कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गाउँगाउँमा भाइरलका बिरामी

मोहन शाही

डोटी — दूषित पानीले टाइफाइड र भाइरलका बिरामी बढेका छन् । जिल्लाका आदर्श, बड्डीकेदार र केआईसिंह गाउँपालिकाका स्थानीय टाइफाइडले प्रभावित भएका हुन भने दिपायल सिलगढी, शिखर नगरपालिका तथा पूर्विचौकी गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेका छन् ।

गाउँगाउँमा भाइरलका बिरामी

जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट भूषण मिश्रका अनुसार जिल्ला अस्पतालमा ज्वरो बढेको, हातखुट्टा गल्ने, कमजोरीको महसुस गर्ने बिरामीहरूको संख्या साउनदेखि लगातार बढेको बढ्यै छ । ‘त्यो भाइरल ज्वरोको लक्षण हो, हामीले औषधी दिएर उपचार गराइरहेका छौं,’ उनले भने ।


दूषित पिउने पानी तथा खानपानमा ध्यान नदिँदा टाइफाइडका बिरामी दैनिक बढ्ने गरेको आदर्श गाउँपालिका मौवानगरदह स्वास्थ्य चौकी इन्चार्ज दीपक ओझाले बताए । दैनिक २० देखि २५ जनासम्म टाइफाइडका बिरामी आउने गरेको उनले जानकारी दिए ।


आदर्श गाउँपालिका–१ बाझकी कलुदेवी खडाले ७ दिनसम्म घरमै थलापरेपछि उपचारका लागि स्वास्थ्यचौकी आएको बताइन् । उपचार क्रममा स्वास्थ्यचौकीबाट टाइफाइडको बिरामी भएको थाहा पाएपछि सुई र औषधि लिएर उनी फर्किन लागेकी थिइन् । उनले टोलमा आफूजस्ता बिरामीहरूको संख्या धेरै रहेको बताइन् ।


मौवानगरदह स्वास्थ्य चौकीमा टाइफाइडसँगै जन्डिसका बिरामीहरू आउने गरेका छन् । ओझाले उपचारका लागि औषधि तथा उपचारका लागि स्वास्थ्यकर्मी व्यवस्था भएकाले समस्या भने नभएको बताए । आदर्श गाउँपालिकामा अझै पनि सामान्य बिरामी सम्झेर कतिपय उपचारका लागि स्वास्थ्यचौकी आउन सकेका छैनन् ।


केआईसिंह गाउँपालिकाको दुर्गामाण्डौ इकाला स्वास्थ्य चौकीमा तिखात्तर, वायल, बासुदेवी, दल्ल क्षेत्रका बिरामीहरू टाइफाइडका लक्षणहरू लिएर उपचारका लागि आउने गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । बिरामीमध्ये अधिकांश महिला र बालबालिका छन् ।


डोटीमा १६ प्रतिशत जनसंख्या अझै पनि नदी, खोला तथा कुवाको पानी पिउन बाध्य रहेको तथ्यांक छ । पछिल्लो समय डोटीमा झाडापखालाका बिरामी भने घट्न थालेका छन् । ग्रामीण क्षेत्रमा समेत शौचालय निर्माण भएपछि झाडापखालाका बिरामीको संख्यामा कमी आएको मौवानगरदह स्वास्थ्यचौकीकी सिनियर अनमी यशोदा ओझाले बताइन ।


उनले चार पाँच वर्षअघि वर्षातको समयमा झाडापखालाका बिरामीको उपचार गर्न औषधि र स्लाइन पानीको अभाव हुने गरेको तर अहिले अवस्था सन्तोषजनक रहेको बताइन् । बोगटान गाउँपालिकामा पनि दैनिक १०/१२ जना टाइफाइडका बिरामी देखा परिरहेका छन् ।


बड्डीकेदार गाउँपालिकाको घांगल, बर्छैन, मान्नाकापडीमा टाइफाइडका बिरामी साता दिन यताबाट बढ्न थालेको गाउँपालिकाका स्वास्थ्य शाखाका योगेन्द्र शाहीले बताए । उनले भाइरल ज्वरोका बिरामी साउन महिनामा बढी आएको भए पनि अहिले टाइफाइडका बिरामी बढेको जानकारी दिए ।

प्रकाशित : भाद्र २७, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?