२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सुक्खा पहिरोले ५३ परिवार विस्थापित

करिब एक हजार मिटर माथिबाट गएको पहिरोले विस्थापित भएकाहरू गोठमा बसिरहेका छन्
मेनुका ढुंगाना

अछाम — सुख्खा पहिरोले मेल्लेख–७ नन्देगडाको रिठा गाउँमा ५३ घर जोखिममा परेका छन् । केही स्थानीय पहिरोको त्रासले छिमेकी गाउँमा सरेका छन् ।

सुक्खा पहिरोले ५३ परिवार विस्थापित

रिठा गाउँभन्दा करिब एक हजार मिटर माथिबाट पहिरो खसिरहेको छ । तल्लो भेगमा बस्ने ५३ परिवार घर छाडेर छिमेकी गाउँ सरेका छन् । उनीहरूलाई कति बेला के हुने हो भन्ने चिन्ताले सताउन थालेको छ । ‘घरमाथिबाट पहिरो जान थालेपछि केही परिवार छिपेखोलाको छेउमा रहेका गोठमा सरेका छन् भने केही पल्लो टोलमा शरणार्थी भएका छन्,’ स्थानीय टंक साउदले भने, ‘निरन्तर पहिरो झरिरहेकाले हामी निकै त्रासमा छौं ।’


शनिबार बिहानदेखि पहिरो खस्न थालेको हो । हालसम्म मानवीय क्षति भने नभएको स्थानीय द्रौपदी साउदले बताइन् । उनले भनिन्, ‘रातिको समयमा पहिरो गएमा मानवीय क्षति हुने डर थियो । बिहानबाट पहिरो खसेकाले स्थानीय सुरक्षित स्थानमा सरे ।’


अर्का स्थानीय धनवीरे बुढाका अनुसार यसअघि त्यहाँ पहिरोले पुर्दा एकै घरका ३ जनाको मृत्यु भएको थियो । धेरै परिवार विस्थापित भएका थिए । पहिरोसँगै ठूला ढुंगासमेत खसिरहेकाले माथिल्लो भागको बस्ती अति नै जोखिममा हुँदा नबस्न सल्लाह दिएको वडा ७ का वडाअध्यक्ष नरबहादुर साउदले बताए ।


‘जमिन भासिने क्रम नरोकिएकाले बस्तीमा जति बेला पनि ठूलो क्षति हुनसक्ने अवस्था रहेकाले वैकल्पिक व्यवस्था गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘गाउँपालिकाले विपद् व्यवस्थापनका लागि ३० लाख छुट्याएको छ ।


अहिले नै स्थानीय तहबाट जोखिम बस्तीलाई केही सहयोग भने उपलब्ध गरिएको छैन । कार्यपालिकाको बैठक बसेर राहत दिने निर्णय हुन्छ ।’


जिल्लाका अन्य ठाउँमा बिनामापदण्ड सडक खन्दा पहिरोको घटना भए पनि रिठागाउँमा भने सडकले छोएको छैन । जंगल भए पनि सुक्खा पहिरो गएको छ ।


जिल्ला प्रशासन र प्रहरी लगायतका निकायले शनिबार उक्त क्षेत्रको अनुगमन गरेका थिए । आइतबार नेपाल रेडक्रस सोसाइटीले पहिरो पीडित २० परिवारलाई त्रिपाल वितरण गरेको छ ।

प्रकाशित : भाद्र २६, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?