जहाँ कर्मचारी छैनन्

मोहन शाही

डोटी — वडा कार्यालयमा वडाध्यक्ष नारायण पछेरा शुक्रबार असिनपसिन भइरहेका भेटिए । कार्यालयमा सिफारिस लिन आउनेको ओइरो थियो । उनी सेवाग्राहीका सिफारिस फारम भर्नेदेखि दर्ता चलानी र राजस्व काट्ने काम एक्लै भ्याइरहेका थिए ।

आदर्श गाउँपालिका वडा नं. ४ को वडा कार्यालय । तस्बिर : मोहन

सेवाग्राहीको कामबाट बेफुर्सदिला देखिएका उनलाई बाहिर भने आमा समूह र स्वयंसेविकाहरू स्वास्थ्यसम्बन्धी छलफलका लागि दुई घण्टादेखि कुरिरहेका थिए । ‘अब एक्लै कता कता भ्याउने’ निराश देखिएका उनी गुनासो गर्न लागे, ‘म कर्मचारी हुँ कि जनप्रतिनिधि हुँ छुट्याउनै गाह्रो भइरहेको छ ।’

आदर्श गाउँपालिका वडा नं. ४ महादेवस्थान वडा कार्यालय कर्मचारीविहीन छ । कर्मचारीका नाममा एक निरक्षर एकल महिला कार्यालय सहयोगीका रूपमा छिन् । कर्मचारीविहीन भएपछि वडाध्यक्ष पछेरा कर्मचारी र जनप्रतिनिधिका दुवै काम एक्लै भ्याइरहेका छन् । एक्लैले काम भ्याउन नसक्दा सेवाग्राहीको गुनासो पनि उनीमाथि थपिँदै गएको छ । त्यसैले आजभोलि उनी रुनु न हाँस्नुको अवस्थामा छन् ।

Yamaha

‘के के न सोचेर जनताको हितका लागि काम गर्छु भनेर जनप्रतिनिधि बनियो,’ आँसु झार्न मात्र नसकेका उनले मधुरो स्वरमा भने,‘जिम्मेवारी पाएर आएपछि यहाँको व्यवस्था देख्दा आत्मग्लानि महसुस हुन्छ ।’

कर्मचारी नभएपछि अध्यक्ष आफैं कर्मचारीको काम गर्दै । तस्बिर : मोहन

साबिकको महादेवस्थान गाविस अहिले आदर्श गाउँपालिकाको वडा नं. ३ र ४ बनेको छ । वडा नं. ३ का लागि गाउँपालिकाले सामाजिक परिचालक डिलबहादुर रोकायालाई नियुक्त गरेको छ । तर वडा नं. ४ का लागि छैन । दुवै वडामा जीविकोपार्जनसँग सम्बन्धित विश्वेश्वरप्रसाद कार्यक्रम लागू छ । यद्यपि गाउँपालिकाले सो कार्यक्रमअन्तर्गतका कर्मचारी पनि वडा नं. ३ मै लगेर राखिदिएको छ ।

‘अन्य वडामा सामाजिक परिचालक राख्ने, करारमा कर्मचारी राख्ने’ स्थानीय लालबहादुर अवस्थीले दुखेसो गरे, ‘हाम्रो वडामा भएका कर्मचारीलाई पनि अन्यत्र तान्ने काम गरिएको छ यो भन्दा बढी अन्याय के हुन सक्छ ।’ स्थानीयले वडालाई कर्मचारीविहीन बनाइँदा केन्द्रको सिंहदरबार गाउँमा आएको अनुभूति पाउन नसकेको आरोप लगाए ।

वडा कार्यालयलाई कर्मचारीविहीन बनाउनुको कारण भने राजनैतिक रहेको स्थानीय बताउँछन् । आदर्श गाउँपालिकामा रहेका ७ वडामध्ये पछेरामात्र कांग्रेसबाट निर्वाचित एक्ला वडाध्यक्ष हुन् । अध्यक्ष, उपाध्यक्षदेखि सबै अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधि छन् ।

‘एक्लो वडाध्यक्ष भएकाले मेरो रमिता हेर्न वडा कार्यालय कर्मचारीविहीन बनाइदिए,’ वडाध्यक्ष पछेराले भने, ‘बिहान १० बजेदेखि ४ बजेसम्म कार्यालय कुरेर सेवाग्राहीको काम गर्छु, जनप्रतिनिधिका रूपमा गर्नुपर्ने काम साँझ, बिहान गरिरहेको छु ।’ उनको सबैभन्दा बढी गुनासो वडा नं. ४ का बासिन्दामाथि राजनैतिक पूर्वाग्रह राखेर गाउँपालिकाको नेतृत्व नै असफल बनाउन प्रयास गरिरहेको प्रति छ ।

तर गाउँपालिका अध्यक्ष टेकबहादुर रोकाया भने राजनैतिक पूर्वाग्रह गरेको आरोपको खण्डन गर्छन् । उनले कर्मचारी अभाव भएकाले नै सिंगो गाउँपालिकामा काम गर्न कठिनाइ भएको तर्क गरे । ‘लामो समय कार्यकारी अधिकृत नहुँदा सचिवले नै चलाउनुभएको थियो,’ उनले भने, ‘एउटै सचिवले ४ वडा हेरिरहनुपरेको अवस्थामा कहाँबाट कर्मचारी ४ नं. मा खटाउने ?’

प्रत्येक चौमासिकमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता ल्याएर उनको हातमा थमाइदिन्छ । उनी कागजात र पैसा बोकेर सामाजिक सुरक्षा भत्ता बाँड्न टोलटोल पस्छन् । घटना पञ्जीकरण गर्न झोलामै सिफारिस फारम, छाप र राजस्व काट्नका लागि बिल ठेली सँगै बोकेर हिंड्छन् । ‘वडाध्यक्षको मर्म देखेर साह्रै दया लाग्छ,’ स्थानीय हरिना जोशीले भनिन्, ‘अबका चार वर्षसम्म यही हालत हो भने वडावासीलाई नै असर पर्छ ।’

उनको वडामा वडासचिव गणेश ओझालाई जिम्मेवारी दिएको छ । तर उनलाई ४ नं. वडा सँगै अन्य ३ वटा वडाको पनि जिम्मेवारी छ । एउटा वडामा साता दिन दिए पनि उनलाई समय पुग्दैन । ‘एक्लै कहाँ कहाँ जानु’ वडा सचिव ओझाले भने, ‘सँगसँगै गाउँपालिकामा पनि काम गर्नुपर्ने भएकाले वडामा जान फुर्सदै हुन्न, समय पाएसम्म जाने गरेको छु ।’

उनी महिना, दुई महिनाका लागि पुग्ने गरी सिफारिस लगायतका अन्य फारममा हस्ताक्षर र छाप लगाएर वडा कार्यालयमा छाडिदिने गर्छन् । सेवाग्राही आएमा वडाध्यक्ष पछेराले फारम भरेर सिफारिस गरी पठाउने गरेको वडासचिव ओझाले बताए । कतिपय कागजात आफंै बोक्ने भएकाले सिफारिस सचिवले गरिदिन्छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र २३, २०७५ १०:०५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

स्टिल बारले यात्रुको सुरक्षा

मोहन शाही

डोटी — दुई वर्षअघि डा.केआईसिंह राजमार्गको कोरालखोला ओरालोमा सिलगढीका नवीन बोहरा दुर्घटनामा गम्भीर घाइते भए ।

धनगढीबाट सिलगढी आउने क्रममा मोटरसाइकल चिप्लँदा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा आफू बाँच्नुको कारण भने सडक छेउमा लगाइएको स्टिल बार भएको उनले बताए । ‘बाइक चिप्लिएर बायाँतर्फको भीरतिर सोझियो,’ दुर्घटनाको दिन सम्भँmदै उनी भन्छन्, ‘सडकछेउ लगाइएको स्टिल बारमा मोटरसाइकल ठोक्किँदा भीरमा खस्नबाट जोगिएँ, नत्र मेरो पत्नी र छोरासहित मेरो ज्यान जाने थियो ।’

पहाडी क्षेत्रमा स्टिल बारका कारण दुर्घटनाबाट ज्यान जोगिएका बोहरा मात्र एक्ला होइनन् । पछिल्लो समय सडकछेउमा लगाइएका स्टिल बारले दुर्घटना न्यून हँुदै गएको तथ्यांक जिल्ला प्रहरी कार्यालय डोटीसँग छ । कार्यालयका अनुसार जिल्लामा सवारी दुर्घटनामा परी ज्यान बचेका मध्ये ३५ प्रतिशतले स्टिल बारका कारणले जोगिएको बताएका छन् ।

पहाडी क्षेत्रमा अधिकांश दुर्घटना भीरमा खसेर हुने गरेका छन् । त्यस्ता दुर्घटना रोक्न पछिल्लो समय स्टिल बारले निकै सहयोगी भूमिका खेलेको छ । भीरतिर खस्नबाट बचाउने, अगाडि बढ्नलाई ध्यानाकर्षण गर्ने कार्यमा स्टिल बार सहयोगी भएको उग्रतारा यातायात व्यवसायी समिति दिपायल काउन्टरका प्रमुख कृष्ण भट्टले बताए ।

स्टिल बारले दुर्घटना हुनबाट सुरक्षा मात्र दिएको छैन । स्थानीय क्षेत्रको सौन्दर्य पनि बढाएको छ । हरिया डाँडा अनि पहाडका घुम्तीहरूमा लहरै सडकछेउमा मिलाएर गाडिएका स्टिल बारले सौन्दर्यमा छुट्टै आयाम थपिदिएको छ । र्‍यालिङझैं लाग्ने स्टिल बारमा उभिएर सडक र पहाडका डाँडाकाँडाहरूको रमणीय तस्बिर खिच्नेहरू थुप्रै भेटिन्छन् ।

सडक भिरालो भएको क्षेत्रमा गाडिएका बारले सडकको स्वरूपमा पनि बदलाव देखाएको छ । दिपायल सिलगढी नगरपालिकाको पुन्नामा दुई किलोमिटर लामो स्टिलबारले मन छुने सौन्दर्य थपेको स्थानीय विपिन भट्टले बताए ।

‘ओरालो, एक नजरमा देख्न सकिने तीनवटा लामा घुम्तीमा लगाइएको बारले बेग्लै सुन्दरता थपेको छ,’ उनले भने, ‘स्टिलबार सडकका घुम्तीहरू र टाढा रहेको दिपायल, राजपुर, तिखा, एयरपोर्टलगायत क्षेत्रको पृष्ठभूमि राखेर दर्जनौं व्यक्ति फोटो खिच्छन।’

प्रकाशित : भाद्र २०, २०७५ ०९:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT