१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अखाद्य वस्तु छ्यापछयाप्ती

मोहन बुढाऐर

धनगढी — प्रमुख चाड दसैं–तिहार सुरु हुने बेला सुदूरपश्चिमका स्थानीय बजारमा मिसावटयुक्त र म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री बढेको छ । सरोकारवाला निकायले बजार अनुगमन र नियन्त्रणमा ध्यान नदिँदा यस्ता सामानको बिक्री बढेको हो ।

अखाद्य वस्तु छ्यापछयाप्ती

राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले प्रदेश ७ को प्रमुख व्यापारिक सहर धनगढीमा म्याद गुज्रेका सामान बिक्रीले उपभोक्ता ठगिन थालेको बताए । खाद्यान्नमा मिसावट, नापतौलमा बदमासी र म्याद गुज्रेका वस्तुको बिक्री बढेको उनले जानकारी दिए । जिल्ला प्रशासनको नेतृत्वमा सरोकारवाला सबैको संयुक्त बजार अनुगमन समिति भए पनि नियन्त्रणको प्रयास नगरेको देखिएको छ ।


‘नियमनकारी निकायले नै प्रभावकारी काम गरेनन्,’ रेग्मीले भने, ‘उपभोक्ताहरूले अखाद्य वस्तु खानुपर्ने बाध्यता छ । झन् चाडबाड सुरु भएका बेला बजारमा लुट चलिरहेको छ । नियन्त्रण गर्ने निकाय किन मौन ?’


प्रदेश ७ को खाद्यवस्तु नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण, वाणिज्य र नापतौल कार्यालयको प्रभावकारिता नै नदेखिएको रेग्मीले बताए । ‘विषयगत कार्यालयका वार्षिक क्यालेन्डरअनुसार अनुगमन भए होलान्,’ उनले भने, ‘तर ती अनुगमन उल्टै ब्यापारीलाई तर्साउने, कारबाहीको डन्डा देखाएर पैसा उठाउनेमा सीमित भएका छन् ।’


धनगढीको बजारमा परेको असर सिंगो ७ नम्बर प्रदेशमा पर्ने स्थानीय उपभोक्ता रामचन्द्र भट्टले बताए । सहरबजारका सचेत उपभोक्ताहरूले अखाद्यवस्तु खाइरहेको अवस्थामा यहाँबाट आपूर्ति हुने पहाडी जिल्लामा पनि गुणस्तरहीन र मिसावटयुक्त वस्तु छ्यापछ्याप्ती छन् । ‘पहाडी क्षेत्रमा वैकल्पिक बजार नहुने भएकाले उपभोक्ताहरू मनपरी अखाद्य वस्तुबाट ठगिएका छन् । धनगढी बजार शुद्ध राख्न सकेमा प्रदेश ७ का सबै बजारमा गुणस्तरीय खाद्यवस्तु पुग्नसक्छ,’ उनले भने ।


भट्टले सदरमुकामभन्दा बाहिरका बजारमा ४० प्रतिशत मिसावट र म्याद गुज्रिएका वस्तु भेटिने गरेको बताए । ‘धनगढीको मुख्य बजारका भित्री पसलहरूमा अनुगमन गर्नुस्,’ अर्का स्थानीय सुरेन्द्र विष्टले भने, ‘पसलका आधा समान गुणस्तरहीन भेटिन्छन् ।’ दाल, तेल र घिउमा अत्यधिक मिसावट हुने गरेको छ । म्याद गुज्रेका चिसो पेय पदार्थ र बिस्कुट तथा चाउचाउ जस्ता ड्राइफुडको बिक्री हुने गरेको छ ।


क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख सुमन धितालले बजार अनुगमन भइरहेको दाबी गरे । उनका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा प्रदेश ७ को पहाडी र तराईका जिल्लामा १ सय ५ पटक बजार अनुगमन भएको छ । जसमा २ सय ४० खाद्य नमुनाको गुणस्तर जाँच गर्न केन्द्रीय प्रयोगशालामा पठाइएको छ ।


उनका अनुसार गत आर्थिक वर्षमा १४ वटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् । कैलालीमा ९, कञ्चनपुरमा ३, र बझाङ जिल्ला प्रशासनमा २ वटा मुद्दा दर्ता भएका हुन् । कैलालीको धनगढी र कञ्चनपुरका स्थानीय बजारमा धेरै पटक अनुगमन भएको दाबी उनको छ ।


उनी साधन–स्रोत अभावले गाउँघरका पसलहरूको अनुगमन गर्न नभ्याएको बताउँछन् । चाडबाडको समयमा भारतबाट तयारी मिठाईको आयात बढ्ने गरेको छ । तयारी मिठाई भन्सारबाट आयत गर्न पाइँदैन ।

प्रकाशित : भाद्र २६, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?