बाबुराम दम्पतीको अटोरिक्सा मोह

गणेश चौधरी

टीकापुर — मुक्त कमैया दम्पती बाबुराम र सीमा दुवैको पेसा अहिल अटोरिक्सा चालक हुन पुगेको छ । टीकापुर नगरपालिका–१ शक्तिनगरका यी दम्पतीको दैनिकी बिहानदेखि साँझसम्म आ–आफ्नो अटोरिक्सामा व्यस्त हुनु हो ।

रिक्सामा बाबुराम र सीमा । यो मुक्त कमैया दम्पती टीकापुर बजारमा रिक्सा चलाउन व्यस्त छ । अटोरिक्साको आम्दानीले जीवन धान्न सजिलो भएको उनीहरू बताउँछन् । तस्बिर : कान्तिपुर

बाबुराम पेट्रोलबाट चल्ने अटोरिक्सा चलाउँछन् । सीमा भने ब्याट्रीबाट चल्ने इलेक्ट्रिक अटोरिक्सा ।

यी उनै टीकापुरका मुक्त कमैया बाबुराम हुन्, शक्तिनगरको उनको घरमा जहाँ तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले एक रात बिताएका थिए । भट्टराईको एक रातको बसाइले त्यतिबेला निकै चर्चा बटुलेको थियो ।

Yamaha

पूर्वकमैया बाबुराम मात्र होइन उनकी श्रीमती सीमा पनि आजभोलि अटोरिक्सा चलाउन थालेका छन् । सुरुसुरुमा अटोरिक्सा चलाउन अलि अप्ठ्यारो जस्तो भए पनि अहिले कुनै अप्ठ्यारो नलाग्ने सीमा बताउँछिन् । कुराकानीकै क्रममा फोन आएपछि हतारिँदै उनले भनिन्, ‘गाडी मोटर महिलाले चलाएको देखेकी थिएँ । अरू महिलाले सक्छन् भने मैले किन नसक्ने । मेरो पेसेन्जरको फोन आयो । म हिंड्छु ।’

‘एउटा रिक्साबाट मासिक करिब २० हजार जति आम्दानी भइहाल्छ,’ सीमा हिंडेपछि उनका श्रीमान् बाबुरामले भने, ‘अरूको मजदुरी गर्नुभन्दा त यो धेरै राम्रो छ । सजिलो पनि आम्दानी पनि ।’ जग्गाजमिन नहुनु नै गरिब मुक्त कमैयाका लागि अटोरिक्सा चलाउन सजिलो र आम्दानी पनि हुने भए पनि किन्न भने निकै अप्ठ्यारो रहेको बाबुरामले सुनाए ।

उनले भने, ‘रकम धेरै लाग्छ । एकमुष्ट रकम हामी मुक्त कमैयासित हुने कुरै भएन ।’ बाबुरामले अटोरिक्सा खरिद गर्न कसरी रकमको जोहो गरे भन्ने अवस्था सुनाउँदै भने, ‘अटोरिक्सा यहाँ हो । यसबाट राम्रो आम्दानी हुन्छ भन्ने लाग्यो तर किन्नलाई पैसा थिएन । हामीसँग भएको जग्गाको लालपुर्जा पनि बैंकमा राख्न नमिल्ने सरकारी नियम बनाइदिएको छ । बैंकबाट पनि ऋण निकाल्न नसकिने भो ।

अटोरिक्सा चलाउने रहर त गरियो तर पैसा नहुने भो । पछि महिलाहरूको समूहबाट चर्को ब्याजमा भए पनि ऋण निकालेर रिक्सा किन्यौं । राम्रो आम्दानी भो । एउटा अटोरिक्साको पैसा तिरेर अर्को पनि थप्यौं । अहिले दुवै जनाले चलाउँछौं ।’

कमैया मुक्तिपछि बाबुराम दम्पती ज्याला मजदुरीमा लाग्यो । यसबाट उनीहरू सन्तुष्ट भएनन् । बाबुरामले साइकल मर्मतको तालिम लिए । केही समय साइकल मर्मतमा बिताए । त्यसबाट पनि उनी सन्तुष्ट भएनन् । अटोरिक्सा चलाउन थाले । यसबाट राम्रो आम्दानी पाएपछि दम्पती नै अटोरिक्सा चलाउन व्यस्त छ ।

आफूले पढ्न नपाए पनि छोरालाई भने पढाउने यी दम्पतीको इच्छा थियो तर छोराले नै नपढिदिएपछि उनीहरूको केही लागेन । पढ्न नसकेपछि छोरालाई प्लम्बिङको काम लगाएको बाबुरामले बताए । उनले भने, ‘सीप सिक्नु पनि एक किसिमको पढाइ हो । राम्रो प्लम्बर बने भइहाल्यो ।’

बाबुराम दम्पतीले अटोरिक्सा चलाएर राम्रो आम्दानी गरेको देखेपछि गाउँकै विष्णु चौधरी र उनकी श्रीमतीले पनि अटोरिक्सा चलाउन सुरु गरेको उनले बताए । उनले भने, ‘टीकापुर बजारमा बाटोघाटो विस्तार हुँदैछ । अटोरिक्सा चलाउने रोजगार पनि फस्टाउँदै गएको छ । चलाउने मान्छे पनि बढ्दै गएका छन् ।’

यी दम्पतीे २०६७ साल पहिले टीकापुरको एयरपोर्टमा बस्दै आएको हो । टीकापुरको एयरपोर्ट कब्जा गरी बसेका मुक्त कमैयालाई यहाँका राजनीतिक दलका स्थानीय नेताको सल्लाहमा टीकापुर विकास समितिबाट जग्गा उपलब्ध गराइएको हो । यही ३ सय ९८ घरपरिवारमध्येको एउटा परिवार बाबुरामको हो ।

Esewa Pasal

प्रकाशित : भाद्र २३, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

थारू गाउँमा अस्टिम्कीको रौनक

गणेश चौधरी

टीकापुर — व्रतालु महिला थालमा चामल, चामलमाथि माटोको दियो (पाला) बालेर लोटामा चोखो जल लिएर सोह्र शृंगारसहित अस्टिम्की घरमा छिरे । त्यसपछि अँध्यारो अस्टिम्की घर पालाको दियालोले उज्यालो भयो ।

कैलालीको टीकापुरमा अष्टिम्की चित्रमा टिका लगाउदै थारु महिला । तस्बिर : कान्तिपुर

अस्टिम्की घरको भित्तामा भएका चित्रहरूमा पालैसित उनीहरूले टीका लगाए । ती चित्रमा सृष्टिको कथा वर्णन गरिएको छ । अस्टिम्कीको हस्तलिखित चित्रको माथिल्लो भागमा चन्द्र र सूर्यको चित्र कोरिएको छ । पिँधमा जलमण्डलमा पाइने माछा, गंगटा र गड्यौलालगायतका चित्र छन् । मध्य भागमा कृष्ण रूखमा बसेर बाँसुरी बजाइरहेका छन् ।

माथिल्लो पंक्तिमा पाँच पाण्डव र त्यसमुनि गोपिनीहरू । अस्टिम्की चित्रमा रावण, हलो जोतिरहेको मानिस, कुकुर, हात्ती, घोडा, बाँदर, बोटवृक्ष र चरालगायतका चित्र छन् । यसबाट थारूहरू प्रकृतिपूजक हुन् भन्ने प्रमाणित हुने गरेको शिक्षक चित्रबहादुर चौधरीले बताए । उनले भने, ‘सृष्टिसँग जोडिएका सबै चीज अस्टिम्की चित्रमा हुन्छन् । यो सृष्टिकालदेखिको लोक इतिहास हो ।’

थारू वृद्धवृद्धाका अनुसार कृष्ण जन्माष्टमीको अघिल्लो दिन थारू महिला दिनभरि नदी खोलामा माछा मार्ने र त्यही माछासित राति ‘दरभात’ खाएर जन्माष्टमीको दिन व्रत बस्छन् । दिनभरिको व्रतपछि साँझ पूजापाठ गर्छन् । पूजापाठपछि सबै आ–आफ्नो घरमा फर्किन्छन् । फलाहारपछि पुन अस्टिम्की घरमा फर्किन्छन् । रातभरि अस्टिम्की गीत गाउँछन् । थारू गाउँमा अहिले अस्टिम्कीकै रौनक छ ।

‘पहिल ट सिरिजल जलथल धरती, सिरिजी ट गइल रि कैली री कुश डाब’ अर्थात् संसारमा सबभन्दा पहिला पानीको सृष्टि भयो । त्यसपछि धरतीको । अनि अन्य चीजको । यो सृष्टिको कथा रातभरि अहोरात्र चलिरहन्छ । भोलिपल्ट बिहान पुन: अस्टिम्की पुज्छन् र पूजामा प्रयोग गरिएका चामलबाहेकका चीज नदीमा विसर्जन गर्छन् ।

अस्टिम्कीको पूजापाठपछि व्रतालु महिला घरमा गएर खाना पकाउँछन् । तरकारी ३, ५ या ७ थरीको बनाई आफ्नो भागबाट प्रसाद भात र तरकारी केही भाग छुट्याएर आगोमा राख्ने गरिन्छ । जसलाई ‘अग्यारी देना’ भनिन्छ । अस्टिम्कीको खाना आफ्ना दाजुभाइ, इष्टमित्रलाई खुवाउने चलन रहेको छ । थारूहरू यसलाई ‘अग्रासन’ भन्छन् । यति गरिसकेपछि अस्टिम्की पर्व सकिन्छ ।तर यस अवसरमा गाइने अस्टिम्की लोककाव्य दसंैसम्म गाउँदै नाचिने सखिया नाचमा विधिवत् रूपले समापन हुन्छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०९:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT