुनै पनि परिवारको आर्थिक समृद्धि हुन नसकेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का बताउँछन् । उनले भारतमा बगाएको परिश्रमले जीवन निर्वाहमात्र गरिरहेको बताए ।

‘भारतको पैसाले धेरैको परिवारको चुलोमा आगो बलेको यथार्थ भए पनि त्यसले आर्थिक समृद्धि र समुदायको विकासमा खासै प्रभाव पारेको छैन,’ अध्यक्ष खड्काले भने, ‘वर्षभरिको कमाइ भरणपोषणमै गएको छ ।’ यहाँ कलिला उमेरदेखि ६० नाघेकाहरू समेत सयौंको संख्यामा भारतमा रोजीरोटीका लागि पसेका छन् ।

यता गाउँघरमा भने काम गर्ने कामदारको अभावले उद्यमी ब्यवसायीहरूले समयमै काम पूरा गर्न सक्दैनन् । यहाँ काम गर्न लाज मान्ने, हिचकिचाउने प्रवृत्तिका कारण बेरोजगारी देखिएको उद्यमी व्यवसायीहरू बताउँछन् । ‘ठूलाठूला होटल, उद्योग व्यवसाय नभए पनि उनीहरूले भारतमा कमाउने जति मिहिनेत गरे गाउँघरमै पनि कमाइ हुन्थ्यो,’ निर्माण व्यवसायी संघका अध्यक्ष प्रेमशंकर भट्टले भने, ‘काम गर्ने जनशक्ति नपाएर हामी निर्माण व्यवसायी अन्यत्रबाट मजदुर ल्याउन बाध्य छौं ।’ उनले भारत गएर जस्तोसुकै काम गर्न चाहने तर आफ्नै गाउँघरमा बसेर त्यही प्रकृतिका काम गर्न लजाउने बानीका कारण समस्या बढेको हो ।

पढेलेखेकै युवाहरू पनि स्वरोजगारमूलक आय–आर्जनमा आकर्षित हुन नसक्नु दुर्भाग्य रहेको डोटी च्याम्बर अफ कमर्सका अध्यक्ष केबी साउद बताउँछन् । आफैंले मजदुर नपाएर छटपटिएको उनले सुनाए ।

साउदको फर्निचर उद्योगमा ग्रिल निर्माणदेखि स्टिलका फर्निचर बन्ने गर्छन् । तर दक्ष कामदारको अभावले महिनौं दिन काम रोकिने गर्छ । अहिले उनको उद्योगमा ३० जना कामदार जिल्ला बाहिरबाट ल्याएर काम चलेको छ ।

भारतीय र तराईबाट आएका कामदार उनको उद्योगमा कार्यरत छन् । ‘स्थानीय युवाहरूलाई काम सिकाउन धेरै प्रयास गरें तर सकिएन,’ साउदले भने, ‘तर भारतबाट आएका कामदारहरू मासिक २० हजारबढी पैसा बुझेर लैजान्छन् । हाम्रा यताका दाजुभाइ अन्यत्र गएर भौंतारिन्छन् ।’

बिजुली सम्बन्धी काम गर्ने ठेकेदार तेज बोहरा बर्सेनि भारतको पलिया क्षेत्रबाट कामदार झिकाएर काम गराउँछन् । बाहिरबाट ल्याएर मजदुरलाई काम गराउँदा बढी झन्झट हुने, अनावश्यक पारिश्रमिकको माग गर्ने समस्या रहेको बोहरा बताउँछन् ।

कामदार अभावले कामै ठप्प हुन लागेपछि ठेकेदारहरूले तराई तथा भारतबाट कामदार झिकाउनुपर्ने बाध्यता आएको छ । ‘बाहिर न्यून ज्यालामा जस्तोसुकै काम गर्न तयार हुन्छन्,’ डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने ‘तर यहाँ सामान्य काम गर्न पनि अप्ठ्यारो मान्ने गर्छन्, काम गर्न चाहनेका लागि स्वदेशमै सम्भावना छ ।’

प्रकाशित : भाद्र १९, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?